राजधानीमै जात लुकाएर बाँच्न बाध्य दलितका पीडा


रुकुम–रोल्पामा भन्दा राजधानीमा छुवाछूत बढी छ : पूर्व सभासद विनोद पहाडी


–रुपबहादुर विश्वकर्मा

कतिपय भन्ने गर्छन्, जातीय भेदभाव र छुवाछूत अब गाउँमा मात्र बाँकी छ, शहरमा त सर्लक्कै हटिसक्यो । किनकि शहरमा शिक्षित र सभ्य मानिसहरुको बढी बसोबास हुन्छ । तर अरु त अरु सबैभन्दा शिक्षित र सभ्य मानिनेहरुको बसोबास रहेको राजधानीमै त्यस्ता थुप्रै मान्छे भेटिनेछन्, जो वर्षाैँवर्षदेखि आफ्नो जात लुकाएर बस्न विवश छन् । जातीय अपहेलनाबाट बच्नकै लागि कतिपयले आफ्नो नागरिकता केरमेट गरेका छन् भने कतिले पहिलेको थर नै बदलेर नागरिकता बनाएका छन् । यहाँ त्यस्ता केही प्रतिनिधि पात्रलाई प्रस्तुत गर्ने जमर्काे गरिएको छ ।

जात खुलाउँदा सात वर्षदेखिको जागिर गयो ः ट्याक्सी चालक ज्ञानबहादुर

सर्लाही अत्रौलीका ज्ञानबहादुर विश्वकर्मा, जो १३ वर्षदेखि काठमाडौँमा ट्याक्सी चलाउँछन् । अझै उनी आफ्नो जात खुलाउन हिचकिचाउँछन् । उनको थरचाहिँ रिजाल हो । तर नागरिकता र लाइसेन्समा ‘विश्वकर्मा’ लेखिएका कारण काठमाडौँका कुनै सभ्रान्तले उनलाई काम दिएनन् । ‘रिजाल भन्दा पहिले काम गर्न आउ भन्नेहरुले नागरिकता देखाउनेबित्तिकै हँुदैन भनेर फर्काउँथे,’ उनी शुरुका दिनहरु सम्झन्छन्, ‘एक पटक कालीमाटीमा बाहुन समुदायका साहूले तिमी त विश्वकर्मा रहेछौ, ट्याक्सीमा कहिलेकाहिँ प्रसाद पनि बोक्नुपर्ने हुन्छ भनेर फर्काए ।’

उनी काठमाडौँका जुन जुन सभ्रान्तकहाँ गए, तिनले विश्वकर्मा भएकै कारण उनलाई ट्याक्सी चालक राख्न इन्कार गरे । हातमा सीप हँुदाहँुदै पनि जातकै कारण जागिर नपाउने भएपछि उनले एउटा ‘आइडिया’ लगाए । नागरिकता र लाइसेन्समा ‘विश्वकर्मा’ लेखिएको ठाउँमा केरेर आफ्नो थर ‘रिजाल’ राखे । बाबुको नामपछि भएको ‘कामी’ पनि मेटे ।सक्कली लाइसेन्स हँुदाहँुदै उनले रिजाल राखेर नक्कली लाईसेन्स समेत बनाए । त्यसपछि भने उनले जहाँ गयो, त्यहीँ जागिर पाउन थाले ।

पछिल्लो पटक उनले सीतापाइला निवासी एकजना श्रेष्ठ समुदायका साहूको नीजि कार झण्डै सात वर्ष चलाए । ती साहूले उनलाई आफ्नै परिवारका सदस्य झैँ ठान्थे । भातभान्सा, भोजभत्तेर जहाँसुकै सँगसँगै लान्थे, खुवाउँथे । बाहिर यति माया र सम्मान पाएपनि उनलाई भित्रभित्र भने उकुमुकुस हुन थाल्यो, आफूले जात ढाँटेकामा । काम गरेको धेरै भयो अब त वास्तविकता भनेपनि साहूले स्वीकार गर्छन् होला भन्ने लाग्न थाल्यो उनलाई ताकि ढुक्कसँग काम गर्न पाइयोस् । तर त्यत्रो वर्ष ढाँटेको कुरा एक्कासी कसरी भन्नु ? ‘मेरो पालो जे त होला भनेर एकदिन साँझ आफ्नो कोठाबाट मोबाइलमा मेसेज गरेँ, म त विश्वकर्मा हँु सर, कस्तो लाग्छ तपाईँलाई ?,’ उनी अँध्यारो मुख लगाउँदै सुनाउँछन्, ‘उताबाट जवाफ आयो भोलीदेखि नआउनु ।’ यसरी उनले आफ्नो वास्तविकता भन्दा सात वर्षदेखिको जागिरबाट हात धुनु पर्यो ।

उतिबेला कथित सानो जातकालाई कोठा पाउन पनि कम्ता गाह्रो (अहिले पनि साह्रै सजिलो त कहाँ छ र ?) थिएन । सबैभन्दा गाह्रो त त्यतिबेला भयो उनलाई, जतिबेला माओवादी द्वन्द्वका कारण कोठा लिने हरेकले घरबेटीलाई नागरिकताको फोटोकपी बुझाउनुपर्ने भयो । ‘त्यही केरेमेट गरेर रिजाल राखेको नागरिकताको फोटोकपी बुझाएर काम चलाएँ,’ ज्ञानबहादुर सुनाउँछन् ।

अहिले भने उनलाई अलि सहज भएको छ । कारण अहिले उनी कुनै साहूको होइन, आफ्नै ट्याक्सी चलाउँछन् । ‘दुई वर्ष जति भयो, आफ्नै ट्याक्सी चलाउन थालेको,’ ज्ञानबहादुरले सुनाए, ‘फाइनान्सबाट ट्याक्सी निकालेको हँु, अझै पाँच लाख ऋण बाँकी नै छ ।’ फेरि केही गरी साहूकै ट्याक्सी चलाउनु पर्ने अवस्था आयो भनेचाहिँ आफूलाई पहिलेकै समस्या दोहोरिनेमा उनी चिन्तित छन् ।

पाइलैपिच्छे अपमानित भए तर थरका आधारमा स्थानीय निकायले नागरिकता दिएन

तात्कालिन श्री ५ को सरकारले २०५२ साउन ४ गते ‘समाजमा अझै विद्यमान रहेको जातिगत संकीर्णताले गर्दा जातीय आधारमा आफूलाई हीनताबोध गर्ने व्यक्तिले बाबुको भन्दा फरक थर राखी वा नयाँ थर राखी नागरिकताको प्रमाणपत्र माग गर्ने गरेको हुनाले त्यस्तो व्यक्तिहरुको …………… नागरिकताको प्रमाणपत्रमा नयाँ थर राखी वा थर सच्याइ नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्ने……..’ निर्णय गर्यो । त्यसयता दलितहरुले आफ्नो नागरिकतामा जात लेख्नैपर्ने परम्परालाई त्याग्दै थर लेख्न थालेका छन् ।

1-griha ko patra

यही थाहा पाएर ट्याक्सी चालक ज्ञानबहादुरलाई पनि लाग्यो, कति केरमेट गरेको नागरिकता बोकेर हिँड्नु, अब विश्वकर्माको ठाउँमा रिजाल राखेर फेरि अर्काे नागरिकता लिनुपर्यो । यही सोचेर उनी २०७१ मंशिरमा गृह जिल्ला सर्लाही हान्निए । हरिवन नगरपालिका अन्तर्गत आफ्नो वडा कार्यालय अत्रौलीमा गएर उनले आफ्ना कुरा राखे । ‘तर त्यहाँका कर्मचारी लगायत केही नेता भनाउँदाहरुले मलाई उल्लिबिल्ली पारे,’ उनी सुनाउँछन्, ‘कस्तो नचाइने काम गर्न लाग्या होला, जात पनि कहिँ फेर्न मिल्छ भनेर उडाए ?’ वास्तवमा उनले आफ्नो जात फेर्न लागेका थिएनन् । बरु जात विश्वकर्माको ठाउँमा आफ्नो थर रिजाल राख्न लागेका थिए, ताकि नागरिकता हेर्नेबित्तिकै कसैले हेला नगरोस् ।

राष्ट्रिय दलित आयोगको पत्र तथा थर सच्याइदिनेबारे सरकारले गरेको निर्णयको प्रतिलिपी देखाएपछि बल्ल–बल्ल उनलाई वडा कार्यालयले उनलाई सिफारिस दियो । त्यसपछि उनी नगरपालिकाको कार्यालय हरिवन आए । सेवाग्राहीलाई सदरमुकाम मलंगवा जानु नपरोस् भनेर सरकारले हरिवनमै इलाका प्रशासन कार्यालय पनि राखेको छ । नगरपालिकाको कार्यालयबाट अर्काे सिफारिस लिएर उनी इलाका प्रशासन पुगे । सबै कागजपत्र हेरेपछि इलाका प्रशासनले प्रक्रिया अघि बढायो । उनलाई लाग्यो, अब आफूले चाहे अनुसार थर राखिएको नागरिकता बन्ने भयो । तर अन्तिममा आएर भनियो, यस्तो गर्न मिल्दैन । उनले किन नमिल्ने भनेर निक्कै बेर विवाद गरेपछि भनियो, ‘त्यसो भए सिडिओको सहि लिएर आउनु ।’

त्यसपछि उनी सबै कागजपत्र लिएर सिडिओ कार्यालय सदरमुकाम मलंगवा गए । सिडिओ कार्यालयको गेटमा बसेका प्रहरीले उनलार्ई किन सिडिओलाई भेट्नुपर्यो भनेर सोधे । उनले आफ्नो वृतान्त बताए । ‘त्यसपछि उसले मलाई हैट, कामी भएर बाहुनको थर राख्ने भनेर हकारपकार पो गर्न थाल्यो र सिडिओ भेट्न जानबाट रोक्न खोज्यो,’ उनी सुनाउँछन्, ‘साथमा आएका एक मित्रले ती प्रहरीलाई राम्रोसँग सम्झाएपछि बल्ल–बल्ल भित्र छिर्न पाइयो ।’ कार्यालय भित्र छिरेर उनले सिडिओसाबलाई आफ्ना कागजपत्र दिए र सिडिओ त्यसमा रातो मसिले लेखे । सिडिओले जे लेखे त्यसले के अर्थ राख्छ, ज्ञानबहादुरले कसरी बुझ्ने ?

त्यो लिएर फेरि हत्तारिँदै उनी हरिवन इलाका प्रशासनमा आए । तर त्यहाँ फेरि भनियो–सिडिओसाबले ‘नागरिकता’ मात्रै लेख्नु भएको रहेछ, दिन मिल्दैन । जति विवाद गरेपनि उनको केही सीप लागेन बरु उल्टै हकारपकार गरियो– ‘धेरै ठूलो कुरा गर्ने हैन ।’ ‘त्यसपछि म अन्तिममा पहिलेकै विश्वकर्मा लेखिएको प्रतिलिपी नागरिकता लिएर फर्कन बाध्य भएँ,’ उनी निराशा व्यक्त गर्छन् ।

2-dalit aayogko patra
काठमाडौँ आएर उनले यो कुरा दलित आयोगलाई भने दलित आयोगले सर्लाहीका सिडिओलाई फोन गर्दा उताबाट तपाईँको त्यस्तो मान्छे यहाँ आएकै छैन भने रे । ‘यो कस्तो खेल हो मैले आजसम्म बुझ्न सकेको छैन, बेकारमा मेरो पैसा र समयको नाश भो,’ उनी सुस्केरा हाल्छन््, ‘खै दलित आयोगले पनि केही गर्ने रहेनछ ।’ यही पीडाले गर्दा उनले आफ्ना दुई छोराको जन्मदर्ता, स्कुल भर्नामा रिजाल राखेका छन् ।

यहाँ लेखक आहुतीको यो भनाइ राख्नु सान्दर्भिक हुन्छ– ‘दलितहरूले पहिले–पहिले गैरदलितले मात्र लेख्ने र भन्ने गरेको थर लेख्न थाले भनेर हो । यो चाँहि अज्ञानताको समस्या हो । नेपालमा २०४६ साल भन्दा पहिले आम रूपमा दलितलाई थर लेख्न नै दिइदैनथ्यो, सोझै थरको स्थानमा जात लेख्न बाध्य पारिन्थ्यो र आजसम्म पनि कतिपय स्थानमा बाध्य पारिदै छ । एउटा ब्राह्मण नागरिकता लिन गए थरका रूपमा उसले ब्राह्मण लेख्न पर्दैनथ्यो, बरु आफ्नो थर सापकोटा बकाइदा लेख्न पाउँथ्यो तर एउटा गौतम थरवाला दमाई नागरिकता लिन जाँदा थर दमाई, दर्जी, नगर्ची यस्तै प्रष्ट जात चिनिने गरी लेख्नुपथ्र्यो, उसले आफ्नो गौतम थर लेखाउन पाउँदैनथ्यो । वास्तवमा गोतामकोटबाट हिँडेको दमाई र ब्राह्मण दुवैको चिनारी थर गोतामे÷गौतम हो तर लेख्ने अधिकार तागाधारीलाई मात्र थियो । त्यसैले गौतम थरको दमाई वा शाही थरको बादी बिहेवारी गर्दा मात्र त्यो थर आफ्नै समुदायबीच प्रयोग गर्न बाध्य थियो ।

२०३६ सालको आन्दोलन र विशेषतः २०४६ को परिवर्तनसँगै आएको स्वतन्त्रता र पार्टी राजनीतिले दलितहरूमा ह्वात्तै चेतना र अधिकारका लागि लड्न सक्ने बनायो । त्यसपछि फटाफट दलितहरूले आफ्नो वास्तविक थर लेख्न थाले । त्यसरी दलितले थर लेख्न सुरु गर्दा आफूले मात्र लेखेको वा गैरदलितको मात्र भनी बुझेको थर दलितले लेखेको देखेपछि गैर दलित कतिपय विद्वान पनि चिच्चाए, ‘दलितले किन जात ढाँटेको ?’ यथार्थमा जात ढाँटेको थिएन त्यो, त्यो त उसले आफ्नो थर पो लेखेको थियो ।’
सरकारले थर सच्याउन पाउने प्रष्ट नीति बनाउँदा पनि ज्ञानबहादुर विश्वकर्माहरुले किन आफ्नो इच्छा अनुसार नागरिकता नपाएका होलान् ? लेखक एवं माओवादी नेता आहुतीको सोझो उत्तर छ, ‘कानुन लागू नभएको !’

कामीबाट विश्वकर्मा हुँदै लामगादेबाट लामिछाने !

जातीय अपमानकै पीडाले राजधानीमै घर भएका बालकुमार विश्वकर्मा (नाम परिवर्तन–किनकि अझै उनी सार्वजनिक गर्न चाहदैनन्) अहिले ‘लामिछाने’ बनेका छन् । उनको बाजेको नागरिकतामा ‘कामी’ थियो, बुवाको नागरिकतामा ‘विश्वकर्मा’ भयो, त्यसपछि उनले आफ्नो थर ‘लामगादे’ राखेर नागरिकता निकाले । तर ‘लामगादे’ माथि पनि उनलाई ठाउँ ठाउँमा प्रश्न आयो । उनी एक पटक पैसा झिक्न काठमाण्डुकै एक मनी ट्रान्सफरमा गएका थिए । जब उनले आफ्नो नागरिकताको प्रतिलिपी बुझाए, त्यहाँका कर्मचारी मुखामुख गर्न थाले । र, सोधि पनि हाले–लामगादे भनेको के हो ? ‘मेरो पालो शेरबहादुर देउवालाई पनि पहिले मान्छेहरु यो देउवा भनेको के हो भन्थे, लामगादे पनि त्यस्तै हो भनेर जवाफ दिएँ,’ उनी भन्छन्, ‘यसरी कति ठाउँमा स्पष्टिकरण दिँदै हिड्नु ?’

जब लामगादे भनेको विश्वकर्मा हो भनेर थाहा पाउँथे, तब आफूमाथिको व्यवहार हेपाहा हुने उनले बताए । एक दिनको कुरा हो । उनको मोटरसाइकललाई कारले पछाडिबाट धक्का दियो । ट्राफिक प्रहरीले दुवै पक्षलाई समात्यो । ‘शुरुमा ‘तपाईँ’ भनेर सम्बोधन गरिररहेको प्रहरीले जब मेरो नागरिकता र लाइसेन्स्नमा लामगादे देख्यो तब मलाई तिमी तिमी भनेर अलि अपमानित व्यवहार गर्न थाल्यो,’ उनी सुनाउँछन् । यसरी जहाँपनि जातकै कारण अपमानित हुनु परेकाले लामगादे हटाएर लामिछाने लेखिएको नागरिकता बनाएको उनी बताउँछन् । ‘आफ्नो समाजमा चिनिएपनि बाहिरफेर अपरिचित ठाउँमा त हेपाइबाट बाँचियो नी,’ उनी भन्छन् ।

यसरी दलितले आफ्नो वास्तविक थर फेर्नु ठीक हो त ? लेखक आहुती भन्छन्, ‘सामान्यता नबदलेको राम्रो । किनकि यो समस्यासँग लड्ने होइन, भाग्ने प्रवृत्ति हो । तर आफ्नो थर के राख्ने त्यो उसको अधिकारको कुरा हो ।’ उनी अगाडि भन्छन्, ‘थर जे राखेपनि ऊ आफ्नो समुदायबाट अलग हुन सक्दैन । लामिछाने भएतापनि उसले विहे गर्दा गोत्र हेरेर आफ्नै समुदायसँग गर्छ ।’

पूर्व सभासद विनोद पहाडी भने लामगादेको वास्तविक थर पहिले लामिछाने नै भएको दाबी गर्छन् । उनी भन्छन्, ‘जसरी गौतमलाई गोतामे बनाइयो त्यस्तै हो । लोहार लोहनी हुनु, बराइली बराल हुनु कुनै अचम्म होइन ।’

यसरी धमाधम दलितहरुले थर अर्काे राख्न थाले भने राज्यले दलितका लागि दिने विशेष अधिकारबाट उनीहरु वञ्चित हुने तथा लामिछाने बाहुनले पनि म दलित हँु भनेर दलितको सुविधा खुस्काउने अवस्था आउँदैन र ? ‘त्यस्तो हँुदैन, दलित त न थर हो न जात, अहिले पनि दलितका थुप्रै थर बाहुनसँग मिल्छन्,’ आहुतीको तर्क छ, ‘को दलित हो, को होइन भनेर स्थानीय निकाय तथा दलित आयोगले प्रमाणित गर्नुपर्र्छ नी !’

जात खुल्ला भन्ने त्रासमा पढ्दै दलित बालक

एक जना रिजाल थरका १३ वर्षिय विश्वकर्मा बालक छन् । जो काठमाण्डुकै एक अन्तर्राष्ट्रिय स्तरको बोर्डिङ्ग स्कुलमा कक्षा ६ मा पढ्छन् । उनले स्कुलमा पनि रिजाल नै राखेका छन् । तर बुवाको नाममा भने विश्वकर्मा नै राखिएको छ । कहिलेकाहिँ स्कुलले अभिभावक बोलाउने क्रममा उनको बुवा जाँदा ती बालकलाई साथीहरुले आफू विश्वकर्मा भएको थाहा पाउने हो कि भन्ने जहिले त्रास हुन्छ । उनी आफ्नो नाम नबताउने शर्तमा भन्छन्, ‘कुनै विश्वकर्मा साथीले केही गलत काम गर्यो भने अन्य जातका साथीहरु ‘कामी त पर्यो’ भनेर गललल्ल हास्छन् । मेरो पनि थाहा भयो भने त त्यही हाल हुन्छ नी, त्यही भएर डर लाग्छ ।’

राजधानीमै यस्तो जातीय उत्पीडन पाइयो, तपाईंको अनुभवले के भन्छ ? छुवाछूतविरुद्ध लामो समयदेखि कलम चलाएका सञ्चारकर्मी समेत रहेका विनोद पहाडी भन्छन्, ‘रुकुम–रोल्पामा भन्दा राजधानी (काठमाडौँ) छुवाछूत बढी छ । यीँ सिंहदरबार छ तर त्यसकै अगाडि दलितमाथि विभेद हुन्छ । यो विडम्बना हो ।’

 क्याटेगोरीः समुदाय