लिम्बू साहित्यको लय


गिरिराज बाँस्कोटा

मानिसको सभ्यता र संस्कृतिको कसी भाषा र लिपि पनि हो। विभिन्न जाति, समुदायका आआफ्ना भाषा, संस्कृति र लिपि छन्। नेपालका आदिवासी जनजातिहरूको आफ्नै भाषा, लिपि, संस्कृति र साहित्य छ। यसको विकासमा प्रयास र बहस हुँदै आएको देखिन्छ।

विशेषगरी नेपालको पूर्वी भेगमा सघन बसोबास रहेको लिम्बू जातिमा आफ्नो भाषा, साहित्यप्रति सचेतता पाइन्छ। राजधानी काठमाडौँपूर्वको पाँचथर र भारतको सिक्किम, दार्जीलिङमा लिम्बू साहित्यमाथि बढी काम भएका छन्। अन्य जिल्लामा पनि लिम्बू साहित्यका लेखकहरू सक्रिय छन्।

लिम्बूहरूले किराँत लिपि प्रयोग गर्छन्। लिम्बू भाषा देवनागरी लिपिमा लेख्ने पनि छन्। बढी मात्रामा किराँत लिपिमै सिर्जना भइरहेका छन्। प्रजातन्त्र प्राप्तिपछि भाषा–साहित्यको विकास तथा प्रवर्द्धनमा लिम्बू साहित्यकर्मीहरू बढी सचेत भएको भेटिन्छ। विभिन्न संस्था तथा प्रकाशनमार्फत् पनि लिम्बू साहित्यको समृद्धिमा सर्जकहरू लागिरहेका छन्। सांस्कृतिक परम्परा, आञ्चलिकता, जातीय पहिचान, जागरण र चेतनाको स्वर लिम्बू साहित्यमा बलियो गरी उठिरहेको पाइन्छ। लिम्बू भाषामा प्रायः सबै विधामा कलम चलेका छन्। यद्यपि, कविता धेरै छन्, अरु विधाको तुलनामा। मैथिली र नेपाल भाषापछि लिम्बू साहित्यमा बढी काम भएको लिम्बू साहित्यकारहरूको भनाइ छ।

लिम्बू भाषा र लिपिमा लेखन कार्य भइरहे पनि गुणस्तरीय कृतिमा वृद्धि हुन नसकेको लिम्बू साहित्यकार नै बताउँछन्। प्रकाशित कृतिहरू पढ्ने पाठकको संख्या अत्यन्त न्यून छ। यद्यपि, लिम्बू साहित्यलाई आधुनिकीकरण गर्दै लैजाने काम भएको लिम्बू साहित्यका अध्येता तथा साहित्यकार भवानी तावा बताउँछन्। केही साहित्य उत्तरआधुनिक चेतनाका र केही भने जागरणकालीन साहित्य सिर्जना भइरहेको उनको भनाइ छ।

‘लिम्बू साहित्यको विकास भइरहेकै छ, तर गुणस्तरीय लेखन विकास गर्न अझै धेरै बाँकी छ। पश्चिमेली तथा नेपाली साहित्यको गहन अध्ययन गरेका र नेपाली साहित्यमा लेखेकाहरूले उच्चकोटीको साहित्य सिर्जना गरे पनि लिम्बू भाषामै लेख्नेहरू जागरण लेखनबाट माथि उठ्न सकिरहेको अवस्था छैन,’ तावा भन्छन्, ‘लिम्बू साहित्यमा खास विधाको फ्रेममा रहेर गुणस्तरीय लेख्ने र पढ्नेको अभाव खड्किँदै छ। पढ्नेको संख्या कम छ। कतिपयले भाषा जान्दैनन्। अनि, भाषा जान्नेले लिपि नजान्दा समस्या हुने गर्छ।’ लिम्बू साहित्यको विकास तथा विस्तारका लागि निजी क्षेत्रबाट प्रयास भइरहे पनि राज्यको तर्फबाट ठोस काम हुन नसकेको उनको भनाइ छ।

लिम्बू साहित्यको उकाली–ओराली पुरानो हो। यसको प्रारम्भ मुन्धुमबाट भएको लिम्बू साहित्यकार लछापी सेर्मा पापो बताउँछन्। मुन्धुम हुँदै माङ्घ, पालम, ख्याली, हाक्पारे, केसान, तम्के, तुवाजस्ता लोक–साहित्यको विकास भएको पाइन्छ।

लिम्बू साहित्यमा जातीय जागरण, सांस्कृतिक संरक्षण, भूगोलयुक्त स्थानीय चेतसहितका सिर्जना लेखिँदै आएको पाइन्छ। ‘नवौँ शताब्दीमा प्रथम शिरिजंगाको शिलालेख प्राप्त भएको र दोस्रो शिरिजंगा सिं थेवेले लेख्य परम्परालाई निरन्तरता दिएको पृष्ठभूमिले गर्दा किराँत, लिम्बू लेखन परम्परा सुदूर अतीतदेखि सुरु भएको देखिन्छ,’ सेर्मा भन्छन्, ‘लिम्बू साहित्यको निरन्तरताका लागि शिरिजंगा, इमानसिं चेम्जोङ, फाल्गुनन्द, रनध्वज नेम्वाङलगायतको योगदान रहेको मानिन्छ।’

लिम्बू साहित्यमा आधुनिकीकरणका प्रयास भइरहेका छन्। जसमा वैरागी काइँला, स्व. पुष्प थाम्सुहाङ, अमर तुम्याहाङ, भवानी तावा, राज माङ्लाक, विजय सुब्बा, विक्रम सुब्बा, स्वप्नील स्मृतिलगायत धेरै स्रष्टाको योगदान रहेको छ। विभिन्न विधामा सिर्जना गर्ने क्रम बढेर गएको छ। कविता–संग्रह कम छन्। महाकाव्य, खण्डकाव्य, गजल, कथा, उपन्यास, निबन्ध, समालोचना, गजल, नाटक, बालसाहित्यलगायतमा कलम चलेको पाइन्छ। फुटकर लेख्नेको संख्या उलेख्य छ। कृतिगत रूपमा कविताबाहेकका विधा थोरै छन्। नेपाली साहित्यमा स्थापित भइसकेका केही लिम्बू साहित्यकारले यो साहित्यको विकासमा प्रयास गरेको पाइन्छ, विभिन्न विधामा सिर्जना देखिन थालेका छन्। तर, कतिपय कृति विधागत फ्रेममा पर्न सकेका छैनन्। साहित्यकार राज माङ्लाक भन्छन्, ‘लेख्ने क्रम रहे पनि विधागत फ्रेममा रहेर सैद्धान्तिक आधारमा लेख्नेको संख्या कम रहेको पाइन्छ। लिम्बू साहित्यमा घनीभूत ढंगमा विचार र बहस हुनु आवश्यक छ।’

लेखक र पाठकको तादात्म्यता मिलाउन विभिन्न तहबाट प्रयास भइरहेको उनी बताउँछन्। ‘जागरणबाट माथि उकास्दै लिम्बू साहित्य आधुनिकता उन्मुख भएकाले विधागत विकासतर्फ लैजान आवश्यक देखिन्छ। विश्वविद्यालय तहमा पाठ्यक्रममा राखेरै लिम्बू भाषालाई जीवन उपयोगी बनाउन राज्यले सहयोग पुर्‍याउनुपर्छ,’ उनले भने, ‘नयाँ पुस्तालाई आकर्षण गर्न सक्नुपर्छ।’

०००

लिम्बू साहित्यको विकासका लागि ०७२ फागुन ६ देखि ८ गतेसम्म पाँचथर सदरमुकाम फिदिममा साहित्यकारहरूको भेला भयो। उक्त भेलाले लिम्बू साहित्यलाई आधुनिकीकरण गर्दै गुणात्मक बनाएर लैजाने योजना बनायो। पूर्व र सिक्किम, दार्जीलिङका साहित्यकार भेलामा सहभागी थिए। तीन दिन लिम्बू साहित्यका पाटाहरूका सवालमा बहस तथा छलफल भए। लेखन तथा प्रकाशनको प्रवर्द्धन गर्दै लैजाने योजना बन्यो। लिम्बू भाषा विश्वविद्यालयसम्म राख्नका लागि आवश्यक सामग्री जुटाउन विभिन्न विधामा ३० वटा पुस्तक प्रकाशन गर्ने निर्णय भेलाले गर्‍यो।

भेलाले लिम्बू साहित्यको उत्थानका लागि ‘याक्थुङ प्रज्ञा–प्रतिष्ठान’ गठन गरेको छ। विभिन्न विधामा सिद्धान्तपरक भएर ३० वटा पुस्तक लेख्ने काम भइरहेको प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगुले बताए। ‘लिम्बू साहित्यकारले काम गरिरहनुभएको छ। मंसिरमा सबैले मस्यौदा तयार गरिसक्नु हुन्छ। विशेषज्ञको सुझावपछि फागुनभित्र कृति तयार गरी प्रकाशन गर्ने योजना बनाएका छौँ। कृतिलाई सिद्धान्तपरक बनाउन ९ जनाको विज्ञ टोली पनि गठन गरेका छौँ,’ जवेगु भन्छन्, ‘यो काम सकिएपछि लिम्बू साहित्यमा विधागत अभाव रहने छैन।’ भेलाले सुम्जिरी सुम्हालुङ घोषणा–पत्रमार्फत् लिम्बू साहित्यको विकासमा अघि बढ्ने प्रतिबद्धता जनाएको थियो।

पछिल्ला दिनमा लिम्बू साहित्यको विकासमा युवाको सक्रियता बढेको छ। तर, आधार राम्रो हुन नसक्दा चाहेजस्तो विकास हुन नसकिरहेको साहित्यकार अमर तुम्याहाङ बताउँछन्। ‘औपचारिक शिक्षाको अभाव र भाषा–साहित्यको प्रवर्द्धन हुन नपाउँदा लेखनको राम्रो वातावरण बन्न सकेको छैन,’ उनले भने, ‘जसरी मकै उम्रन आवश्यक वातावरण चाहिन्छ, त्यसरी नै भाषा–साहित्यको विकास हुन पनि वातावरण चाहिन्छ। लिम्बू भाषा–साहित्य विकास हुने त्यस्तो वातावरण बन्न सकेको छैन। यसका लागि विभिन्न निकायको साथ–सहयोग आवश्यक पर्छ।’ राज्यले भाषा–साहित्यको संरक्षण गर्दै आधार बनाउनुपर्नेमा उनको जोड रहेको छ।

लिम्बू साहित्यको विकासका लागि मातृभाषाको विकास, उपयुक्त सरकारी नीति, निजी तथा सरकारी प्रकाशन, बिक्री सञ्जाल आवश्यक रहेको तुम्याहाङ बताउँछन्। ‘यसमा लिम्बूहरू नै सक्रिय रहनुपर्छ,’ उनी भन्छन्, ‘विद्यालय तथा उच्च शिक्षामा लिम्बू भाषाको पठनपाठन र कामकाजी भाषा बनाउन सकिए थप विकास हुने देखिन्छ।’

०००

विभिन्न पत्रपत्रिकाको प्रकाशन, रेडियोलगायत विद्युतीय सञ्चारमाध्यमका माध्यमबाट लिम्बू साहित्यको विकास भइरहेको पाइन्छ। भाषा र साहित्यसँगै विकास गरेर लैजाँदा मात्र लेखक र पाठकको अभाव चिर्न सकिने देखिन्छ। हाल लिम्बू साहित्यमा जातीय, सामाजिक चेतना, विकृति–विसंगतिको विरोध, संस्कृतिको संरक्षण, प्रकृति, प्रेमलगायत विषय सतहमा आएका छन्। विद्रोही चेत, दमनको विरोधलगायत विविधतायुक्त स्वर लिम्बू साहित्यमा प्रशस्त पाइन्छ। समाजको सच्चा चित्र लिम्बू साहित्यमा झल्किएको तेह्रथमुका प्रेम निङ्लेखु बताउँछन्। ‘सञ्चारमाध्यमको विकासले लिम्बू साहित्यको प्रवर्द्धनमा टेवा पुगेको छ,’ उनी भन्छन्, ‘पहिचानका सवालहरू लिम्बू साहित्यमा प्रशस्त भेटिन्छ।’ विश्वव्यापीकरणका कारण मातृभाषामा पार्ने असरले लिम्बू साहित्यलाई प्रभाव पारेको साहित्यकार स्वप्नील स्मृति बताउँछन्। दैनिक प्रयोगमा नआउने तथा उपभोग्य भाषा नबनाइएकाले लिम्बू साहित्यको विकास तीव्र हुन नसकेको उनको भनाइ छ। ‘विधागत सचेतता, विश्व साहित्यको अध्ययन, प्रविधिसँग रमाउँदै साहित्य अगाडि बढाउनुपर्ने अवस्था छ। प्रावि तहमा मात्र बल्ल पठनपाठन सुरु भएको छ। अब विश्वविद्यालय तहमा पुर्‍याउन जरुरी छ,’ स्मृति भन्छन्, ‘गुणस्तरमा अभिवृद्धि गर्दै लिम्बू साहित्यको अनुवादका काम पनि जरुरी छ।’

लिम्बू साहित्यकारले अन्य भाषामा लेख्ने साहित्यमा पनि लिम्बू समाजको शैली, लय, बिम्बको प्रयोग भएको पाइन्छ। यसरी अभिव्यक्त भावनाले पनि लिम्बू साहित्यमा योगदान गर्ने तर्क स्मृतिको रहेको छ।

लिम्बू साहित्यको इतिहासलाई फरक–फरक रूपमा कालविभाजन गरिएको छ। वैरागी काइँलाले सन् १७०४ देखि १९२४ लाई प्राथमिककाल मानेका छन्। यस्तै, सन् १९२५ देखि १९५४ लाई माध्यमिक र १९५५ पछि आधुनिककाल मानेका छन्। यस्तै, स्व. पुष्प थाम्सुहाङले प्राथमिक वा प्रारम्भिककाल (वि. सं. ७००–१०००), उत्थानकाल (१७६१–२०११), विकासकाल (२०११–२०८८) र २०२९ देखि आधुनिककाल मानेका छन्। अरु विद्वान्ले पनि कालविभाजन गरेको पाइन्छ।

लिम्बू साहित्यमा सिक्किम, दार्जीलिङका लेखकहरूको पनि महŒवपूर्ण योगदान रहेको छ। ती क्षेत्रमा विश्वविद्यालय तहसम्म लिम्बू भाषाको पठन–पाठन हुन्छ। त्यहाँका लिम्बू लेखकले विभिन्न विधामा कलम चलाएका छन्। नेपालबाहिर भए पनि त्यहाँ उत्कृष्ट साहित्य सिर्जना भएको लिम्बू साहित्यकारहरू बताउँछन्। प्रकाशनको हिसाबमा त्यहाँका लेखकहरू अगाडि छन्।

पछिल्लो समय कृति प्रकाशन, संघ–संस्थाको स्थापना, पुरस्कार–सम्मान दिने काम भएका छन्। साहित्यमा आधुनिक चेत, निरन्तर बहस तथा छलफलको आवश्यकता महसुस भइरहेको छ। राम्रो लेख्नेहरूले लिम्बू साहित्यलाई ध्यान नदिएको आरोप सम्बद्ध लेखकको छ। लिम्बू भाषाको लिपिका विषयमा पनि फरक–फरक मत रहेको देखिन्छ। सानो काम गरेर मख्ख हुने भन्दा पनि राम्रा काम गर्नुपर्ने आवश्यकता देख्छन् अर्का साहित्यकार उपेन्द्र सुब्बा। अनुवाद, निरन्तर लेखन, फराकिलो चिन्तनको जरुरी रहेको उनको भनाइ छ।

साभार : नागरिक दैनिक, २०७३ असोज १५

 क्याटेगोरीः समुदाय