भेषभूषामा मगरहरुको पौरख


–खोमा तरामु मगर
पहिरनको मौलिक पहिचान
नेपालको मध्यपश्चिम क्षेत्रका विभिन्न जनजातिमा प्रचलित पहिरन एवं गरगहनाहरु नै मगर जातिको परम्परागत
भेषभूषा र आभूषण हुन्। पुरुषहरुको भोटो, कछाड, लँगौटी, आस्कोट, टोपी र महिलाहरुको गुन्यूचोली, मजेत्रो, टेंकी,
घलेक र पटुका मगरहरुको प्रमुख भेषभूषा हुन् । पुरुषहरुले टोपी लगाउनै पर्ने परम्परानुसार अझै पनि पुरानो
मगरबस्तीमा टुप्पी देखिने घेरो मात्र बाँकी रहेको टोपी पनि लगाइएको देखिन्छ । भाङ्ग्रा लाउने महिलाहरुको पुरानो
चलन हो, तर अहिले घलेक नै बढी प्रचलनमा आएको छ ।

 
मगर र गुरुङहरुमा मात्र प्रचलित भेषभूषाहरु अहिले आएर त्यसको प्रभाव अन्य जातिमा पनि परेको स्पष्ट देखिन्छ ।
अल्लोको धागोलाई मसिनो पारी त्यसको धागोबाट बनेको भाङ्ग्रा र खादी निकै मन पराउँछन् । छाला र भेडाको
ऊनबाट बनेका लुगाफाटा लगाउनु पनि मगरहरुको प्राचीन पहिचान हो । जुत्ताचाँही कुनै जनवारको काँचो छालामा
तलुवा बनाई अल्लोको धागोबाट बनेको कपडामा सिलाएर तयार गरिन्थ्यो। आजभोली यो प्रचलन प्रायः हट्दै गएको
छ । तर उत्तरी भेकको मगरहरुले भने त्यस्तो जुत्ता अद्यावधि लाउने गरेको बताइन्छ । यी सबै लुगाफाटा घरघरमा
तान राखेर घरेलु इलमका रुपमा अल्लोको धागो (पुवा) द्धारा तयार गर्दछन् । आजभोली कपासका धागो खरिद गरी
लुगा बुन्न थालेका छन्।

 
खुर्पेटो भिर्नु मगरहरुको जातीय गुण हो । प्रमुख हतियारका रुपमा मानिने धनुषकाँड मगरहरुको मौलिक हतियार थियो
भने यसको विस्तारै लोप हुँदै गएपछि खुकुरी बोक्ने प्रचलन सुरु भएको पाइन्छ । यद्यपी माघे सकरातीमा धनुषकाँडले
तारा हान्ने प्रचलन मगर समुदायमा अझैसम्म रहेको छ । खुकुरीबाट आफ्नो सुरक्षा हुन्छ र आवश्यक परेका बेलामा
अन्य कार्यमा पनि उपयोग गर्न सकिन्छ भन्ने उनीहरुको मान्यता रहेको पाइन्छ ।

 
आभुषणको प्रयोग र विकृति
आधुनिक युगसंगै मगर समुदायमा आभुषण लाउने चलनचल्ती क्रमशः कम हुदै गएपनि यो प्रचलन अझै रहेको छ ।
हातमा चाँदीका बाला, रैया, कानमा कुन्डल, मडारी, बुलाकीँ, फुली ढोङ्ग्री, कण्ठा, तिलहरी, औठी, जन्तर, सिखन्डी,
लाउनु मगरको जातीय आभुषण मानिन्छ । हातका औलाहरुमा विभिन्न धातुका ठूलाठूला औंठीहरु लाउने गरेको पनि
पाइन्छ । ब्रिटिश गोर्खा र भारतीय फौजमा मगर भर्ती हुने परम्परा बसेपछि भने महिलाहरुमा आधुनिक भेषभूषा वा
गरगहनाहरुको प्रयोग अभूतपूर्व रुपले स्तरिय एवं खर्चालु बन्न पुगेको छ । विभिन्न मेला वा चाडपर्वहरुमा आफ्नो
भेषभूषाहरु लाउनुको सट्टा विलासिताका र अन्य भेषभूषाहरु लगाउने प्रवृत्ति बढ्दै गइरहेको छ । महङ्गो आभुषण र
बिलासिताको पहिरन प्रयोगले सामाजिक विकृतिहरु देखा परेको छ । यसले गरिब परिवारको मानसिकतामा समेत
नकरात्मक असर पारेको देखिन्छ । भर्ती हुने परम्परासंगै अधिकांश पुरुषहरुमा कमिज, कोट, पाइन्ट वा जाँघे र
महिलाहरुमा ब्लाउज, सारी र मजेत्रो लाउने प्रचलन चलिआएको छ । यद्यपि मगर जातिको भेषभूषा एवं आभुषणहरु
लगाउने प्रचलन मगर समुदायको सघन बस्तीहरुमा कायमै रहेको छ ।
दिदीबहिनीहरुको पौरख
रुपन्देहीमा मगर दिदीबहिनीहरुले आफ्नै भेषभूषा उत्पादन गरिरहेका छन् । गादो, कछाड, लुङ्गी, पूर्वेली सल, सेतो
कर्मु, हँसिया खुर्पेटो, कुसुमे रुमाल, ऊनिको झोला, अल्लोको कोट, टोपी, जुत्ता, चप्पल लगायत परम्परागत मगराती
भेषभूषाहरु आफ्नै श्रम र सीपमा उत्पादन गरिरहेका छन्। उनीहरुलाई अहिले भ्याइनभ्याइ छ, भेषभूषा उत्पादन गर्न
। अहिले मासिक दश हजार प्रतिथान भेषभूषा उत्पादन गरिरहेका उनीहरु कच्चा पदार्थ पाउन सके उत्पादनमा कहिल्यै
नरोकिने बताउँछन्।

 
मगर जातिको भेषभूषा संरक्षणका लागि आफूहरु उत्पादनमा लागेको समाजसेवी ओमी पुन मगर बताउँछिन् ।
उत्पादनमा समूहमा बिभा सिंजाली मगर, मिना बलाल मगर, कृष्ण ढेंगा मगर, मिना थापा मगर, गंगा थापा मगर
गरि पाँच जना महिलाहरु रहेका छन् । जिविस र बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोगपछि उनीहरु
भेषभूषा उत्पादनमा लागेका हुन् । अहिले मासिक ५० देखि ७० हजार बराबरको आम्दानी गरिरहेको छ । छिमेकी
जिल्ला नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम, रोल्पा, तनहुँ, स्याङ्जा मगर जातिको सघनबस्ती र
विदेशमा अष्ट्रेलिया, यूके, हङ्कङ् जापान लगायत झण्डै १० वटा देशहरुमा विक्रि भइरहेको समूहका सदस्य विभा
सिंजाली मगर बताउँछिन् । यो बाहेक आदिबासी जनजातिका विभिन्न चाडपर्व, दिवस, विवाह एवं विभिन्न सभा
समारोहहरुमा समेत बिक्रि भइरहेको समेत उनी बताउँछिन्।

 
मगर भेषभूषाहरु लोपोन्मुख हुदै गइरहेको बेला रुपन्देहीका मगर महिलाहरुले मगर भेषभूषा र गरगहनाहरुलाई
बचाउन महत्वपूर्ण काम गरिरहेको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगर बताउँछन् । उनी भन्छन्–
“मगर जाति र संस्कृति लोपोन्मुख हुदै गईरहेको बेला त्यसको संरक्षण र विस्तारमा मगर भेषभूषा उत्पादनले ठूलो
भूमिका खेल्न सक्छ ।” निकै टिकाउ मानिएको उक्त भेषभूषाहरु स्वास्थ्यका हिसाबले पनि फाइदाजनक भएको
अनुसन्धानले देखाएको छ ।
कोशेली घरको सुरुवात
आदिबासी जनजातिहरुले प्रयोग गर्दै आइरहेको परम्परागत सामग्रीहरु संरक्षण गर्ने उद्देश्य सहित उक्त समूहलेसंकल्प
कोशेली घर पनि सञ्चालनमा ल्याएको छ । यसले मगरजातिको परम्परा र संस्कृतिको संरक्षण, विस्तार एवं त्यस
क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने सरोकारवालाहरुले बताउँछन् ।
०००

 क्याटेगोरीः समुदाय