पुस्तक प्रचारको नयाँ शैली : घरै छोप्ने फ्लेक्स बोर्डहरू र विज्ञापनका पानाहरू


निगरानी मिडिया
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकैको मुक्ति टावरमा पुग्दा सो टावरको करिब ४ तल्ला छोप्ने एउटा फ्लेक्स बोर्ड देखियो । एउटा कलात्मक बन्द ढोका, तल सानो रातो अक्षरमा लेखिएको ‘अजेय राज’ र त्यसभन्दा पनि तल ठुलो अक्षरमा लेखिएको ‘सुमार्गी’ । केही क्षण हेरेपछि स्पष्ट भयो, यो एउटा पुस्तक रहेछ ‘अजयराज सुमार्गीका बारेमा लेखिएको ।’ पुस्तकका लेखक वा सम्पादक भनौँ, थिए उनकै भाइ अरुणराज सुमार्गी र निर्मलकुमार थापा । केही समयपछि त्यही बोर्ड मीनभवन ओरोलोमा रहेको एउटा बिजनेश कम्प्लेक्समा पनि देखियो र बबरमहलस्थित अर्को कम्प्लेक्समा पनि देखियो ।

यहाँ प्रसङ्ग उठान गर्न खोजिएको एउटा व्यवसायी अजेयराज सुमार्गी र उनको आर्थिक पारदर्शिताका विषयमा होइन, बरु उनका बारेमा लेखिएको
किताब र त्यसका लागि गरिएको विज्ञापनका बारेमा हो । करिब २ किलोमिटरको दूरीमा घरै छोपिने गरी एउटा किताबको ४–४ वटा बोर्ड राखिएको सायद यो नै पहिलोपटक होला ।

हुन त नेपाली साहित्य वा गैरसाहित्यिक लेखनका क्षेत्रमा समेत आजकल यस्तो आक्रामक प्रचार शैली भित्रिइसकेको छ । केही समयअघि एउटा अर्कै कारणले चर्चित भएका व्यक्तित्वको एउटा पुस्तक बजारमा आयो । निकै चर्चा गरियो, देशकै ठुला मिडियामा विज्ञापन पनि आए, प्रधान सम्पादकहरूले समीक्षा पनि लेखिदिए–‘पुस्तक पठनीय छ ।’ तर केही समयपछि त्यो पुस्तक बजारमा देखिन पनि छाड्यो, पाठकहरूले ठगिएको महसुस गरे र चर्चा पनि गरे ।

पछिल्लो समय यस्तै किताबहरू बजारमा आउने गरेका छन् । खास गरी चर्चित लेखकहरूका सस्ता कृति वा व्यवसायीका बढोत्तरी गरी लेखिएका पुस्तकहरूलाई यसरी व्यापक प्रचार गर्ने गरिएको पाइन्छ । यीमध्ये पहिलो कोटिका पुस्तकहरू प्रकाशकको व्यापारका हेतुमा तथा दोस्रो कोटिका किताबहरू व्यवसायीहरूको उज्यालो पक्षलाई प्रकाश पार्ने हेतुमा अगाडि आउने र क्षणभरमै हराउने समेत गरेका छन् ।

‘अजेयराज सुमार्गी’को सो पुस्तक विमोचनमा पनि विचित्रका मानिसहरू पुगेका थिए । भारतीय जनता पार्टीका नेता विजय जोली, नेपाली बैंकर अनिलकेशरी शाह, धार्मिक गुरु कमल नयनाचार्य, मनोक्रान्ति अभियानका संयोजक डा. योगी विकासानन्द लगायतको उपस्थिति रहेको सो कार्यक्रममा उपस्थित सबैले सुमार्गीको बारेमा लेखिएको किताबको होइन, स्वयं सुमार्गीको चर्चा गरे । पालैपालो उनीहरूले सुमार्गीलाई चम्काइरहे वा भनौँ चम्काउने कोशिश गरे तर विमोचनमा कुनै पनि स्वतन्त्र समीक्षकलाई भने बोलाइएन ।

पुस्तकका सम्पादकसमेत रहेका उनकै भाइ अरुणराज सुमार्गीले आफ्ना दाजुका बारेमा फैलाइएको भ्रम तोड्नका लागि सो पुस्तक लेखेको बताए तर कसरी पुस्तकले भ्रम तोड्छ भन्ने बारेमा चाहिँ उनले केही बताएनन् । कसैले कसैको गुनगान गाएर किताब लेख्दैमा ऊप्रतिको भ्रम कसरी तोडिन्छ वा लागेको दाग कसरी मेटिन्छ, भन्ने बारेमा सायद उनीहरू अनभिज्ञ थिए ।

कुनै सफल व्यक्तिका बारेमा जीवनी लेख्नु विश्वमै चलिआएको कुरा हो । केही समयअघिसम्म मरणोपरान्त जनस्तर वा राज्यस्तरबाटै सम्मानस्वरूप केही महापुरुषहरूको कृति रचना बजारमा ल्याइन्थ्यो र त्यसलाई श्रद्धाले पढ्ने गरिन्थ्यो तर पछिल्लो समय पैसाको खोलो बगाएर आफ्नो बारेमा बढोत्तरी गर्ने प्रचलन आएको छ, जुन सरासर गलत छ ।

इतिहासले हामीलाई देखाइसकेको छ कि विज्ञापनले पत्रपत्रिकाका भित्ताहरू ढाकिएका पुस्तकहरूले ५ वर्षे आयु पनि हालसम्म लिन सकेका छैनन् । आजभन्दा ५ वर्षअगाडिका बेस्ट सेलर पुस्तकहरू आज किन एउटै पुस्तक पसलमा पनि पाइँदैन ? किन आज कसैले कुनै प्रसङ्गमा नाम समेत लिँदैनन् ? यसबारेमा यस्ता लेखक, प्रायोजक र प्रकाशकहरू समेत सचेत हुनु जरुरी छ ।

नेपालमा पछिल्लो समय पठन संस्कृतिको विकास भएको छ तर हालसम्म छनोट क्षमताको विकास हुन सकेको छैन । मदनमणि दीक्षितका मेरी नीलिमाहरू खोज्न बजारभर चहार्नुपर्छ तर २ पैसे पुस्तकहरू पत्रपत्रिकाका हरेक पृष्ठमा सजिएर आउँछन् र हरेक घरका भित्तामा झुण्डिएर आउँछन् । यसबारेमा पाठक स्वयं सचेत हुनु जरुरी छ ।

 क्याटेगोरीः संस्कृति