तपाईंहरुको जात चाहिँ के के नि?


मनिला चामलिङ राई

तितो तर यथार्थ अनुभव । एक दिन म एउटा प्रोजेक्टको सिलसिलामा पश्चिमतिर गएकी थिएँ।प्रायः हाम्रो काम गाउँमा नै थियो। बास आफै खोजेर बस्नुपर्थ्यो। जब हामी बास माग्थ्यौ नि त्यतिबेला त्यहाँका घरबेटीले बास दिन अन्कनिदै सोध्नुहुन्थ्यो : तपाईंहरुको जात चाहिँ के के नि?

 

हाम्रो सुपरभाइजरले भन्नुहुन्थ्यो : हामी सबै पानी चल्ने जात हो। डराउनुपर्दैन।

मलाई यो वाक्यले त्यतिबेला भित्रभित्रै पोलेको थियो। एकछिन त म नराम्ररी रन्थनिएँ। दुख्यो भित्र कतै मनमा।अहिले पनि ती अनुभवले बेलाबेला सम्झनामा पनि दुखाउँछ। सोच्छु मलाई त्यति सुन्दैमा त यति पीडा हुन्छ अझ यी हिन्दु वर्णाश्रममा चलेको समाजले पानी नचल्ने वर्गमा राखेको समुदाय जो बर्षौ देखि यी भन्दा कयौ तिखा शब्द र छुवाछूतको वाण सहिरहेका छन् उनीहरुलाई कति दुख्दो हो। त्यतिबेला मैले घरबेटीसङ्ग त यी विषयमा बहस गर्न सकिन तर सुपरभाइजर लगायत अन्य साथीहरू हुनुहुन्थ्यो उहाँहरुसङ्ग तत्काल मैले यस्ता कुराको प्रतिकार गरेकी थिएँ। तर उहाँहरुको यात्राको भोगाइ सुन्दा झन् मेरो दुखाइ बढ्यो। अझ समाजशास्त्रबाट डिग्री गरेको मेरो ग्रुपको साथी जसलाई म दिदी भनेर सम्बोधन गर्थे उहाँको अनुभव र उहाँको विचारले त म एकछिन विक्षिप्त नै भए।

 

उहाँले भन्नुभएको थियो कुरा अहिले यादा अाउँछ । पश्चिमको एकठाउँमा यस्तै प्रोजेक्टको सिलासिलामा जानुहुँदा एउटा घरमा बास मागेर बस्नु भयो । त्यो घर सफा सुग्घर पनि अनि घरबेटी पनि अत्यन्तै मिजासिलो हुनुहुन्थ्यो । धेरै मेजमान दिनुभो । पछि त्यो घरको एउटा बच्चालाई बाबू तिम्रो नाम के हो? भनेर सोध्नुहुँदा बाबुले नाम र कुनै शिल्पी समुदायको थर बतायो । त्यसपछि दिदीको घाँटीबाट गाँस छिरेन ।

 

जब त्यो दिदीको यो कुरा सुनें नि मैले त केही सोच्नै सकिन। मान्छे पुस्तक पढेर मात्रै शिक्षित नहुँदोरहेछ । मैले सिधै भनिदिए  – “लु यतातिरको डिग्री पढेको मान्छे भन्दा त हाम्रो एक कक्षा पनि नपढेको बाजे बोजु शिक्षित छन् । हाम्रो घरमा मैले कहिले यस्तो विभेद देखेकी छैन । उनीहरु आउछँन् बस्छन् । केही भएको छैन अहिलेसम्म हामीलाई ।”

 

त्यतिबेला लाग्यो, समाजशास्त्र पढेको, त्यो पनि डिग्री होल्डर मान्छेको चेतनाको स्तर यस्तो छ, उसले गर्ने व्यवहार यस्तो छ भने गाउँमा नपढेका पानी चल्ने, ठुला जात भनेर वर्णश्रमले घोषित समुदायको व्यक्तिले उनीहरु प्रती गर्ने व्यवहार कति दर्दनाक होला, कति पिडादायी होला। हामी अझै पानी चल्ने नचल्नेको नाममा मान्छे मान्छे बिच फरक व्यवहार गरिरहेका छौ|। त्यसैले मलाई लाग्छ वर्गीय विभेद मात्रै हाम्रो देशको समस्या होइन । यहाँ जातीय विभेदले पनि नराम्ररी बर्षौदेखि जरा गाडेको छ। जबसम्म समाजमा रहेका तमाम किसिमका विभेदको अन्त्य गर्न सक्दैनौं नि, तबसम्म हामीले देखेको सुखमय, शान्तिमय र समृद्द नेपालको परिकल्पना मात्रै कल्पनामा सिमित हुनेछ ।

 

त्यसैले आजैदेखि आफ्नो ठाउँबाट यस्ता विभेद अन्त्यको लागि लागौ। चेतना जगाउनु गार्हो छ तर असम्भव कदापि छैन।

 क्याटेगोरीः समुदाय