खोकनाको बाख्री डुबाउने जात्रा र नेवार संस्कृति


राजेन मानन्धर

हरेक वर्ष सापारु (गाईजात्रा) आउँछ । धर्ममा संस्कृतिको सरोकार राख्नेहरु अनि नेवारहरुको संस्कृतिमा खिसिट्युरी गर्नेहरुको ध्यान खोकनामा जान्छ । जहाँ बौद्ध  नेवारहरु महिनाभरि स्वयम्भु वा अन्य धार्मिक स्थल गएर संसारका सबै प्राणीहरुको कल्याणको कामना गर्छन् भने खोकनाका एक हुल युवा आफ्ना दाँत तिखार्दै बस्छन् एक निरीह बाख्रीकोे गर्धनमा गाड्न । बाहिरका मानिसहरु आपसमा कानेखुसी गर्छन् : यो वर्ष पनि बाख्री पानीमा डुबाउने नै भयो र ?

गाईजात्राको भोलिपल्ट काठमाडौं उपत्यकाको दक्षिणमा परेको एउटा चिटिक्क परेको खोकना भन्ने गाउँ छ जुन कुनै बेला तोरीको तेलको लागि प्रसिद्ध थियो । हो, त्यही खोकनामा एउटा कल्पना पनि गर्न कठिन एक तथाकथित ‘जात्रा’ हुन्छ । त्यस दिन त्यहाँको एक फोहोर ‘देय् पुखू’ भनिने पोखरीमा त्यहाँको वडा कार्यालयले एउटा जिउँदो बाख्री फालिदिन्छ र दश बाह्रजना युवा पानीमा पौडी खेल्दै त्यस निरीह बाख्रीमाथि आक्रमण गर्न जान्छन् । कोही तान्ने, कोही लुछ्ने र कोही टोक्ने गर्दा पेटभरिको सास निकाली एकछिन कराएपछि त्यसको प्राण जान्छ । मरेको बाख्रीको लासमा उनीहरुको बर्बर मनोरञ्जन हुन्छ— एकछिन तानातान हुन्छ, जात्रेहरु एक एक जना गरेर त्यहाँबाट बिलाउँछन् । झ्यालबाट हेरिरहेका, हेर्न आएका छिमेकी खोकनाबासी र अन्य ठाउँबाट आएका रमितेहरु पनि दानवीय सन्तुष्टिको आनन्द लिएर त्यहाँबाट आआफ्नो घर जान्छन् । जात्रा सकिन्छ, कोही कोही यो हाम्रो संस्कृति हो भनेर सञ्चार माध्यममा अनुहार देखाएर गर्वका साथ घोषणा गर्छन् । उनीहरु यस्तो गरेपछि के हुन्छ भन्न जान्दैनन्, यस्तो गर्नुहुन्छ कि हुँदैन भन्नेबारे स्पष्ट धारणा समेत राख्न सक्दैनन् । अझ पोखरीको छेवैमा बौद्ध झण्डा तेर्स्याउनेले पनि यस्तो गर्नु उचित होइन भन्दैन, मूक दर्शक भएर जात्राको ‘आनन्द’ लिएर बस्छन् । यही हो नेवार संस्कृति र नेवार दर्शन ?

अन्य हरेक जात्रा पर्व, धर्म संस्कृतिका विषयमा एकढिक्का भएर आफ्नो वर्णन गर्ने खोकनाबासीहरु यस जात्राबारे भने विभाजित छन् । करिब १५ वर्ष पहिले कान्तिपुर दैनिकमा यसको वीभत्स फोटोसहित समाचार प्रकाशित भएपछि यसले देशभरि चर्चा पायो ।

काठमाडौं उपत्यकामा हरेक वर्ष सयौं जात्रा मनाइन्छन् तर यसले जस्तो अरु जात्राले ध्यानाकर्षण गर्न सकेको देखिँदैन, संचार माध्यममा स्थान पाउन पनि सकेको छैन । यो भने विभिन्न किसिमले बौद्धिक, धार्मिक, सांस्कृतिक र अन्य क्षेत्रमा चर्चा, टीकाटिप्पणी र आलोचनाको विषय हुनजान्छ । विशेष गरी जनावरहरुको हित व अधिकारको मुद्दा उठाउने संघसंस्था र अहिंसावादी धार्मिक संघसंस्थाहरुले यसलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रचार प्रसार गरे ।

नहोस् पनि कसरी ? यो जात्रा नै त्यस्तो । त्यसैले खोकनाकै एक वर्गले यसको विरोध गर्न थाल्यो– यो कार्य रोक्नु पर्‍यो भनेर आफूले सक्दो कोसिस गरिरह्यो तर हिंस्रक, अमानवीय र अन्धविश्वासी समूहमा भने यो आग्रह पाच्य भएन, विरोधको पनि विरोध भयो ।

काठमाडौं उपत्यकामा विभिन्न जात्रा पर्व भएको हामीलाई थाहै छ । यस्तो परम्परा हाम्रो जीवनको एक अभिन्न अंग हो, हाम्रा पुर्खाले भविष्यका सन्ततिका लागि छोडेर गएको सम्पदा हो । यस्तो सम्पदाले हामीलाई गर्व गराउँछ, किनभने यस्तो परम्परा भनेको हजारौं वर्ष पुरानो काठमाडौं उपत्यकाको सभ्यताको प्रमाण हो भने जसले चलाएको भए पनि त्यसको शुरुवातको कुनै कारण नभई कसैको रहर बहरमा मात्र चलेका हुँदैनन् । यही कारणले मानिसहरुलाई आजसम्म त्यसमा सहभागी हुने प्रेरणा मिल्छ र त्यहाँ पुगेपछि आफ्नो पुर्खाले शुरु गरेको सत्कार्यप्रति हामीले गर्व गर्न पाउँछ । तर खोकनाको यस जात्रामा भने यस्तो अनुभव गराउँदैन । एक सामान्य साक्षरसम्म युवा वा बालबालिकालाई पनि यो उचित लाग्दैन । जिज्ञासा हुन्छ : किन यस्तो जात्रा चलाइएको होला भनेर । ऊ सोध्न थाल्छ तर चित्त बुझ्दो जवाफ पाउँदैन ।

गएको २००३ सेप्टेम्बर महिनामा सांस्कृतिक सम्पदा नेपाल नामक एक संस्थाको आयोजनामा खोकनाकै सामुदायिक भवनमा यस जात्राको विषयमा एउटा अन्तर्क्रिया भएको थियो । यसका बारेमा प्रो–पब्लिकजस्तो संस्थाले त विरोधै गर्‍यो ।

स्वदेशी र विदेशी लेखकहरुद्वारा लिखित इतिहास, धर्म, संस्कृतिका पुस्तकमा यस जात्राको चर्चा छैन भने पनि हुन्छ । कतैकतै प्रसंगवश उल्लेख भएको मात्र बाहेक । त्यस्तै हचुवाका भरमा कुरा गर्दै विद्वान बन्न खोज्ने नेवार विशेषज्ञहरुले पनि यस जात्राबारे स्पष्ट धारणा दिन सक्दैनन् । अनि खोकनाकै वृद्धवृद्धाहरुसँग यो जात्रा कसरी किन शुरु गरे कहिलेदेखि चल्दै आएको छ भनेर सोध्दा कुनै ठोस जानकारी दिँदैनन् । सत्य र इतिहासको आड नपाएपछि व्यक्तिपिच्छे फरक कथा हाल्न त सकिन्छ । खालि राक्षसलाई खुशी पार्ने कुरा गरिन्छ , कुनै लोक किंवदन्ती भन्न मिल्ने प्रसंग समेत पाइँदैन ।

यो जात्रा चलाउनु पर्छ भन्नेहरुसँग पनि यसका ऐतिहासिक र सांस्कृतिक महत्वबारे तर्क छैन । उनीहरुले दिएको जानकारीअनुसार यो ‘जात्रा’ राणाकालमा मात्र शुरु भएको देखिन्छ । त्यसबेलाका त्यहाँका स्थानीय प्रशासक द्वारेले कुनै खुशियालीमा एउटा बाख्री पोखरीमा फालिदिएपछि तिनै द्वारेलाई खुशी पार्न पोखरीमा गएर बाख्री लुटेर ल्याउने खेल शुरु भयो, कालान्तरमा यसले जात्राको नाम पायो । यतिकै भरमा यस्तो विवाद जन्माउने यस प्रचलनलाई ‘जात्रा’को नाम दिनु उचित होला ?

उनीहरुलाई त्यो बाख्री कुन देउता वा राक्षस वा भूतका नाममा डुबाउने र लुछ्ने भन्ने प्रश्नको जवाफ छैन । यो जात्रामा कुन कुन थरका नेवारहरु संलग्न हुने, कुनै पूजा विशेष गर्नुपर्ने वा यसको संरक्षणको लागि कुनै गुठी भएको इत्यादि कुनै आधार छैन । यो जात्राको तयारी कसरी हुन्छ, यस दिन टोलमा जात्राको तयारी कसरी गरिन्छ ? अन्य जात्राको दिनजस्तो त्यस जात्राका दिनमा कुनै ‘नखत्या’ बोलाइन्छ ? अनि कसरी यो हाम्रो संस्कृति भयो ? यस जात्राबारे कतै कुनै लिखत भएको कसैलाई थाहा छैन, कतै अभिलेख लेखिएको छैन ।

त्यस्तै खोकनाबासीहरुको हरेक चाडपर्व र जन्मदेखि मृत्युसम्मको संस्कारसँग सम्बन्धित सिकालि अजिमा वा रुद्रायणीसँग पनि यसको कुनै सम्बन्ध देखिँदैन । त्यहाँका पुजारीले यस पोखरीमा फलफूल फाल्ने र जिउँदो बाख्री फाल्नेसँग कुनै सम्बन्ध देखिँदैन । अनि यो कसरी हाम्रो संस्कृति हुन्छ ? नेवारहरु यति हचुवा, गैरजिम्मेवार र लहरबाजीमा कुनै जात्रा शुरु गर्दैनन् । शुरु भएको छ भने त्यो कि नेवारहरुको होइन कि त्यसमा नेवारहरुलाई लज्जित बनाउन कसैले उल्काइदिएको मात्र हो कि भनेर शंका गर्नु पर्ने हुन्छ ।

देय पुखूको बाख्री लुछ्ने दृष्य सकिएपछि त्यहाँ अर्को दृष्य शुरु हुनुपर्ने हो । त्यहाँका बुढापाकाको भनाइअनुसार जसले वा जुन टोलका युवाहरुले बाख्री लुछेर मार्छ, त्यो उसको वा उनीहरुको हुन्छ र त्यस समूहले टोलमा भोजको आयोजना गर्नुपर्छ अनि फेरि दशैंको बेलामा नाटक बनाएर प्रदर्शन पनि गर्नुपर्छ । तर स्थानीय मानिसहरुले यस जात्राको यो पक्ष भनेको धेरै वर्ष अगाडि नै रोकिसकेको स्वीकार गरे । स्थानीयहरुले सुनाएअनुसार लुछालुछ गरेर बाख्री जित्न रमाइलो हुन्छ तर भोज गर्ने बेलामा तिनीहरुकै बीच झगडा हुन्छ अनि साँझसम्म त्यो बाख्रीलाई त्यहीँ पोखरीको डिलमा फाल्न ल्याइन्छ ।

बाख्री टोक्ने संस्कृति हो भने भोजको आयोजना गर्ने र नाटक प्रदर्शन गर्ने संस्कृति होइन ? भोज र नाटक छाड्न सकिन्छ भने बाख्री टोक्न छाड्न सकिन्न ? यसैले देखाउँछ : बाख्री यहाँको संस्कृति होइन त्यहाँका बासिन्दाहरुको हिंस्रक र अमानवीय स्वभाव वा मनोविज्ञानको प्रतिविम्ब मात्र हो ।

संस्कृतिकै कुरा गर्ने हो भने सबैलाई थाहा छ, खोकनाको संस्कृति, सम्पदा, गौरव र पहिचान भनेको त्यहाँको तोरीको तेल हो । देशभरि प्रख्यात त्यस खोकनाको तेल आज उखानमा मात्र सीमित भइरहेको छ, यस हजारौं वर्ष पुरानो परम्परा मासिनु हुँदैन भनेर युनेस्कोले समेत तेल पेल्ने साल संरक्षणमा सघायो तर तेल निकाल्ने कामलाई निरन्तरता दिन सकिएन । अब खोकनाको संस्कृतिको चिन्ता गर्नेले बाख्री मात्र टोक्ने कि तेल पनि पेल्ने ? खोकनाबासी नेवारहरुलाई तेल उत्पादक कहलाउन मन छ कि बाख्री टोक्ने ?

यस ‘जात्रा’को ऐतिहासिक प्रमाण वा दस्तावेज प्रस्तुत गर्न नसकेसम्म एक औसत नागरिकको निष्कर्ष यही हुन्छ : यो खोकनाको मौलिक र सांस्कृतिक जात्रा होइन । बरु यो त्यसबेलाका त्यहाँका ठालु प्रशासकहरुले त्यहाँ बस्ने सोझा नेवारहरुलाई आफू आफूमा झगडा गराउन र त्यसमा मनोरञ्जन लिन थालेकाे यो एउटा तरिका हुन सक्छ । यसप्रकार ठूलाठालुहरुले मारेर खान नमिल्ने (नेवार संस्कृतिअनुसार पोथी पशु वा पन्छीलाई मारेर खाइँदैन, देउताकहाँ बलि पनि दिइन्न), फाल्न पनि नहुने एउटा रोगी बाख्रीलाई माध्यम बनाएर गाउँलेहरुलाई लडाएर मनोरञ्जन लिने, राजनीति गर्ने, आफ्नो आधिपत्य कायम राख्ने र त्यहाँका अनपढ गाउँलेमाथि हैकम चलाउने सामन्ती प्रवृतिभन्दा बढी केही देखिँदैन ।

शायद यति पढिसकेपछि खोकनाबासीहरुलाई रिस उठ्दो होला । उनीहरुले भन्लान्, यो खोकनाको आन्तरिक मामिला हो बाहिरियाहरुले चासो लिनु पर्दैन । तर जब बाख्रीको सवालमा गैरनेवार समुदायले यसको नालीबेली खोज्छ, उनीहरुको असंख्य संस्कृति र सम्पदामा हिलो छ्याप्छ अनि यसको पुरातात्विक र सांस्कृतिक महत्वबारे थाहा पाउन हरेक नेवार बाध्य हुन्छ ।

आज कुमारी जात्रादेखि रातो मछिन्द्रनाथको जात्रामाथि असहिष्णु हुनेहरुको हातमा राज्यसत्ता छ, उनीहरुले भोलि बाख्री लुछ्नेहरुलाई जेलमा नहाल्लान् भन्न सकिन्न । त्यसैले कि त खोकनाबासीहरुले वा अन्य कोही शिक्षित बौद्धिक व्यक्तिले यस ‘जात्रा’को ऐतिहासिकता र औचित्य प्रस्ट पार्नुपर्‍यो । अथवा ऐतिहासिकता नै भेट्टाए पनि यो वर्तमान परिवेशमा यस्तो अमानवीय कार्यलाई तर्कसंगत ढंगले यसको बचाउ गर्नुपर्‍यो । यसको बचाउ खोकनाका शिक्षित र लब्धप्रतिष्ठित व्यक्तिहरुले देशको कानुन व अन्तर्राष्ट्रिय कानुनलाई समेटेर वक्तव्य प्रकाशित गरी यति राम्रो महत्वपूर्ण र अर्थपूर्ण जात्रा मनाइरहेका छौं भनेर सबैलाई हेर्न आमन्त्रण गर्नुपर्‍यो । यति गर्न सकिन्न भने कि चाँडै आइन्दा खोकनामा जिउँदो बाख्रीलाई पानीमा डुबाएर लुछ्ने कार्य गर्दैनौं भनेर सगौरव घोषणा गर्नुपर्‍यो । यति गरेपछि मात्र खोकनाका शिक्षित युवाहरु र समस्त नेवारहरुको इज्जत जोगिन्छ ।

 क्याटेगोरीः संस्कृति