यसरी गोर्खाली सेनाबाट भयो बारपाकी घले राजाको हत्या


अघिल्लो वर्षको वैशाख १२ गते आएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोर्खाको बारपाक निक्कै चर्चित छ । यो ठाउँको चर्चा इतिहासका विभिन्न प्रसंगमा पनि पाइन्छन् । यस ठाउँमा घलेहरुले राज्य गर्थे । त्यसबेला बारपाकले चाहेमा गोर्खा राज्यमा नुनको हाहाकार बनाउन सक्थ्यो । समय समयमा गोर्खा राज्यसँग बारपाकको द्वन्द्व, युद्ध र मित्रता गाँसिदै रह्यो । यसै सम्बन्धमा चार सय वर्ष पुरानो इतिहासलाई संक्षिप्त रुपमा प्रस्तुत गर्ने प्रयास यस लेखमार्फत् गरिएको छ ।

द्रव्य शाहको मृत्युपछि उनका छोरा पूर्ण शाह (कतै पुरन्दर शाह) गोर्खाका राजा भए । उनको समयमा बारपाकीसँग गोर्खाको लडाइँ चल्यो । बारपाकका हर्ताकर्ता त्यसबेला चाग्या घले थिए । उनका भाइ सुर्तान पनि दाजुसँगै सक्रिय थिए ।

बारपाकीसँग गोर्खाको लडाइँ चलेपछि चाग्या—सुर्तानले गोर्खामा नुन रोकिदिए । गोर्खामा नुनको हाहाकार भयो । त्यस समयमा लमजुङ र तनहुँले पनि गोर्खालाई दुःख दिइरहन्थे । चाग्या—सुर्तानलाई मार्न वा हराउन नसकिएपछि गोर्खाका राजा पूर्ण शाहले उनीहरुसँग मित्रता कायम गर्नुपर्ने निष्कर्ष निकाले । ‘गोर्खा र बारपाकबीच मित्रता भए अरुले केही गर्न सक्दैन’’भन्ने प्रस्ताव राजा पूर्ण शाहले चाग्या—सुर्तानलाई पठाए । गोर्खाको यस्तो प्रस्तावले चाग्या—सुर्तानको चित्त बुझ्यो । त्यसपछि उनीहरु मित्रता गाँस्न गोर्खा पुगे । त्यतिबेला तनहुँबाट गोर्खामा उपहार आएको हात्ती देखाइयो चाग्या—सुर्तानलाई । हात्ति देखाएर उनीहरुलाई भनियो,‘पहाडमा नहुने यसले नुन खान्छ ।’

बारपाकीसँग गोर्खाको लडाइँ चलेपछि चाग्या—सुर्तानले गोर्खामा नुन रोकिदिए । गोर्खामा नुनको हाहाकार भयो ।

त्यसपछि बारपाक र गोर्खाबीच मित्रता गाँसियो । चाग्या—सुर्तानले हरेक वर्ष २१ मुरी नुन गोर्खा पठाउन थाले । यसले गोर्खामा रहेको नुनको समस्या तत्काललाई टर्‍यो । साथै चाग्या—सुर्तानले भोटबाट नुन ल्याउने बाटो पनि खुलाइदिएको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को संख्या २८ मा प्रकाशित गोर्खा वंशावली (श्रावण २०३१ः ३) मा उल्लेख छ ।

यसरी राजा पूर्ण शाहको समयमा गोर्खा र बारपाकबीच मित्रता गाँसियो ।

पूर्ण शाहपछि गोर्खामा उनका छोरा छत्र शाह राजा भए । राजा भएको सात महिनापछि छत्र शाहको देहान्त भयो । कहिले उनको देहान्त भयो भन्ने विषयमा मतैक्यता छैन । इतिहासकार दिनेशराज पन्तले ‘गोर्खाको इतिहास’ पहिलो भाग (२०४१ः ७०) मा इतिहासका विभिन्न स्रोत उद्धृत गर्दै पूर्ण शाहको मृत्यु वर्ष वि.सं. १६५७, १६६२ र १६६६ लेखिएको उल्लेख गरेका छन् । प्रामाणिक सामग्री उपलब्ध नभएकाले उनको मृत्यु वर्ष कुन हो, यसै भनिहाल्न सकिने अवस्था नरहेकोले यस प्रसंगमा पन्त निष्कर्षमा पुग्न सकेका छैनन् ।

छत्र शाहपछि गोर्खाको गद्दीमा बसेका उनका भाइ राम शाहको राज्यकालका विषयमा भने इतिहासकार पन्त निष्कर्षमा पुगेका छन् । उनले ‘कैलाश’को वर्ष १, अंक १ (सन् १९७३ः ७९)मा प्रकाशित लेख ‘राम शाहको राज्यकाल– एक चर्चा’मा राम शाहको राज्यकाल वि.सं. १६७१ देखि १६९३ रहेको स्पष्ट हुन आएको उल्लेख गरे पनि यो लेखमा राजा राम शाहको राज्यकालको निश्चिते मिति भेट्टाउन अरु बढी अन्वेषणको खाँचो रहेको औंल्याएका छन् ।

त्यहाँ आएका निशस्त्र घले तथा भोटेहरु निशंक भएर मितेरी समारोह हेर्न लागे । त्यतिबेलै गोर्खालीहरुले बालुवामा लुकाएर राखिएका हतियार झिकी चाग्या–सुर्तानमाथि प्रहार गरे ।

इतिहास शिरोमणि बाबुराम आचार्यले भने ‘पूर्णिमा’को पूर्णाङ्क २७ (आश्विन २०२९ः १६२) मा राम शाहको समय वि.सं. १६६३ देखि १६९० उल्लेख गरेका छन् ।

गोर्खाका राजा राम शाहको समयमा गोर्खा र बारपाकबीच निक्कै ठूलो द्वन्द्व थियो । ‘प्राचीन नेपाल’ संख्या २८ (श्रावण २०३१ः १८–२१)मा प्रकाशित ‘गोर्खा वंशावलीको राम शाह’ प्रकरणमा यस सम्बन्धमा रोचक पारामा वर्णन गरिएको छ । यसको सारसंक्षेप यस्तो छ ः

गोर्खा र लमजुङबीच राम्रो सम्बन्ध थिएन । एकापसमा लड्न र लडाउन त्यसबेला विभिन्न दाउपेच भइरहन्थे । यसै क्रममा लमजुङ र बारपाकबीचको सल्लाहपछि चाग्या—सुर्तानले गोर्खामा जासुसी गर्न आफ्ना मानिस पठाए । त्यहाँ मानिस पठाउनुको उद्देश्य तालमेल मिलाएर राम शाहको हत्या गर्नु थियो । 

राम शाहमाथि जासुसी र आक्रमण

चाग्या—सुर्तानको आदेशअनुसार २/४ घलेहरु गोर्खा दरबारमा आए । उनीहरुले राम शाहसमक्ष बिन्ती चढाउँदै भने, ‘हामी बारपाकबाट फुटेर आएका हौँ, हाम्रा राजाले हामीलाई बिनासित्ति दुःख दिए । हजुरको न्यायनिसाफ राम्रो छ भन्ने सुनेर आएका हौँ ।’

उनीहरु गोर्खामा आई डेरा जमाएर बस्न लागे । तर राम शाहका ६ थरका भारदारले भने यी घलेहरुमाथि शंकाको नजरले हेर्न लागे । त्यसबेला गोर्खाको ६ थर भन्नाले पाँडे, पन्त, अज्र्याल, खनाल, राना र बोहरा पर्थे । उनीहरुले राजा राम शाहलाई ‘यी घलेहरु आफ्ना मुलुकबाट अन्यत्र जाने खालका होइनन्’ भन्ने बिन्ती गरे । राम शाहले उनीहरुमाथि जाँचबुझ गर्न आफ्ना मानिस खटाए ।

गोर्खाली भारदारहरुले आफूहरुमाथि शंकाले हेर्न थालेको उनीहरुले चाल पाए । उनीहरुले यस विषयमा आफ्ना राजालाई खबर पठाउँदै सोधे,‘यी गोर्खालीहरु बहुत चतुर रहेछन्, के गर्ने होला ?’

चाग्या—सुर्तानले यो खबर पाएपछि ‘त्यहाँ (गोर्खामा) नबस्न र यता (बारपाक)बाट ८०/१०० मानिस पठाएका छौं । त्यहाँ सामेल हुनका लागि कोही सिकार खेल्ने र तरुल भ्याकुर खोज्नेजस्तो भएर वनमा पस्नू । कोही माग्ने अनि कोही ब्यापारीजस्तो भएर राजाको हालखबर बुझ्दै गर्नू ।’

गोर्खा राज्य विस्तार गर्दै हिँडेका गोर्खालीहरु सुर्तानको खोजी पनि गर्दै थिए । सुर्तान बालुवाबेसीबाट भागेर बस्याहारी (बसेरी) आई घर बनाई बसिरहेको सूचना गोर्खालीहरुले पाए ।

च्याग्या–सुर्तानको यस्तो आदेश आएको लगत्तै १००/८० जना बारपाकी पनि गोर्खा आइपुगे ।

एक दिन राम शाह सिकार खेल्न बालुवाबेसी गए । उनीसँग १०/१२ जना सहयोगी थिए । यही मौकामा बारपाकबाट आएका घले गुरुङहरुले उनीमाथि धनुकाँड प्रहार गरे । राम शाहले पनि शस्त्र विद्या जानेका थिए । ढाल तरबारको प्रयोग भयो । कोही गोर्खाली गुहार माग्न गए । राम शाहको रणकुशलता र शस्त्रविद्यासामु बारपाकी झुक्न बाध्य भए । उनले ती बारपाकीसँग केरकार गर्दा आफूहरुलाई लमजुङले यस्तो गर्न उकासेको हो भन्ने जवाफ दिए । राम शाहले फेरि उनीहरुलाई भने,‘चाग्या–सुर्तानसँग हाम्रो मित्रता थियो, यो कुरा भन्छौ कि भन्दैनौँ ?’ बारपाकीहरुले आफ्ना राजालाई यो कुरा भन्ने बताए । बारपाकी राजासँग आफूहरुको पुरानो मित्रता रहेको, त्यो कायमै राख्न आदेश दिएर ती बारपाकीलाई राम शाहले छाडिदिए ।

मितेरीको बाहनामा चाग्याको हत्या

आफ्ना मानिसलाई पक्रिएर पनि नमारेकोले राम शाह धर्मात्मा रहेछन् भन्ने लाग्यो, चाग्या–सुर्तानलाई । उनीहरुले मित्रताकै मनसुवा राखी राम शाहलाई पत्र पठाए । यसबारे राम शाहले ६ थरका भारदारहरुलाई सुनाए । भारदारहरुले चाग्या–सुर्तानको फौज धेरै भएको, उनीहरु शारीरिक बलमा पनि बलियो भएकोले उनीहरुलाई हराउन कठिन हुने भएकोले छल गरी मार्नुपर्ने सुझाव राम शाहलाई दिए । यसका लागि चाग्या–सुर्तानलाई हतियार नलिई बालुवाबेसीमा मित लगाउन बोलाइयो । यता गोर्खालीहरुले भने मित लगाउने अघिल्लो दिन नै बालुवाबेसीमा गई खुँडा, खुकुरी, तरवार आदि लुकाइराखे ।

ती भारदारहरुले राम शाहजस्तै अनुहार परेका ‘चुहान’ नामका व्यक्तिलाई उपयोग गरे । उनलाई राम शाहजस्तै तुल्याएर राम शाहको दर्शन गराई बालुवाबेसी लगियो । चाग्या–सुर्तान पनि पूर्वसर्तअनुसार हातहतियार नलिई आफ्ना लस्करका साथ बालुवाबेसी आइपुगे ।

Gorkha_Nepal-post

गोर्खा दरबार

गोर्खालीहरुले आफ्नोअनुकुल ठाउँमा उनीहरुलाई राखे । दुवैतर्फ आराम कुशल विषयमा कुराकानी भए । मितेरी लगाउने काम सुरु भयो । त्यहाँ आएका निशस्त्र घले तथा भोटेहरु निशंक भएर मितेरी समारोह हेर्न लागे । त्यतिबेलै गोर्खालीहरुले बालुवामा लुकाएर राखिएका हतियार झिकी चाग्या–सुर्तानमाथि प्रहार गरे । चाग्या त्यहीँ मारिए । सुर्तान भाग्न सफल भए ।

१२/१५ जना घलेलाई पक्रियो । बाँकीलाई काटियो । पक्राउ परेका बारपाकीलाई सोधियो,‘तिम्रा राजा त मारिए, के भन्छौ ?’

बारपाकीहरुले भने, ‘हाम्रा राजा मरिगए । एउटा राजालाई हामीले मान्नै पर्छ । हाम्रा राजाका भारदार पनि हामी नै हौँ । बारपाक तिमीहरुको भयो । अरु मुलुक तिमीहरुको भएको छैन । अरु मुलुक जित्न हामीलाई पनि अघि सार ।’

यो कुरा राम शाहलाई जाहेर भयो । उनले भारदारहरुलाई आदेश दिए, ‘च्याग्यालाई मारेछौ । बारपाक हात लागेछ । बाँकी रहेका हाम्रा सेवक भए । उनीहरुलाई अघि सारेर अठारसयखोला जित्न अघि बढ ।’

त्यसपछि गोर्खालीहरु अठारसयखोला क्षेत्र जित्न अघि बढे ।

सुर्तानको हत्या

बारपाकी राजा चाग्या मारिए पनि उनको भाइ सुर्तान जीवितै थिए । गोर्खा राज्य विस्तार गर्दै हिँडेका गोर्खालीहरु सुर्तानको खोजी पनि गर्दै थिए । सुर्तान बालुवाबेसीबाट भागेर बस्याहारी (बसेरी) आई घर बनाई बसिरहेको सूचना गोर्खालीहरुले पाए । राम शाहबाट सुर्तानलाई मार्न हुकुम भयो । गोर्खालीहरु सल्यान (सल्यानटार) जित्न अघि बढेका थिए । त्यो फौज बस्याहारीतिर बढ्यो र उनीहरुले सुर्तानको पनि हत्या गरे । बसेरी र सल्यानटार दुवै अहिले धादिङ जिल्लामा पर्छ ।

हत्या भएको अनुमानित मिति

चाग्या–सुर्तानको हत्या भएको मिति खुल्न सकेको छैन । तर यसमा केही अनुमान भने गर्न सकिने अवस्था छ । गोर्खा वंशावलीमा राम शाहको कचहरीमा सम्मिलित हुँदा सिद्ध लखन थापा (प्रथम)ले चमत्कार देखाएका थिए । ‘प्राचीन नेपाल’को संख्या २८ (श्रावण २०३१ः१४)अनुसार लखन थापाको यस्तो सहभागिता र चमत्कार देखाएको केहीपछि राम शाह राज्य विस्तार अभियानमा लागेका देखिन्छन् ।

लखन थापा राम शाहको समयको अन्तिमतिर रहेको अनुमान ‘पूर्णिमा’ पूर्णाङ्क २७ (आश्विन २०२९ः १६२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका छन् । उनले राम शाहको राज्यकाल वि.सं. १६६३ देखि १६९० सम्म भनेका र दिनेशराज पन्तले वि.सं. १६७१ देखि १६९३ भएको निष्कर्ष निकालेको प्रसंग माथि परिसकेको छ । गोर्खा वंशावलीअनुसार तपस्या गर्दै, विद्या सिक्दै र कचहरीमा न्यायनिसाफ गर्दै राम शाहको अघिल्लो समय बितेको र पछिल्लो समय मात्र राज्य विस्तार अभियानमा लागेको देखिन्छ । राज्य विस्तार अभियानको प्रारम्भिक चरणमा बारपाक हात पार्ने क्रममा च्याग्या–सुर्तानको हत्या गरिएको भन्ने देखिँदा चाग्याको हत्या वि.सं. १६९० देखि १६९३ भित्र भएको हुन सक्छ । राम शाहकै आदेशमा चाग्याका भाइ सुर्तानको पनि हत्या गरिएको हुँदा चाग्याको हत्या भएको केही महिनापछि नै सुर्तान हत्या भएको थियो ।

यस्तै राम शाहभन्दा अघि उनका दाजु छत्र शाह र त्यसअघि उनका बाबु पूर्ण शाहले शासन गरेका थिए । पूर्ण शाहको समयमै गोर्खासँग द्वन्द्व गर्दै नुन रोक्ने र पछि गोर्खासँग मित्रता गाँसी नुन पठाउने तथा नुनका लागि गोर्खाको बाटो खुलाउने काम पनि चाग्या–सुर्तानले गरेका देखिँदा हत्या भएको समयमा यी दुई दाजुभाइको उमेर केही प्रौढावस्थामा पुगिसकेको थियो भन्ने अनुमान पनि गर्न सकिन्छ ।

फिचर तस्बिर : २०७२ सालको भूकम्पको केन्द्र बनेको बारपाक क्षेत्र र इन्सेटमा गोरखाका राजा राम शाह

 क्याटेगोरीः इतिहास