सय रुपैँयाबाट जागिर सुरु गरेका गोविन्द गुरुङ बैंकको महाप्रबन्धक


नेपालमै बसेर सफलताको चुलीमा पुग्ने गुरुङ समुदायका ब्यक्तित्वहरु कमै भेटिन्छन् । थोरै ब्यक्तित्वहरुका माझबाट सफलताको उचाई छोएका गुरुङ समुदायका एक ब्यक्तित्व – गोविन्द गुरुङ । नेपाली सञ्चार क्षेत्रमा गुरुङहरुको उपस्थिति नगन्य मात्रामा रहेका बेला रेडियो नेपालमा गुरुङ भाषाको समाचार बढ्ने पहिलो गुरुङ समाचारबाचक भनेर चिनिएका उनै गोबिन्द गुरुङको परिचय र उचाईले आज सफलताको अर्को रुप लिएको छ । उहाँ अहिले सिभिल बैंकको महाप्रवन्धक हुनुहुन्छ ।
२०५० सालमा रेडियो नेपालले बिभिन्न भाषाभाषीको समाचार प्रशारण सुरु गर्दा गोविन्दले रेडियो नेपालमा जागिर पाउनुभयो । गुरुङ भाषाको समाचार प्रशारणका लागि उहाँसँगै गंगा गुरुङ र शोभा गुरुङ पनि हुनुहुन्थ्यो । संघर्ष, मेहनत र लगनशील भए हरेक कार्यमा सफलता मिल्ने सुखद् अनुभव बटुलेका गोविन्द गुरुङको सफलताको सिँढी एकपछि अर्को उक्लँदै गइरहेका छन् । गुरुङ आज नेपाली वित्तीय क्षेत्रमा गुरुङ समुदायबाट महत्वपूर्ण पदमा पुग्ने सम्भवत पहिलो ब्यक्ति बन्न सफल हुनुभएको छ । उहाँ अहिले नेपालमा बैंकिङ कारोबारका लागि ‘क’ वर्गको इजाजत प्राप्त सिभिल बैंकका वरिष्ठ कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । वरिष्ठ कार्यकारी अधिकृत बैंकको दोस्रो बरियताको कार्यकारी पद हो । अर्थात् उहाँ बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पछिको बरिष्ठ अधिकृतमा हुनुहुन्छ ।
२०५० साल साउन २० गत्ते रेडियो नेपालबाट पहिलोपटक गुरुङ भाषाको समाचार प्रशारण हुँदा ‘उही’ गोबिन्द गुरुङको आवाज गुन्जिएको थियो । त्यसयता कतिपय सामान्य ज्ञानको कितावहरुमा प्रथम गुरुङ भाषाको समाचारबाचकका रुपमा उहाँको नाम भेटिन्छ । झन्डै १९ वर्ष अघिको उक्त क्षण सम्झदै उहाँ भन्नुहुन्छ, ‘गुरुङ भाषाको समाचारलाई मात्रै पाँच मिनेटको समय छुट्याइएको थियो, हामी त्यसलाई गुरुङ र गुरुङ समुदायसँग सम्बन्धित समाचारहरुलाई प्राथमिकता दिएर प्रशारण गर्थ्यौँ, रेडियो नेपालबाट आफ्नै भाषामा समाचारबाचन गर्दा एकदमै गौरवान्वित महशुस हुन्थ्यो ।’

उहाँले १८ वर्षअघि रेडियो नेपालबाट गुरुङ भाषाको समाचार पढ्न छाड्नुभयो । २०५१ साल माघमा रेडियो नेपालले गुरुङ भाषाको समाचार प्रशारण पोखरा क्षेत्रीय प्रशारणमा सार्ने निर्णय गरेपछि उहाँले रेडियोको जागिर छाड्नुभएको थियोे । तर त्यसयता झन्डै दुई दशक बित्न लाग्दा उहाँको परिचयले फरक दायरा बनाएको छ ।
छोटो समयमा हासिल गरेको सफलताका कारण गोबिन्दलाई यतिखेर १९ वर्ष अघिको रेडियोको जागिर छाडेर बैंकिङ क्षेत्रमा लाग्ने निर्णय सही लागेको छ । उहाँका लागि रेडियो छाड्नुपर्ने खास कारण थिएन । मात्रै गुरुङ भाषाको समाचार प्रशारण क्षेत्रीय प्रशारण केन्द्र पोखरामा सारेपछि उहाँले राजधानीमै भविष्य खोज्ने निर्णय लिनुभएको थियो । २०४९ सालमा मीनभवनको कमर्स क्याम्पसबाट एमबीए पहिलो श्रेणीमा पास गरेका गुरुङले उतिबेलै बित्तीय क्षेत्र रोज्ने निर्णय लिनुभएको थियो ।
तर सफलता उहाँले भने जस्तै बिनासंघर्ष सम्भव भएन । उहाँ संघर्ष, मेहनत र लगनशिलताले यो सफलतासम्म पुर्याएको अनुभव सुनाउनुहु्न्छ । ‘सायद मेरो काम मन नपरेको भए मलाई कुनै पनि बैंकले पत्याउँदैन थियो होला,’ गोविन्द आत्मविश्वास व्यक्त गर्नुहुन्छ, ‘मेहनत, कार्य कुशलता र जिम्मेवारी बहनले गर्दा सबैको मन जित्दै अहिले यहाँसम्म आइपुग्न सफल भएको छु ।’ गुरुङको सफलतालाई मूल्याङ्कन गर्ने हो भने उहाँको भनाइ र गराई पनि मेल खान्छ । ०५२ साल साउनमा महिला सहकारी संस्थाबाट बित्तीय क्षेत्रको यात्रा सुरु गरेका गोबिन्द आज सफलताको शिखर चुम्दै हुनुहुन्छ ।

सहकारीमा नौ महिना बिताएपछि उहाँ बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभयो । उहाँको बैंकिङ्ग यात्रा हिमालयन बैंकबाट सुरु भयो । ०५३ जेठमा खुल्ला प्रतिस्पर्धामार्फत बरिष्ठ अधिकृतका रुपमा नियुक्त हुनुभएका गोबिन्द हिमालयन बैंकमा एसिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर हुँदै म्यानेजरसम्म पुग्नुभयो । हिमालयन बैंकमा साढे १० वर्ष काम गरेपछि उहाँ ग्लोबल बैंकतर्फ लाग्नुभयो । २००६ अक्टोबर १८ मा ग्लोवल बैंक प्रवेश गरेका गोबिन्दले त्यहाँ पनि कुशल कार्य सम्पादनका कारण बढुवा पाउनुभयो । उहाँले ग्लोबल बैंकमा सिनियर म्यानेजरका रुपमा काम गर्नुभयो । फेब्रुअरी २०१० सम्म त्यहाँ कार्यरत रहँदा सहायक महाप्रवन्धकसम्म पुग्नुभयो ।
ग्लोबल बैंक छाडेलगत्तै उहाँले मेगा बैंक रोज्नुभयो । मेगामा स्थापनाकालदेखि नै संलग्न गोविन्द नायव महाप्रवन्धकका रुपमा कार्यरत हुनुभयो । मेगा बैंकमा झन्डै एकवर्ष पुग्दा गोबिन्दलाई सिभिल बैंक सञ्चालक समितिले वरिष्ठ कार्यकारी अघिकृतका रुपमा अफर गरेको हो । गुरुङ समुदायमा जन्मिएर बित्तीय क्षेत्रको शीर्ष कार्यकारी पदमा पुग्ने उहाँनै सम्भवत पहिलो ब्यक्ति हुनुहुन्छ ।

आजसम्मको यात्रामा पछि फर्केर हेर्न नपरेको बताउनुहुन्छ गोविन्द । उहाँको भनाइ छ, ‘मैले बैंकिङ क्षेत्रमा लागेर कहिल्यै पछुताउन परेन, पछि फर्केर हेर्न परेन, जहाँ गए त्यहाँ सफल भएँ, बढुवा पाएँ, एकदमै खुशी छु ।’ आफ्नो जिम्मेवारीप्रति सँधै प्रतिबद्ध रहने उहाँ अझै सफलता चुम्न बाकीँ रहेको बताउनुहुन्छ ।
बहुआयामिक ब्यक्तित्वका धनी गोबिन्दको अर्को सफल आयाम पनि छ । उहाँ गुरुङ संस्कृतिप्रति बढी लगाव राख्नुहुन्छ । लोपोन्मुख बन्न लागेका गुरुङ समुदायको सोरठी, शेर्का जस्ता गीत संगीतको संरक्षणमा उहाँको जोड छ । उहाँलाई सोरठी र शेर्का गाउन, मादल बजाउन तथा नाच्न पनि आउँछ । उहाँ भन्नुहुन्छ, ‘अफिसबाट बचेको समय र एक दिनको साप्ताहिक बिदा गीत–संगीतकै लागि खर्चने गरेको छु, गुरुङ समुदायको संस्कृति लोप नहोस् भनेर सोरठी र शेर्काको बिषयमा सिक्ने र सिकाउने गरेको छु ।’

२०४८ सालमा रेडियो नेपालबाट ‘भोइस टेष्ट’ पास गरेका उहाँले रेडियो नेपालमा दुईवटा आधुनिक गीतसमेत रेकर्ड गराइसक्नुभएको छ । साथै उहाँले गुरुङ भाषाको दुईवटा गीतसमेत रेकर्ड गराइसकेका छन् । उहाँले गुरुङ भाषाको चार फिल्मका लागि गीत गाइसकेको अनुभव सुनाउनुभयो । साथै उहाँले दुई वर्षअघि आधुनिक गीतको एक एल्बमसमेत बजारमा ल्याउनुभएको थियो ।

बैंकिङ्ग क्षेत्रको सक्रिय जीवनपछि पनि कुनै न कुनै रुपमा यसै क्षेत्रमा कार्यरत रहने निर्णय लिइसकेका गोबिन्दका बाल्यास्था भने त्यति सहज रहेन । लाहुरे परिवारमा जन्मिएका गोबिन्दलाई घर परिवार र छिमेकबाटै ब्रिटिश आर्मी वा भारतीय सेनामा भर्ती हुन दबाब थियो । तर सबै दबाबलाई पछि पार्दै गोविन्दले पढाईलाई निरन्तरता दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘बुबाले देश–बिदेश भोग्नु भएकाले कर गर्नु भएन, बरु पढाईमा लाग्न भन्नुभयो, तर समाजनै लाहुरेमय भएकाले दबाब त भैनै हाल्थ्यो, त्यसमाथि आमाले झन कर गर्नु हुन्थ्यो ।’

२०२५ कात्तिक १४ मा लम्जुङको भुलभुले भङगेरीमा पूर्वभारतीय सैनिक बुबा हरिप्रसाद र आमा चन्द्रमायाको कोखबाट जन्मनुभएका गोबिन्दले निम्न माध्यामिक शिक्षा नजिकैकोे श्रीप्रभाव शान्तिपूर्ण बिद्यालयबाट पूरा गनुभभयो । श्रीप्रभाव बिद्यालय उहाँको घरदेखि पाँच मिनेटको दुरीमा भएकाले खासै समस्या परेन । तर माध्यामिक शिक्षाका लागि भने उहाँलाई दैनिक चार घण्टा धाउनु पर्दथ्यो । उहाँले कक्षा १० सम्मको शिक्षा अमर माध्यामिक बिद्यालय खुदी लमजुङबाट पूरा गर्नुभयो । कक्षा १० सम्म पहिलो भएका उहाँले एसएलसी दोस्रो श्रेणीमा पास गर्नुभयो । त्यसपछि उच्च शिक्षा काठमाडौंमा त्यति सहज भने रहेन । काठमाडौं छिरे लगत्तै जागिर सुरु भयो । जागिर र पढाईलाई सँगसँगै अघि बढाउनुभयो । पढाईमा कहिल्यै असफल हुनुभएन् ।

सुरुमा मासिक एक सय तलबमा जागिर खाएको अनुभव छ, गोविन्दसँग । उहाँका अनुसार पक्नाजोलमा रहेको मोजा बनाउने उद्योग होजियारीमा मासिक एक सय तलबमा काम गर्नुभयो । तर आज अवस्था उस्तै छैन । गोबिन्द भन्नुहुन्छ, ‘कुनैबेला खाजा खानका लागि मुस्किल पर्दथ्यो, तर आज म फाइभ स्टार होटलमा बसेर खान पनि सक्छु, यो मेहनत कै कारण हो ।’

उहाँको सफलतामा धेरैको हात छ । आफ्नो बुबा, आमा, श्रीमती बिमला तथा शिक्षक देवीदास अधिकारीको समेत महत्वपूर्ण सहयोग छ उहाँलाई । अगाडि थप्नुहुन्छ, ‘मेरी श्रीमती बिमलाले पनि घर परिवार सम्हालेर सहयोग गरेकी छिन्, उनको पनि ठूलो हात छ । साथै, मेरो हजुरबुबा पूर्णबहादुरको पनि ठूलो योगदान छ, उहाँले मलाई मार्गनिर्देश गर्नुहुन्थ्यो ।’

साभार : www.dainiknepal.com

 क्याटेगोरीः समुदाय