चित्लाङमा आज रामचन्द्र र महाचुनीको जात्रा मनाइयो


इसमता संवाददाता

चित्लाङ, मकवानपुर, बैशाख २० । मकवानपुरको चित्लाङकाे तौवन स्थित महाचुनी मन्दिरमा आज महाचुनीदेवीको जात्रा दुई गाउँबाट खटमा राखेर ल्याएका रामचन्द्रहरुको आगमनसँगै आयोजन गरियो ।
आज कपु गाउँको रामचन्द्रको मूर्ति र खड्बु गाउँको रामचन्द्रको मूर्तिलाई खटमा राखेर बोकी तौवन स्थित महाचुनीको मन्दिरमा ल्याइन्छ र पालैपालौ ती खटहरुलाई मन्दिरको ढोकासम्म लगेर छुवाइन्छ ।
यस अघि दुइटै गाउँमा आफ्नो आफ्नो गाउँमा खटमा राखेको मूर्तिहरु परिक्रमा गराएर पहाडी बाटो भएर गाउँ घुमाई ल्याइएका थिए । तिनीहरुका साथमा परम्परागत बाजागाजा र लस्कर गाउँलेहरु पनि थिए ।
कपुगाउँका स्थानीय पूर्ण बहादुर बलामीले ती दुइटै गाउँमा यस्ता मूर्तिको मन्दिर रहेको र आजको दिनमा दुबै मूर्तिलाई महाचुनीको मन्दिरमा बोकेर लानुपर्ने परम्परा रहेको बताए ।
उनले आदिकालदेखि चलिआएको यो जात्रा मनाउन कुनै आयस्ता नभएको र स्थानीय ९० घरधुरी नेवारहरुले आफुले सक्दो सहयोग गरेर जात्राको आयोजना गर्दै आएको बताए ।
अर्का स्थानीय बेखाराम बलामीले बलामीहरु जंगलका परिपरी बस्ने भएकोले ले उनीहरुले जंगलको शिकार गर्दा भालाको प्रयोग पनि गर्ने भएकोले उनीहरुलाई बलामी भनिएको उक्ति भएको बताउँदै उनीहरु रामचन्द्रका छोराहरु लव र कुशलाई जंगलमा हुँदा धुनष र भाला चलाउन सिकाएको जनविश्वास भएको बताउँछन् ।
काठमाडौं उपत्यका र नेपालका अन्य जिल्लामा बसोबार गर्ने नेवारहरु अपवादमा बाहेक रामचन्द्रको पूजाआजा गर्दैनन् ।

 क्याटेगोरीः संस्कृति