पटक पटक मरें म कुवेतमा : एक महिलाकाे अावाज


लिलाराज भट्टराई

मेरो नाम मनमाया भट्टराई हो । मेरो घर सुनसरीको प्रकाशपुर । म १० महिना वैदेशिक रोजगारमा कुवेत वसेर फर्किएकी हुँ । मलाई लाग्छ विदेशमा मैले जति दुःख कसैले पाएको छैन होला । त्यसैले म महिला दिदीवहिनीलाई विदेश त जाँदै नजानु भन्छु । साग र सिस्नु खाएर भएपनि आफ्नै देशमै केही गरेको राम्रो ।
man-maya

म कुवेतमा घरेलु कामदारका रुपमा एउटा घरमा पुर्‍याईए । त्यहाँ कपडामा आइरन गर्न लगाए । मलाई आइरन गर्न आउँदैनथ्यो । आइरन गर्न नजान्दा त्यही तातिएको आइरनले मेरो गाला डामिदिए । कहिल्यै नपाएको यातना पुगेको दोश्रो दिनमै भोग्नु पर्‍यो । त्यस्तो यातना वसुन्जेल चलिरह्यो । पटक पटक मरेर म वाँचेकी छु । मलाई लाग्छ म वाँचेर हैन मरेर नेपाल फर्केर आएकी हुँ । लाग्थ्यो अव मर्न त मर्ने नै भएँ । यहाँ मर्नु भन्दा त उहाँ एक पटक छोराछोरीको अनुहार हेरेर मर्छु ।

घरमा फोन गरेर आफ्नो समस्या भन्न पनि पाइनँ । घरमा फोन गर्न पनि नदिने । त्यहाँ कसलाई कहाँ फोन गर्नु केही थाहा थिएन । केही कमजोरी भयो की घाँटी न्याकीहाल्ने । मालिक्निकी छोरी सँधै १२ बजेमात्र उठथी । त्यो दिन सातै वजे उठेर लडिछ । म अर्को कोठामा काम गर्दै थिएँ । मालिक्निले टवाइलेटमा लगेर मेरो घाँटी न्याकी । म कतिवेला वेहोस भएर लडेँ थाहा भएन । पछि पानी खन्याइछे । म वौरिएँ । उठेर भाग्न खोज्दा मेरो कपालमा समातेर टाउको भित्तामा ठोक्काको ठोक्काइ गरी । म रगत्ताम्मे भएर फेरी वेहोस भएछु । पछि वौरिंदा मेरो लामो कपाल टवाइलेटको भुइ भरी थियो । त्यसपछि म हलचल गर्न नसक्ने भएँ ।

दश दिनसम्म एउटा कोठामा थुनेर राखे । खाना दिनको दुइवटा रोटी दिन्थे । म हात खुटटा समेत राम्ररी चलाउन नसक्ने भएको थिएँ । दवाई गरिदिनुभनेर रोइ कराइ अनेकौ विन्ति विसाएँ । तर मेरो रोदनले उनीहरूको ढुंगाको मन पगाल्न सकेन । लाग्यो अव म वाँच्दिनँ,यहाँ भएपनि मर्नुनै छ वरु उहाँ गएर एक पटक भएपनि छोरा छोरीको अनुहार हेरेरै मर्छु । त्यहि सोचेर दवाई नगरिदिने भए मलाई नेपाल पठाइदेउ भनेर अनेक विन्ति विसाएँ । एक दिन मालिकले मलाई विमानस्थलमा ल्याएर छोडिदियो । साथीहरूले दिएको भाडाले इनरुवा आइपुगे । दलालले लगेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आधा महिना राखेर उपचार गरायो । अहिले पनि धेरै वेर वोल्न हुँदैन । भाउन्न छुटेर आँउछ र लडिहाल्छु । जीउ कटकटी खान्छ । वेला वेलामा वोली पनि आउँदैन । सास फेर्न गाहो हुन्छ । उपचार गरौं पैसा छैन । एजेन्टले ५० हजार रुपैयाँ दिन्छु भनेको २० हजार दिएर लापत्ता भयो । श्रीमान पनि ६० कट्नु भो । कान सुन्नुहुन्न । काम गर्न पनि सक्नुहुन्न । कोही कसैले सहयोग गरे उपचार मेरो उपचार हुन्थ्यो होला । सरकारले हेरे पनि हुने हो नि हामीजस्ता पीडितलाई ।

मैले कुवेतको त्यो घरमा १० महिना काम गरेपनि एक सुको पैसा दिएनन् । काम गरेको पैसा पाउनु त कहाँ हो कहाँ वल्ल तल्ल सास भने जोगाएर फर्किएँ । मेरो आफ्नै नाता पर्ने मान्छेले नै भनेर विदेशिएकी हुँ । पैसा पनि धेरै लाग्दैन कमाई राम्रो हुन्छ केही वर्ष वसेर फर्केपछि तिमीलाई सुख हुन्छ भनेपछि पत्याएर म भारत हुँदै कतार पुगेकी हुँ ।

मलाई नेपालको एअरपोर्टवाट मात्रै विदेश जानुपर्छ भन्ने थाहा थिएन । म अवैधानिक तरिकाले विदेशिएकी रहेछु । त्यसरी अवैधानिक तरिकाले विदेश जाँदा धेरै दुःख पाईंदो रहेछ । पाउने सेवा सुविधा पनि पाईंदैन रहेछ । त्यसैले विदेश जान खुट्टा उचालिसकेका महिला दिदी वहिनीलाई म सल्लाह दिन्छु भरसक अर्काको देश नजानुस । जानै परे भारत हुँदै नजानुस् । दलालको फन्दामा पर्नुहोला । आधिकारिक म्यानपावरवाट मात्र जानु पर्ने रहेछ ।

दलालले अनेक प्रलोभन देखाउन सक्छन् । लोभिनु हुँदैन । मैले जस्तो दुःख कोही दिदी वहिनीले पनि नपाउन । कुन देश जाने, काम के हो राम्ररी वुझेर मात्र जानु पर्ने रहेछ । अनि उताको भाषा नजान्दा साह्रै दुःख हुँदो रहेछ । भाषा चाही सिकेर जानुपर्ने रहेछ । अनि उता आइरन लगाउन, कपडा धुने मेसिनलगायत चलाउन जान्नुपर्छ । यतैवाट जानेर जाँदा राम्रो हुन्छ । उता के काम गर्नुपर्ने हो त्यो यही सिकेर जाँदा दुःख पाईंदैन । अनि उता समस्या भइहाले कसलाई सम्पर्क गर्नुपर्ने हो त्यो नाम ठेगाना नम्वर चाही वोकेरै जानुपर्ने रहेछ । उताको भाषा सिकेर नगए धेरै समस्या हुन्छ । मेरो त सुद्धि पुगेन । तपाइहरू चाही त्यति जानेर जानुहोला ।

साभार : महिलाखबर डटकम

 क्याटेगोरीः जेण्डर प्रवास