राजा महेन्द्रले शिक्षामार्फत गरेको ‘राष्ट्रिय संस्कृति’को निर्माण


इतिहासको राष्ट्रियकरणमा 

शिक्षाको उपयोग

नेपाल राष्ट्रको र नेपालीहरुको गौरव-गाथा लेख्ने क्रममा

“वीर नेपाली इतिहास”को निर्माण गरियो ।

तर यसो गर्ने क्रममा इतिहास स्वयंको राष्ट्रियकरण गर्ने काम पनि भयो

र त्यहीअनुरुप इतिहासमा विभिन्न काँटछाँट समेत गरियो ।


नेपालमा इतिहासलाई प्रश्नभन्दा माथिको विषय बनाइएको छ । कसैले इतिहासका व्याख्यामाथि प्रश्न उठाए उसको देशभक्तिमाथि नै सन्देह गरिन्छ । इतिहासको पुनर्व्याख्या गर्न खोजियो भने इतिहास भत्काउन खोजेको जस्ता अनेक लाञ्छना लगाइन्छ ।

यस्तो अवस्थामा पनि इतिहासकार डा. वन्तले बलभद्र कुँवर र गजे घलेको सन्दर्भमा इतिहासको राष्ट्रियकरणमा
शिक्षाको उपयोगबारे केही नयाँ तथ्य र मौलिक व्याखा पेस गरेका थिए बीस वर्षअघि । त्यसमा उठाइएका प्रश्न, विशेष गरी बलभद्र कुँवर र नालापानीको युद्धबारे अहिले नयाँ शिराबाट बहस उठ्न थालेको छ । यही सन्दर्भमा “राजा महेन्द्रले शिक्षामार्फत गरेको ‘राष्ट्रिय संस्कृति’को निर्माण” र “महेन्द्रमालामा बलभद्र कुँवरबारे के देखाइयो, के लुकाइयो ?” र “भिसी विजेता गजे घले पाठ्यपुस्तकबाट किन र कसरी हटाइए ?” नामक रचना क्रमश: पेस गर्दैछौं ।


वर्तमान नेपालको राजनीतिक सीमाभित्र रहेका विभिन्न जातीय समुदायहरुको संस्कृतिको निर्माण हुनुमा हजारौं वर्ष लागेको छ । तर अहिले भन्ने गरिएको “नेपाली राष्ट्रिय संस्कृति”को इतिहास भने एक सय वर्ष जति मात्र पुरानो हो । ब्रिटिस–भारतमा रहेका केही नेपालीले नेपाली भाषा र जातित्वको सम्मानपूर्ण रुप खडा गर्ने काम बीसौं शताब्दीको सुरुतिर सचेतनापूर्वक थालेका थिए । त्यसैबेलादेखि मात्र नेपाली जातित्व र राष्ट्रियता भन्ने कुराहरुले मूर्त रुप लिन थालेका हुन् । राणा शासनको अवसानअघि नेपालभित्र पनि यही भावनालाई अगाडि बढाउने सानातिना प्रयास नभएका होइनन् तर २००७ सालपछि मात्र त्यस किसिमका प्रयासले गति पाए । नेपाली राष्ट्रिय संस्कृतिको निर्माण प्रक्रियालाई अगाडि बढाउन शिक्षा नीतिमा गरिएको राष्ट्रियकरणले ठूलो भूमिका खेलेको छ ।

राष्ट्रिय संस्कृतिको निर्माण र त्यसलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा शिक्षा एक अति सशक्त माध्यम हो । तसर्थ इतिहासका विभिन्न कालखण्डमा विभिन्न राज्यशक्तिले देशको शिक्षा प्रणालीलाई राष्ट्रियकरण गरी आफ्ना नागरिकमा एकीकृत राष्ट्रिय भावना जगाउने प्रयास गर्ने गरेका हुन्छन् । यस्ता प्रयासमा विद्यालयमा पढाइने पाठ्यपुस्तकको अति महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थीहरुमा राष्ट्रिय भावना जगाउन तथा उनीहरुलाई विशेष किसिमका राष्ट्रिय इतिहास, विभूति र संस्कृतिबारे ज्ञान दिन पाठ्यपुस्तक अति नै सशक्त माध्यम हुन् ।

एकातर्फ विकासको मन्त्र जपी सबै नागरिकलाई देशको एकीकृत र सुन्दर भविष्यबारे आश्वस्त बनाउने प्रयास गरियो भने अर्कातर्फ इतिहासको समेत राष्ट्रियकरण गरी सबै नेपालीको स्मृतिमा एकीकृत जातीयताको लामो इतिहास प्रतिस्थापित गर्ने प्रयास गरियो ।

शिक्षाको राष्ट्रियकरण

राणा शासनको अत्यपछि सन् १९५२ मा एउटा शिक्षा बोर्डको गठन गरियो । उक्त बोर्डले एक वर्षपछि एउटा राष्ट्रिय शिक्षा योजना आयोग गठन गर्‍यो, जसले सन् १९५४ को मार्च महिनादेखि अमेरिकी सहयोगमा आफ्नो काम थाल्यो । नेपालका लागि एउटा दीर्घकालीन शिक्षा योजना निमार्ण गर्ने हेतुले खडा गरिएको त्यस आयोगले त्यसबेलाका शैक्षिक संस्था, तिनीहरुमा उपलब्ध सुविधा र शिक्षासम्बन्धी अरु कुराबारे व्यापक अध्ययन गर्‍यो । उक्त आयोगले त्यतिबेलाका अङ्ग्रेजी माध्यमका स्कुल र गुम्बा आदि सबै खाले स्कुलमा विभिन्न थरीका पाठ्यक्रम र पाठ्यक्रम र पाठ्यपुस्तकको विजातीयतालाई एउटा चुनौतीको रुपमा स्वीकार गर्‍यो ।

सन् १९५५ मार्च माहिनामा तयार भएको त्यस आयोगको रिपोर्टको “आजको नेपालमा शिक्षा आवश्यकता” शीर्षकअन्तर्गत यस्तो लेखिएको छ :

“संसारका अरु राष्ट्रहरुको माझमा हामीले हाम्रो राष्ट्रिय विशेषता, हाम्रो वीरता र हाम्रो नाम विकास गर्ने अभिलाषा राखेका छौं ।”

यी कुरालाई शिक्षाको पहिलो पाँच वर्षे शिक्षा योजना (सन् १९५६–१९६१) मा समेत समावेश गरियो । त्यस योजनाको उद्देश्य शिक्षामा रहेको विजातीयतालाई हटाई राष्ट्रिय स्वरुप भएको र देशका जनतालाई सुहाउँदो एकीकृत राष्ट्रिय शिक्षा प्रणाली खडा गर्ने थियो ।

यसै योजनाअनुरुप सन् १९५९ मा श्री ५ को सरकारले प्राथमिक स्तरको पाठ्यक्रम लागू गर्‍यो । यस पाठ्यक्रमअनुसार सबै प्राथमिक स्कुलमा नेपाली भाषाको अध्यापन अनिवार्य गराइयो । आयोगले आफ्नो रिपोर्टमा तेस्रो कक्षादेखि अध्यापनको माध्यम नेपाली भाषा हुनुपर्छ भन्ने कुरामा जोड दिएको थियो । प्राथमिक स्कुलमा अरु भाषाको अध्यापनको आवश्यकता नरहेको र रहेमा यसले नेपाली भाषाको अध्ययनमा बाधा पुर्‍याउने आयोगको राय रहेको थियो । यसरी नेपाली भाषा अध्यापन गरिएमा नेपालका अरु भाषाहरु क्रमशः लोप हुँदै जाने ठोकुवा गर्दै आयोगले आफ्नो रिपोर्टमा उल्लेख गरेका थियो–

“स्थानीय भाषाहरुको अध्ययनले नेपालीको विकासमा अवरोध खडा गर्नेछ, किनकि विद्यार्थीहरुले ती भाषाहरु आफ्नो घर र समाजमा नेपालीभन्दा बढी प्रयोग गर्नेछन् । त्यसो भएमा नेपाली भाषा ‘विदेशी’ भाषाकै रुपमा रहनेछ । नयाँ पुस्ताका विद्यार्थीहरुलाई नेपाली भाषा उनीहरुको आधारमा भाषाको रुपमा सिकाए अरु भाषाहरु क्रमशः लोप हुँदै जानेछन् र यसले नेपालको राष्ट्रिय एकतालाई अझ बढी मजबुत बनाउनेछ ।”

सन् १९६० को अन्त्यतिर शिक्षा सामग्री संस्था (हालको जनक शिक्षा सामग्री केन्द्र) खडा गरी नेपाली लेखकहरुलाई राष्ट्रिय शिक्षा नीतिअनुरुप पाठ्यपुस्तक तयार पार्न लगाइयो ।

श्री ५ महेन्द्रले राज्यसत्ता आफ्नै हातमा लिएपछि सन् १९६१ मा गठन भएको राष्ट्रिय शिक्षा समितिले पूर्व निर्धारित पाठ्यक्रममा केही परिवर्तन गर्ने विचार अघि सार्‍यो । तदनुरुप राष्ट्रिय स्तरका वीर पुरुषहरुको जीवनी, सहिदहरुको चिनारी र राजभक्तिका पाठहरुको जीवनी, सहिदहरुको चिनारी र राजभक्तिका पाठहरु पनि स्कुल पाठ्यक्रममा सम्मिलित गराइयो । शिक्षाकर्मीहरुले विद्यार्थीहरुलाई राष्ट्रिय भावनामा प्रशिक्षण दिनुपर्ने कुरामा जोड दिइयो । यी उद्देश्यअनुरुप तयार गरिएका पाठ्यपुस्तकहरुको वितरण र अध्यापनमार्फत् सन् १९६० को दशकको अन्त्यसम्ममा स्कुलका पाठ्यक्रम र पुस्तकहरुमा पहिले रहेको विजातीयता धेरै मात्रामा हटाई राष्ट्रिय स्तरमा शिक्षामा एकरुपता ल्याउन पञ्चायती व्यवस्था निकै सफल भयो ।

इतिहासको राष्ट्रियकरण गर्ने सिलसिलामा पाठ्यपुस्तकहरु हतियारका रुपमा उपयोग गरिए । शिक्षाको राष्ट्रियकरण हुनुअघि राखिएका केही पाठ पछि कसरी हटाइए र पाठहरुको रुप तथा संरचनामा भएका परिवर्तनका प्रक्रियाको मात्रै विश्लेषण गर्ने हो भने पनि यो कुरा प्रस्ट हुन्छ ।

पञ्चायती व्यवस्थाले शिक्षाको माध्यमद्वारा राष्ट्रिय संस्कृतिको निर्माण गर्ने कामलाई पाठ्यपुस्तक इतर विषयहरुबाट पनि अगाडि बढायो । सन् १९६० को दशकको सुरुतिरै सबै शिक्षण संस्थामा नेपालको राष्ट्रिय गान अनिवार्य रुपमा गाउनुपर्ने नियम बनाइयो । यसैगरी सबै स्कुलमा श्री ५ महाराजधिराजको तस्बिर राख्नु अनिवार्य गरियो । विद्यार्थीहरुलाई विभिन्न राष्ट्रिय गीत गाएर नेपाली राष्ट्रको गरिमामय चित्राङ्कन गर्ने यस क्रममा सरस्वती बन्दनाको परम्परा विस्थापित हुन थाल्यो ।

सन् १९६० को दशकको अन्ततिर राजा महेन्द्रले तत्कालीन शिक्षा प्रणालीलाई पुनः नयाँ रुप दिन राष्ट्रिय शिक्षा सल्लाहकार परिषद्लाई अह्राए । यसैको फलस्वरुप २०२८ सालमा नयाँ शिक्षा प्रणाली योजना लागू गरियो । त्यसै वर्ष राजा महेन्द्रको स्वर्गारोहण भएकोले त्यस योजनालाई कार्यान्वयन गर्ने अभिभारा श्री ५ वीरेन्द्रको सरकारमाथि आइपर्‍यो ।

नयाँ शिक्षा प्रणाली योजनाले राष्ट्र र राजाप्रति बफादार र पञ्चायती व्यवस्थाअनुरुप आचरण राख्ने नेपाली नागरिक उत्पादन गर्ने लक्ष्य राखेको थियो । देशको विकासलाई चाहिने व्यावहारिक र वैज्ञानिक शिक्षाको प्रचारमा व्यापकता ल्याई दक्ष जनशक्तिसम्बन्धी राष्ट्रको आवश्यकतालाई पनि यो योजनाले पूर्ति गर्ने उद्देश्य राखेको थियो ।

यस योजनाका हिमायतीमध्येका प्रमुख डा. मोहम्मद मोहसिनले एक ठाउँमा लेखेका छन् :

“विभिन्न जातीय समुदायहरुमा विभक्त रहेका नेपाली जनतामा राष्ट्रिय इतिहासको एउटा व्यापक समन्वयात्मक र गतिशील आधार तयार गर्नु नै नयाँ शिक्षा योजनाको प्रमुख उद्देश्य हो ।”

राष्ट्र निर्माणका दुई उद्देश्य तथा आधारहरु अर्थात् विकास र राष्ट्रिय एकतालाई यस योजनामा प्रमुख स्थान दिइयो ।

विभिन्न जातीय संस्कारमा विभाजित समुदायहरुलाई योजनाबद्ध तरिकाबाट एकीकृत राष्ट्रिय संस्कृतिमा सामाजिकीकरण गर्ने प्रयासलाई नयाँ शिक्षाले जोडदार रुपमा अघि सार्‍यो । स्कुल शिक्षाको माध्यमद्वारा नेपाली राष्ट्रिय भाषा, साहित्य तथा कलाको संवर्धन, विकास र प्रसार गर्ने उद्देश्य नयाँ शिक्षाले राख्यो । नयाँ शिक्षा प्रणालीले नेपाली भाषालाई अध्यापन माध्यमको रुपमा अघि बढाएर आफ्नो उद्देश्यअनुरुपका पाठ्य–सामग्रीको निर्माण गर्‍यो । स्कुलमा पढाइने पाठ्यपुस्तक देशभरि प्रयोगमा आउने भएकाले तिनलाई यस प्रणालीले सबभन्दा प्रमुख शैक्षिक सामग्रीको रुपमा उपयोग गर्‍यो । ‘पञ्चायत’लगायत विभिन्न विषयमा नयाँ पाठ्यपुस्तक तयार भए ।

नयाँ शिक्षा र त्यसभन्दा अघिका विभिन्न शैक्षिक योजनामा केही भिन्नता अवश्य थिए, तर राष्ट्रिय संस्कृतिको निर्माण गर्ने विषयमा भने सबै योजना प्रायः उस्तै थिए । त्यसैले सन् १९६० को दशकको अन्त्यसम्ममा नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गर्ने काममा अभूतपूर्व सफलता मिलिसकेको स्पष्ट देखिन्छ ।

पाठ्यक्रममा राष्ट्रिय इतिहास

पाठ्यक्रमको माध्यमबाट नेपाली राष्ट्रिय इतिहास सिकाएर राष्ट्रको गरिमाप्रति बफादार रहने नागरिकहरु उत्पादन गर्ने काम नयाँ शिक्षा योजना लागू हुनुभन्दा अघि नै सुरु भएको थियो । विशेष गरेर पृथ्वीनारायण शाहको गद्दी आरोहणदेखि सुगौली सन्धिसम्मको नेपाली इतिहासको “एकीकरण” काललाई नेपालको वीर इतिहासको रुपमा प्रस्तुत गरी त्यसपछिको समयलाई अन्यौल र अन्धकारको युग (राणाकाल) अनि २००७ सालपछिको नेपाललाई विकासोन्मुख नेपालको रुपमा चित्रण गरियो ।

एकातर्फ विकासको मन्त्र जपी सबै नागरिकलाई देशको एकीकृत र सुन्दर भविष्यबारे आश्वस्त बनाउने प्रयास गरियो भने अर्कातर्फ इतिहासको समेत राष्ट्रियकरण गरी सबै नेपालीको स्मृतिमा एकीकृत जातीयताको लामो इतिहास प्रतिस्थापित गर्ने प्रयास गरियो । यसरी इतिहासको राष्ट्रियकरण गर्ने सिलसिलामा पाठ्यपुस्तकहरु हतियारका रुपमा उपयोग गरिए । शिक्षाको राष्ट्रियकरण हुनुअघि राखिएका केही पाठ पछि कसरी हटाइए र पाठहरुको रुप तथा संरचनामा भएका परिवर्तनका प्रक्रियाको मात्रै विश्लेषण गर्ने हो भने पनि यो कुरा प्रस्ट हुन्छ । यस लेखमा यी नै दुई विषयबारे एक एक वटा उदाहरण दिएर यस कुरालाई प्रमाणित गर्ने चेष्टा गरिएको छ ।

पहिलो उदाहरण नालापानीको युद्धमा वीरताका लागि इतिहासमा नाम कमाएका बलभद्र कुँवरसँग सम्बन्धित छ । दोश्रो उदाहरण विश्वयुद्धमा भिक्टोरिया क्रसको तक्मा पाएका गोर्खा सैनिक गजे घलेसँग सम्बन्धित छ ।

क्रमशः

हिमाल, वैशाख-जेठ, २०५४ मा ‘इतिहासको राष्ट्रियकरणमा शिक्षाको उपयोग’ नाममा प्रकाशित यस लेखको शिर्षक फेर्दै यहाँ साभार गरिएको हो ।

 क्याटेगोरीः इतिहास