भु्ल्दैछन् लिम्बुहरुले आफ्नो जन्म संस्कार


पुजन जबेगु

मानिसले जन्मदेखि मृत्युसम्म गरिने दैनिक जीवन यापनका क्रियाकलापहरु मानिसको जाति अनुसार फरक फरक हुन्छ । उसको जातले उसको दैनिक जिवनमा गरिने क्रियाकलापहरुको निर्धारण गरेको हुन्छ । त्यस्तै लिम्बु जातिको पनि आफ्नै रीतिरीवाज, परम्परा र चालचलनहरु छन् । सोही अनुसार लिम्बु जातिका मानिसहरुले आफ्नो दैनिकी गुजारिरहेका हुन्छन् ।

जन्मदेखि मृत्युसम्म हामीले गर्ने — नुहाउने, खानपान गर्ने, लुगालगाउने र पुजापाठ गर्ने जस्ता दैनिकी हामिले गरिरहेका हुन्छौँ । साथै विशेष अवसरहरुमा गरिने विभिन्न प्रकारका चालचलन र विधिहरु त छदै छ ।

जन्म देखि मृत्यु सम्म गरिने यि यस्ता विभिन्न विधि विधाननै संस्कार हो । यि आफ्नै आफ्नै संस्कार संस्कृतीहरु अनुसार मानिसहरुले आफ्नो जिवन गुजारिरहेको हुन्छ ।

त्यस्तै लिम्बु जातिमा पनि बेग्लै प्रकारका जन्म संस्कारहरु रहेका छन् जुन बच्चाको जन्म हुनु अघि र भइसकेपछि गरिन्छ । बालक वा बालिकाको जन्म पूर्व गरिने संस्कारलाई साप्पोक चोमेन भनिन्छ । लिम्बु समाजमा आमाको गर्भमा बच्चा भएको ५÷६ महिना पछि जुन संस्कार गरिन्छ । साप्पोक चोमेन गर्भमा भएको बच्चाको रक्षा सुस्वास्थ्यको कामना र सरल प्रसवको लागि विभिन्न माङ (देवीदेउता)हरुसंग पुजा गर्ने गरिन्छ ।

यो पूजा वजङ्मा, पक्चामा, युमा, थेवा र काप्पोबालगायत माङहरुको आराधना बाट गरिने संस्कृतिविद् पा्रज्ञ अमर तुम्याहाङले बताएका छन् । उनका अनुसार यस समयमा फेदाङमा वा पुजारीबाट गर्भवती महिलालाई आफूले खान हुने नहुने र गर्न हुने नहुने विषयमा जानकारी गराइने गरिन्छ ।

उनले थपे — शिशुको जन्म भइसकेपछि याङदाङ फोङमा पहिलो चरणमा गरिने अनुष्ठान हो, जसलाई नुवारन भनिन्छ । बालिका भए ३ दिनमा र बालक भए ४ दिनमा फेदाङमा वा अगुवा लिम्बु महिलाहरुद्वारा यो संस्कार गर्ने गरिन्छ । जहाँ सात मुलको पानी र आकाशे पानीले सुत्केरीमा संलग्न व्यतिहरु र सुडेनीलाई चोख्याइने गरिन्छ । साथै शिशुलाई घरबाहिर निकाली तारामण्डल देखाइने गरेको उनले बताए । त्यसबेला शिशुलाई जन्मिँदा बेरिदिएको कपडाको भोटो सिलाइ लगाइदिइने चलन छ ।

तर अहिलेको अवस्थालाई हेर्दा यि संस्कारहरु गाउँ केन्द्रित मात्र रहेको र बसाइ अनुकुल मात्र सहरमा गरिँदै आएको एवं पछिल्लो समयमा पुस्ता हस्तान्तरण, आधुनीकिकरण, सहरकेन्द्रित लिम्बुहरुको बसाई आदिले गर्दा यी सम्पूर्ण संस्कारहरु पहिलाको तुलनामा लोप हँुदै गएको संस्कृतिविद् तुम्याहाङले बताएका छन् ।

बढ्दो आधुनिकिकरणले गर्दा अहिलेका कतिपय शहर केन्द्रित युवा पुस्ताहरुलाईत यस संस्कार बारे थाहा नभएको समेत उनले स्पष्ट पारेको छ ।
लिम्बु जातिहरु दिर्घकालिन रुपमा बाचिरहनका लागि सर्वप्रथम आफ्नो संस्कार संस्कृति र परम्परालाई बाचाइराख्न महत्वपूर्ण भएको समेत उनले स्पष्ट पारेका छन् ।

परम्परागत संस्कार र संस्कृतिलाई जीवन्त राख्नका लागि किराँत याक्थुङ चुम्लुङ जस्ता लिम्बु जातिसंग सम्बन्धित संघसंस्थाहरुले प्रयास गदै आइरहेका समेत तुम्याहाङले जानकारी दिए ।

साथै राज्य पक्षबाट लिम्बु जातिका यस्ता जन्मदेखि मृत्युसम्मका संस्कारहरुको संरक्षणका लागि राज्य पक्षबाट पनि कुनै प्रयासहरु नभएको उनले आरोप लगाएका छन् ।

 क्याटेगोरीः समुदाय