सामन्तहरुले हाम्रो थर खोसेछन्

नवराज नेपाली

मेरा हजुरबा नेवार हुनुहुन्थ्यो । हजुरआमा परियार हुनुहुँदो रहेछ । अन्तरजातीय विवाह भएका कारण थर खोसिदिएका रहेछन् । थर नै नदिएपछि सम्पत्ति दिने कुरै भएन । हजुरबा दाप्चा गाउँबाट लखेटिएपछि मेच्छे सर्नुभएको रहेछ । त्यो २०२८ सालतिरको कुरा हो । मेच्छेमा पनि नेवार थर राख्न नदिएपछि हजुरबाले परियार नै लेख्न थाल्नुभएछ ।

nawaraj_nepali

त्यसरी हामी दलित बनाइयौं । हजुरबाको पालादेखि भएको जातीय उत्पीडन म नातीले पनि झेलिरहेको छु । २०५० सालमा मैले इन्द्रकुमारी ठकुरीसँग विवाह गरेपछि मलाई जात भँडुवा भन्दै दुःख दिन थालेका थिए । म माओवादीमा लागेको थाहा पाएपछि बल्ल जातीय दमन घटेको हो ।२०३३ साल जेठ २ गते मेच्छे १ काभ्रेमा जन्मिएको म काठमाडौँमा चालक पेसामा संलग्न भैरहेका बेला २०५४ सालमा तत्कालीन नेकपा (माओवादी) निकट यातायात सङ्गठनमा सङ्गठित भएको थिएँ । आफ्नै जिल्लाका जोगमान लामाले मजदुर सङ्गठनमा सङ्गठित गराएका थिए । त्यसबेला म कालो टेम्पो चलाउँथे ।

अधिकांश कालो टेम्पोका चालक काभ्रेली थिए । यातायात मजदुर सङ्गठनको अध्यक्ष पनि काभ्रेकै छ भन्ने खबरले धेरैजसो मजदुर सङ्गठित भैहाल्थे । जनयुद्ध उत्कर्षतिर पुग्दै गर्दा माओवादीले प्रयोग गरेको भनेर पर्दा हटाउन सरकारले उर्दी ग¥यो । केही समयपछि प्रदूषण फैलाएको आरोपमा ट्याक्सीको काम गर्ने ती साधन काठमाडौँबाट विस्थापित गरियो ।

ट्याक्सीचालक र कयौँ त्यसका मालिक माओवादी भएको, अधिकांश कारबाहीमा प्रयोग भएको आशङ्कामा त्यो व्यवसाय विस्थापित गरिएको रहस्य भने धेरै पछि मात्र खुलेको थियो । उसबेला म सुन्धारा एकाइमा कार्यरत थिएँ । जातीय विभेदका विरुद्ध मनमा प्रतिरोधको भावना थियो । कम्युनिस्ट पार्टीले जातीय विभेदका विरुद्ध लड्छ, हेलाहोचो गर्दैन भन्ने सुनिन्थ्यो । त्यसकारण २०५४ सालमा सङ्गठित भएर २०५८ सालसम्म यातायात मजदुर सङ्गठनमा काम गरेँ । आफूले काम गर्दै आएको पेसा नै विस्थापित भएपछि नयाँ रोजगारीका लागि भौँतारिहरहेको थिएँ ।

त्यसै क्रममा एउटा गैरसरकारी संस्थामा बाहन चालकको काम पाएँ । जापानी गैरसरकारी संस्था रेउकाई नेपालको नेपालस्थित मुख्यालयको बाहन चालक बनेँ । त्यहाँ काम गर्दा पार्टीमा जोगिन गाह्रो भयो । त्यसपछि त्यो काम छोडेर निजी बाहन चालकको काम सुरु गरेँ । उत्तम धिताल नामको गोर्खाली जग्गा दलाल रहेछ । त्यसबेला भने ऊ मणिग्राम रूपन्देहीमा बस्थ्यो । ऊ त मानव तसकर पो रहेछ ।

ऊसँग विभिन्न महिलाका ३८ वटा राहदानी थिए । त्यसलाई मेरो नेतृत्वमा २०६४ सालमा बालाजु शिविरमा लगेर कारबाही गराएँ । अचम्म त के भने त्यससँग आँपेकान्छाको निकट सम्बन्ध रहेछ । २०६४ सालमा ड्यास माओवादी हुँदा बुटवलमा मगरात राज्य समितिको प्रशिक्षण थियो । त्यसैक्रममा आँपेकान्छाले मेरो आफन्त भेट्न जाऊँ भनेपछि गइयो । बास बस्न गएको घर त त्यही तस्करको पो रहेछ ।

आफ्नो रोजगारदाता मानवतस्कर भएको थाहा भएपछि एक दिन उसको बाहन लिएर चितवनस्थित माओवादी शिविरमा पसेँ । त्यो जिप धेरै पछिसम्म चितवन जिल्ला पार्टीले प्रयोग गरेको थियो । उसले सुन्धारामा एउटी केटी विवाह नगरी श्रीमती बनाएर महिनौँ राखेको थियो । होटेलको रकम पनि भुक्तानी नगरेको रहेछ । त्यसलाई नियन्त्रणमा लिएर साँझ ७ बजे बालाजु शिविर पु¥यायौँ । ‘५ लाख दिन्छु, छोड । शिविर नलग’ भनेर बाटोमा रोइकराइ ग¥यो ।

पैसा असुल्न कारबाही गरेको होइन भनिदिएँ । म उसको चालक, त्यसबेला भने भयानक काल बनेर उभिएको थिएँ । विडम्बना ! अर्काे दिन बालाजु वाईसीएल कमान्डरले मोटो रकम लिएर गुपचुप छोडेछन् । त्यसबेला पार्टीमा के हुन लाग्यो भनेर दुःख लाग्यो । नेता सीपी गजुरेल ‘गौरव’ को चालक बन्न कोही नचाहने, गएका पनि नटिक्ने भैरहेको रहेछ । कोही टिक्दैन, दुई साताका लागि अर्काे व्यवस्था नगर्दासम्मका लागि भए पनि जानुप¥यो भनियो ।

पार्टी निर्णय भएकाले मन खुसी नभईकन गएँ । गौरवकी श्रीमतीले दलित, जनजाति भन्नेपछि एकदमै हेलाँहोचो गर्दिरहिछिन् । गौरवको जातीय मुक्तिको भाषण खोक्रो, देखावटी मात्र रहेछ । त्यहाँ गएपछि गौरवले थर सोधेनन् । श्रीमती सोधेपछि मैनाली भनिदिएँ । त्यसपछि पक्का ब्राह्मण चालक पाइयो भनेर होला खुसी थिए । संयोग, छोरीको काठमाडौँमा भर्ना गर्नुपर्ने भयो । आवश्यक कागजात गौरवको टेबुलमा राखिदिएँ ।

‘मनीषा परियार’ लेखिएको थियो । त्यसपछि एकदमै नकारात्मक व्यवहार हुन थाल्यो । भान्छामा पस्न रोक्न थाले । यसअघि खाना मैले नै पकाउँथे । मलाई कुकुरलाई जसरी थालमा खाना बाहिर ल्याएर दिन्थे । त्यसबेला उनीहरू कोटेश्वर नरेफाँटको आफ्नै घरमा बस्थे । एक दिन कुलबहादुर के.सी. ‘सोनाम’ ले गौरव बसेको घर भाडाको भन्छन्, कसको रहेछ भनेर सोधे । मैले कल्याणी गजुरेलका नाममा छ भनिदिएँ ।

नरेफाँटमा बस्दा एक दिन मलाई घरमै छोडेर कान्छो छोरोलाई चालक बनाएर भक्तपुरको दक्षिण पहाडको फेदीमा रहेको डोलेश्वर मन्दिर गएछन् । मलाई गौरवका तत्कालीन अङ्गरक्षक सहायक निरीक्षक बलदेव देवकोटाले आफूहरु डोलेश्वर महादेवको दर्शनार्थ निस्केको बताइसकेका थिए । कान्छो छोरो सञ्जीवलाई चालक बनाएर सुटुक्क निस्केको रहस्य बुझिसकेको थिएँ । गौरव घरमा आउँदा उनको धार्मिक यात्राको समाचार फोटोसहित सार्वजनिक भैसकेको थियो । मैले गौरवसँग समाचारका विषयमा सोध्दा बदमासहरूको हल्ला भनेर टारे । तर समाचार यथार्थ थियो ।

डोलेश्वर प्रकरणपछि नरेफाँटको घर मासिक ३५ हजार भाडामा दिएर भाडाको घरमा सरे । मलाई भ¥याङमा चिया राखिदिएर जान्थे । नसुनेको अवस्थामा त्यत्तिकै चिसो हुन्थ्यो । अति भएपछि एक दिन चियाको गिलास भ¥याङमै बजारेँ । घरवाला आएर घरभरि सिसा छरिएको छ भन्दै जिज्ञासा राखे । सबै विषय भनेपछि घरपति मेरै पक्षमा देखिए । घरपति अच्युतकृष्ण खरेलका नातेदार पो रहेछन् ।

उनी तामाङ जातिकी महिलासँग विवाह गरेका व्यक्ति रहेछन् । गौरवकी श्रीमती बेलाबेला हिमानी शाहको कार्यक्रममा जान्थिन् । मैले गौरव सरलाई ‘तपाईं कम्युनिस्ट नेता, भाउजूचाहिँ हिमानीको पार्टीमा जाने, के पारा हो दाइ ?’ भनेको थिएँ । उनी ‘मान्दिनन्, के गर्ने ?’ भन्थे । घरपति ‘साइबाबा’ धर्म मान्थे । कताबाट के दिव्यदर्शन भयो, गौरवकी बूढी त साइबाबा धर्मतिर लागिछिन् । बैठक कोठामा माओको फोटो थियो । एक दिन त माओको फोटो हटाएर साइबाबाको फोटो राखिछिन् ।

ठीक त्यसै बेला ठीक त्यसैबेला पोखराको एक कार्यक्रममा उपसभामुख पूर्णा सुवेदीले माक्र्स–एङ्गेल्सको फोटो कार्यक्रम कक्षबाट फाल्न लगाएकी थिइन् । एमालेको पार्टी कार्यालयमा विदेशी पाहुना पुग्दा माक्र्सको फाटो फालेको निरन्तरता भनेर चर्चा भैरहेको समय थियो त्यो । कल्याणीदेवीले दाइजो नल्याएको भनेर कान्छी बुहारी सुनिता पोखरेललाई लात्तीले भकुर्ने गर्थिन् । गौरव रोकथामसम्म नगरी हेरेर बस्थे । सम्पत्ति नदिईकन लखेट्ने भएपछि सुनिताले मुद्दा हालिन्–पार्टी कार्यालयमा ।

अदालतमा पनि मुद्दा प¥यो । प्रचण्डले ‘बुहारीलाई न्याय नदिए कारबाही गर्छु’ भनेछन् । पुनरावेदन अदालत ललितपुरले १० लाख रकम दिन आदेश दिएको थियो । अदालतमा सुनिताका माइतीले गजुरेलका छोरालाई पिट्न खोजेका, थुकेका थिए । हामीले बचायौँ । मैले नै रकम गौरवका तर्फबाट सुनितालाई बुझाएको थिएँ । ममाथि गौरव परिवारको अपमान असाध्यै बनेको थियो । एक दिन त्यो कुरा क. बादलसँग गरेँ । मुख्यालयमा कार्यरत समितिको बैठकमा विषय उठाएँ ।

सबैले मेरो पक्षमा राय र विचार राखे । गौरवले आफू अपमानित भएको ठाने होलान् । घघडान नेताका विरुद्ध कनिष्ठहरूको समान धारणा आएथ्यो । मैले बैठकमा मलाई विप्लव सरको कार्यालयमा पठाउनुस् भनेपछि झन् आशङ्कित भएछन् । एक दिन गौरवले नयाँ जिम्मेवारी नदिईकन पुरानो कामबाट अवकाशपत्र थमाए । त्यत्तिकै बसिरहेको थिएँ । शिवगढीमा क्रान्तिकारी पक्षको भेला भएको समाचार सुनेर आशा पलायो ।

गौरवकी जेठी बुहारी र बूढीको झगडा भैरहन्थ्यो । एक दिन जेठी बुहारी ‘तिमी नमरेसम्म यो घरमा फर्केर आउन्न’ भनेर नरेफाँटको घरबाट निस्केकी थिइन् । उनी त्यो घरमा फेरि कहिल्यै आइनन् । जेठो छोरासँग बेलाबेला फोनमा भेट हुन्छ । कान्छो छोराकी श्रीमती सुनितालाई लखेटे । अर्काे विवाह गरेकी श्रीमती क्षेत्री रहिछिन् । ‘तैँले पकाएको खान्छु ?’ भन्दै भातको थाल लात्तीले फालेकी थिइन् । घरमा कोही गयो कि बूढी रिसाउँछिन् ।

एक दिन ‘मेरो घर सार्वजनिक स्थल हो, दमैकामीलाई सरासर माथि नै पठाउने ?’ रिसाउँदै भनेकी थिइन् । मेरो थर थाहा नपाउन्जेल कतै जाँदा ‘नवराजजी, दहीचिउरा पाउने बाहुनको होटेलमा लग्नुस् है’ भन्थिन् । पाँचथरको कार्यक्रममा जाँदा प्रकाण्ड दलित भएका कारण उनको बाहनमा राख्न मानिनन् । त्यसैले अर्काे लिएर जानुप¥यो ।

त्यसबेला होटेलमा बिहान गौरव र बूढी आए । प्रकाण्डले चिया मगाए ।गौरवले खाए, बूढीले खाइनन् । फर्किंदा प्रकाण्ड अगाडि थिए । कल्याणीदेवीले ‘सानो जातको सानै बुद्धि, त्यो प्रकाण्डलाई किन चिया मगाउनुपरेको…’ भनिन् । मलाई सहन गाह्रो हुन्थ्यो । ती सबै अपमान सहेर र सुनेर बस्न सजिलो थिएन ।

साभार : रातोखबर साप्ताहिकबाट  लिइएकाे समाचार जनगणतान्त्रिक डटकमबाट

 क्याटेगोरीः समुदाय