तीज : यो चाड कसको ? मिडियाको !!


राजमाया पुतवार
नेपाल जात्रै जात्राको देश, चाडपर्वै चाडपर्वको देश । हनुमानढोका घुम्न आउनेका पछाडि ताँती लाग्ने गाइडहरु यस्तै भन्छन् । हो पनि । चाडपर्व त चाडपर्व नै हो नि, चाहे त्यो सतारले मनाउने होस् चाहे त्यो बाहुनले मनाउने । न कम न ज्यादा । तर कुनै कुनै चाडलाई चाहिँ सत्रै परेको हुन्छ । देशमा सत्रसय चाडपर्व हुन्छन् तर यो तीज भन्ने जिनिसको चाहिँ आउनु दुई महिनाअघिदेखि राजधानीमा सल्याङबल्याङ शुरु भइसकेको हुन्छ । राजधानीमै फेरि । जुन ठाउँमा त महिनाको चारवटा जात्रा आएर, सरकारले जानीजानी बढाएको महँगीमा नुनतेल पनि किनेर खान नसकेर हत्ते भएको हुन्छ, त्यही राजधानीमा यो चाड भने चकाचौंध भएर चम्किन्छ ।

जहाँ जसले जसरी यसको तारिफ गरे पनि यो तीज भनेको हिन्दु बाहुन क्षेत्रीहरु महिलाहरुको मात्र चाड हो । बाहुन क्षेत्री भनेकै ३० वा ३५ प्रतिशत मात्र । त्यो पनि महिलाहरु भनेको त्यसको आधा र भनेपछि यो चाड भनेको जतिसुकै हल्ला गरे पनि नेपालका १५ प्रतिशतको मात्र हो भन्ने कुरा छर्लङ्ग छ ।

त्यतिमात्र पनि होइन । हामी सबैलाई थाहा छ, चाड भनेकै हुनेखानेको हो । दिनभरि काम गरेर पनि साँझ भोकै सुत्नुपर्नेहरुका लागि नेपालमा कुनै चाडपर्व छैन, जात्रा रमाइलो छैन ।

जनसंख्या ३० प्रतिशत भएर पनि देशको ९० प्रतिशत स्रोतमा पाँचैऔंला डुबाएकाहरु केही छन् । उनीहरुलाई पनि ‘तिमीहरु धनी’ भनेको मन पर्दैन, रिस उठिहाल्छ । ‘बाहुन क्षेत्रीमा पनि कहाँ सबै धनी छन् र, भारी बोकेर पनि खान नपाएकाहरु पनि छन्’ भनेर बाहुनक्षेत्री डाक्टर प्रोफेसरहरु नै उफ्रिन्छन् । भनेपछि ती गरीब बाहुन क्षेत्री महिलाहरुले पनि त टिभीमा देखिने जस्तो छड्के तिलहरी र रातो नाइलनको सारी लगाएरै पशुपति महादेवको दर्शन गर्न जाँदैनन् होला । अब उनीहरुले मानेको तीज के तीज ! त्यो पनि तीज भनेकै भडकिलो भएकोले अलिअलि कमाइ भएकाले त तीज नआओस् भनेरै कामना गर्छन् होला ।

उता हिन्दु भएको कारणले तीज त दलितहरुको पनि हुनु त पर्ने थियो, तर खै हिन्दु भईकन पनि हिन्दु मन्दिरमा जान नपाउनेहरुले तीज मनाए पनि, नमनाए पनि के पो होला र ? तर कोही कोही रातो साडी लगाएर हिन्दु हुनुको जिम्मेवारी बोकेर हिन्दु मन्दिरमा जान्छन् र आफैलाई अपमानित हुनुको मज्जा लिन्छन् भने कसको के लाग्छ र !

नेपालमा जे जति पनि काम गर्छ मिडियाले गर्छ । उनीहरुकै हातमा छ देश । जसको शक्ति उसको भक्ति गर्ने मिडियाले किन तीजको भक्ति गर्छ भनेर सबै गम्छन् । कुरा के भने नेपालमा सबै सम्प्रदाय सम्प्रदाय भएकोले मिडिया पनि एउटा सम्प्रदाय भएको छ ।

गएको दुई तीन हप्तादेखि राष्ट्रिय भनिने ठूला आकारका पत्रिकाहरुमा हरेक दिनजस्तै तीजका कुनै न कुनै पक्षलाई तारिफ गरिएको पाइन्छ । कहिले ‘विकृति हटाऔं’ भनेर वा ‘मौलिकता खोजी गरौं’ भनेर यसले स्थान पाइरहेको नै देख्छौं । यसको कारण पनि हामीलाई थाहा छ । अधिकांश ठूला पत्रपत्रिकाका प्रकाशक, सम्पादक बाहुन क्षेत्री छन् । अथवा त्यहाँ पत्रकार भएर काम गर्नेहरु पनि धेरैजसो बाहुन क्षेत्री नै हुन् । अब बाहुन क्षेत्रीले आफ्नो समुदायको चाडपर्वबारे थाहा पाउनु, कलम चलाउनु त राम्रै कुरा हो । आफ्नो भनेको जे पनि राम्रो हुन्छ । त्यसैले त उनीहरु आफ्नो धर्ममा लोग्नेको खुट्टा ढोग्नु, अझ् खुट्टा धोएको पानी खानु, लोग्नेको आयु बढोस् भनेर व्रत वस्नु, दतिवनले जिउ सफा गर्नु आदिलाई पनि वैज्ञानिक भन्छन् सिधै ।

उनीहरुले गरिरहेको पनि यति नै हो । एकजना मगरले भूमिपूजाबारे लेख्नु, एकजना शेर्पाले ल्होसारबारे लेख्नु र एकजना थारुले माघीबारे लेख्नु जत्तिकै हो बाहुन क्षेत्रीले तीजबारे लेख्नु पनि । तर यी साम्प्रदायिक लेखकहरु राज्यसत्ता आफ्नो भएको मातमा प्रायः यो चाड नै सम्पूर्ण नेपालीको भन्ठान्छन् । भनेको शेर्पा, तामाङ, गुरुङ, मगर, नेवार र थारु सबै सबैले तीज मनाउँछन् भनेर ठोक्न भ्याउँछन् । जबकि हामीलाई थाहा छ, यसमा राष्ट्रियताजस्तो केही पनि छैन, होइन नै । यो त फगत उनीहरुको साम्प्रदायिक लेखनी मात्र हो । विशुद्ध सामाजिक कार्य ।

राससजस्तो राज्यको स्रोतबाट चल्ने समाचार उत्पादक संस्थाले त खुलेआम तीज भनेको जातीय एकताको सद्भावको पर्व भनेर घोषणा ग¥यो । यहाँसम्म कि त्यसमा एकजना नेवार महिलालाई भन्न लगाइएको छ— अन्य जनजाति समुदायले मनाउन थालेको भनेर । दिउँसै तारा देखाउने, त्यो पनि राज्यले ?

कसैले आफ्नो हातको कलमले जे लेखे नि, आफ्नो पैसा हालेर प्रकाशन गरेको पत्रिकामा जे छपाए नि कसैलाई मतलब हुनुपर्ने कुरा त होइन । तर पाठकहरु भनेका पनि कोही हुन् । एक जना राई, लिम्बु वा नेवार पाठकले १० रुपैयाँ वा ५ रुपैयाँ तिरेर राष्ट्रिय कहलाइएका पत्रिकाहरु बाहुन क्षेत्रीहरुले आफ्नो समुदायको चाडपर्वबारे लेखेर पेज भरेको हेर्नलाई किन्दैनन् । तर अफसोच आजभोलि हरेक पत्रिका उनीहरुकै कुराले पेज भरिरहेको देखिन्छ । यो सब त देशका आदिवासी जनजाति, थारु, मधेसी र दलितहरुका लागि साँच्चै भनुं भने बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै हो ।

म बाहुन क्षेत्रीलाई गाली गर्दिनँ । उनीहरुको चाड हो, उनीहरु नै मनाउन् । तर यहाँ प्रश्न आउँछ, यी राष्ट्रिय पत्रपत्रिकाका पाठकहरु बाहुन क्षेत्री मात्र हुन् त ? पक्कै होइन । भनेपछि हामी आदिवासी जनजातिहरुलाई पैसा तिराई तिराई यी बाहुन क्षेत्री प्रकाशक, सम्पादकहरुले उनीहरुको चाडपर्वबारे यत्रोविधि किन पढ्न दिइरहेका छन् ? हामी किन पैसा तिरेरै एउटा बाहुन क्षेत्रीले अर्को बाहुन क्षेत्रीलाई पढ्न भनेर तयार पारेको सामग्री पढ्न माग्दैछौं ? हाम्रा नि आँखा छन्, हामीले देखेका छौं यी ठुला पत्रिकाले साकेला, चसोक ताङनाम, माघी, पहाँचह्रे, जात्रिकाबारे कति जान्दछन् र कति लेख्छन् भन्ने कुरा ।

के यी सबै काम राष्ट्रिय कर्म हुन्, तीजजस्तै ?

 क्याटेगोरीः संस्कृति