व्रत बसेरै अायु बढ्छ भने पतिहरुले पनि पत्नीहरुको दीर्घायुका लागि व्रत बस्ने कि ?


साउनमा रंगीन पहिरन र महिला अधिकारमा फिक्कापन


साउनको महिना भन्ने बित्तिकै हरियाली भएको महिना र वर्षभरिको जेठो महिना भन्ने बुझिन्छ । सबैजसो महिलाको मनमा पनि हरियाली नै छाएकोजस्तो भान हुन्छ । त्यसैले होला, साउन महिनामा महिलाहरु हरियो चुरा, हरियो पोते, हरियो टीकाले सजिएको पाइन्छ । लाग्छ, मनभरिको पीरमर्का सबै साउन महिना आएपछि सकिन्छ । महिलाहरु आफूभित्र जति पीडा र व्यथा भए पनि सबै कुरा लुकाएर अरुको अगाडि खुशी रहेको नाटक मञ्चन गरिरहेको भेटिन्छ ।

साँच्चै नै महिलाहरुले साउन महिनाभित्र सजिएजस्तै सहज जीवन जिउन पाएका छन् त ? यसबारे अध्ययन अनुसन्धानको खाँचो रहेको छ । हरियो चुरा, हरियो पोते सबै महिलाले लगाउनै पर्नै अनिवार्य हो वा बाध्यता भन्ने विषयमा थुप्रै तर्क वितर्क अघि आएका छन् । पछिल्लो समयमा यसलाई बढी प्राथमिकता दिन थालिएपछि यो विषयमा चर्चा चल्न थालेको हो ।

साँच्चै नै महिलाहरुले साउन महिनाभित्र सजिएजस्तै सहज जीवन जिउन पाएका छन् त ?

साउनमा हरियो चुराले हात सजाएर, महँगो मेहन्दी लगाएर हिन्दु समाजका हरेकजसो महिला आफ्नो सुन्दरताको बयान गर्न पछि हट्दैनन् । आफूसँग पैसा भएर वा सापट मागेर भए पनि लगाउनै पर्ने फेशन बनेको छ हरियो चुरा र पोते । झट्ट हेर्दा राम्रो पनि देखिन्छ । मानिस स्वभावैले राम्रो बन्न चाहन्छ । अझ महिलालाई त अरुकै लागि राम्रो बनिदिनुपर्ने बाध्यता छ । यो प्रवृतिलाई फैलाउन समाजले महिलालाई राम्री बन्ने होडबाजीमा धकेलिरहेको छ । आफूमाथि हिंसा भएको जान्दाजान्दै पनि त्यसको प्रतिकार गर्न नसकी एकोहोरो अरुका लागि बाँचिरहेका छन् उनीहरु । अब कति दिन यसरी नै बाँचिरहने हुन्, अनिश्चित छ ।

अब समय फेरिएको छ । दिदीबहिनीहरुले लगाइरहेका चुरा अनि मेहन्दी कहाँबाट आयात भइरहेको छ भन्ने विषय पनि महत्वपूर्ण छ । यो विषयमा कसैको पनि ध्यान गएको देखिँदैन । यस्तो व्यापार र स्वार्थबारे बुझ्नु हरेक व्यक्तिको दायित्व हो । नेपालमा बसेर नेपालीपनको खोजी गर्ने हो र नेपालमै उत्पादन गरिएका कुराको प्रभावकारी उपयोग गर्ने हो भने साउन महिनामा भित्रिने चुरा, हरियो पोते तथा हरियै कुर्था, सारी कहाँबाट आयात गरिएका हुन् भन्ने कुरा बुझ्न आवश्यक छ ।

दिदीबहिनीहरुले लगाइरहेका चुरा अनि मेहन्दी कहाँबाट आयात भइरहेको छ भन्ने विषय पनि महत्वपूर्ण छ ।

त्यति मात्र होइन, साउन महिनामै सोमबारे व्रत बसेर, बोलबम भन्दै खाली खुट्टा सडकमा भोकभोकै दौडिरहेका महिलाहरुको दृश्य जोकोहीका लागि नौलो भने होइन । यो कष्ट किन भन्ने प्रश्न गर्नै हो भने धेरैजसो महिलाको लगभग एउटै उत्तर आउँछ : आफ्नो पतिको दीर्घायुको लागि । हो, कतिपयलाई त यसको वास्तविक अर्थ पनि थाहा हुँदैन । उनीहरुले अरुको देखासिकी गरेर हिँडिरहेको पाइन्छ ।

अनि, प्रश्न उठ्छ, साउनमा बसिने व्रतले कति महिलाको पतिको आयु बढेको छ त ? त्यसको कुनै वैज्ञानिक आधार छैन । हाम्रै छरछिमेकमा हेर्दा जसले बढी व्रत बस्छ, उसैको घरमा बढी पारिवारिक बेमेल भएका घटना देखिन्छन् ।

व्रत बस्ने बानीले गर्दा महिलाहरुकै स्वास्थ्यमा कस्तो असर पुगेको हुन्छ भन्ने उनीहरुलाई हेक्का समेत हुँदैन । जीवनमा स्वास्थ्य सबैभन्दा महत्वपूर्ण हुन्छ । यद्यपि त्यही स्वास्थ्यलाई धरापमा राखी पतिको दीर्घायुको लागि व्रत बस्न कस्सिएका दिदीबहिनीहरुले व्रतपछि के साँच्चै नै सुखशान्ति प्राप्त गर्न सक्छन् त ? उनीहरु त पतिको दीर्घायुका लागि व्रत बस्छन्, के उनीहरुका पतिहरुले पत्नीका दीर्घायुका लागि व्रत बस्छन् त ? साँच्चै माया गर्ने हुन् र व्रतप्रति विश्वास पनि छ भने पत्नीका लागि पनि व्रत बस्नु पर्छ कि पर्दैन, यतातिर कसैको पनि ध्यान गएको देखिँदैन ।

हाम्रै छरछिमेकमा हेर्दा जसले बढी व्रत बस्छ, उसैको घरमा बढी पारिवारिक बेमेल भएका घटना देखिन्छन् ।

नयाँ संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको रुपमा उल्लेख गरिएको छ । अचेल सडकमा देख्न पाइन्छ, ‘बोलबमको नाराले शान्ति पाउन् साराले’ भन्ने नारा लगाएर विभिन्न भजनकीर्तन गर्दै खालि खुट्टा हिँडिरहेका भक्तजनहरु । उनीहरुलाई हेर्ने हो भने लाग्छ, अब त ठूलै उपलब्धि हुन्छ क्यारे ।

खासगरी बोलबम हिन्दु धर्ममा आस्था राख्नेहरुले मनाउँछन् । तर जानेर नजानेर, सबै धर्ममा आस्था राख्ने दिदीबहिनीहरु पनि त्यही लाइनमा हिँडिरहेका छन् । हुन त धर्मप्रति आस्था राख्नु निश्चित रुपमा नराम्रो होइन, यद्यपि हामी कुन बाटो हिँडिरहेका छौं भन्ने कुरा पनि बुझ्नु जरुरी छ । साँच्चै हामीले हिँडेको बाटोले हामीलाई कहाँ पुर्‍याउँछ, हाम्रो गन्तव्य कता हो भन्ने नबुझी हिँड्यौँ भने कतै धर्मको नाममा हामी अल्मलिइरहेका त छैनौ ? यतातिर पनि ध्यान जान जरुरी छ ।

साउन महिनासँग महिला अधिकारका कुरा पनि जोडिएको छ । किनकि यस महिनाका सबैजसो गतिविधि महिलासँगै सम्बन्धित छन् । झट्ट हेर्दा साउन महिनाले महिलालाई नै प्रत्यक्ष असर पारिरहेको छ । हिजैदेखि रुढिवादी संस्कार र पित्तृसत्तात्मक सोचले जरा गाडेको नेपाली समाजमा के साउन महिनाले मात्र महिला अधिकारको सुनिश्चितता गर्न सक्छ ? यो विषय संवेदनशील छ ।

महिलाहरु यतिबेला आफू जुन ठाउँमा रहेको छ, त्यही ठाउँबाट आफ्नो नेतृत्व विकासलाई अघि बढाउनु पर्ने अवस्था । यस्तो बेला यसरी अल्मलिइरहँदा हिँड्न खोजेको गन्तव्यमा पुग्न गाह्रो भइरहेको छ । आफ्नो अधिकारका लागि आवाज उठाउनु पर्ने बेला आफ्नो यथार्थलाई र्बिसेर साउने व्रत बस्दै गर्दा, बोलबम भनेर हिँडिरहँदा साँच्चै अधिकार प्राप्त गर्न सकिने कुरामा प्रश्न उठेको छ ।

हिजैदेखि रुढिवादी संस्कार र पित्तृसत्तात्मक सोचले जरा गाडेको नेपाली समाजमा के साउन महिनाले मात्र महिला अधिकारको सुनिश्चितता गर्न सक्छ ?

जोकसैले पनि धार्मिक आस्था राख्न पाउँछन् तर काम नगरेसम्म माम पाउन सकिँदैन, यो ध्रुव सत्य हो । अनि अधिकार पनि मागेर होइन खासेरै लिन सक्नुपर्छ । यस्तो अवस्थामा आएर महिलाहरु यतातिर अल्मलिइरहनुभन्दा आफ्नो अधिकारको खोजीतिर लाग्न सकेमा मात्र सबैको हित हुन सक्छ ।

समग्रमा भन्दा, अब बुद्धि र विवेकले चल्ने बेला आएको छ । अधिकार र कर्त्तव्य सँगसँगै मिलाएर लैजान सक्नुपर्दछ । यो समय प्रतिस्पर्धाको समय हो भन्नेमा दुईमत छैन । आफूलाई हरेक कुरामा सक्षम बनाएर अघि जान सक्नेले मात्र यो देशको परिवेशलाई बुझन सक्छ । अरुको लहैलहैमा लागेर व्यक्तिले आफूलाई परिवर्तन गर्नसक्दैन, न देशका लागि केही गर्न सक्छ । यो समय बरु नेतृत्व विकास गर्नतिर खर्च गर्न सकेमा थोरै मात्र भए पनि उपलब्धि हुनसक्छ । देश कतातिर जाँदैछ, यो समय हामीले उठाउनु पर्ने कुरा के हो, यतातिर ध्यान दिनु पर्ने देखिन्छ । यस्तो बेला व्रत र बोलबममा भुलिरहनु कति जायज छ ? सबै महिलाले सोच्ने बेला आएको छ ।

हुन त हिजोभन्दा आजका दिदीबहिनीले हरियो चुरा पोते केही कम लगाएको हो कि भन्ने भान पनि भइरहेको छ । यसले निश्चित रुपमा सकारात्मक सन्देश दिएको छ । यसर्थ महिलाहरुले आफ्नो अधिकारको ख्याल गर्दै सत्य र यथार्थलाई बुझ्नु जरुरी छ ।

 क्याटेगोरीः जेण्डर