बाचुन्जेल गाली, मरेपछि ताली : खपांगीलाई दिल्लीको अस्पतालबाट पत्र


गोरेबहादुर खपांगीको स्मरणमा :

सदीयौँदेखि जातीय विभेद र उत्पीडनमा पारिएका नेपालका आदिवासी जनजातिहरूलाई

जातीय अधिकारको कखरा सिकाउने गुरू तपाईं नै हो ।


प्रिय मित्र गोरेबहादुर खपांगीजी,

तपाईंको असामयिक निधनले देश विदेशमा भएका आदिवासी जनजातिका संघ/संस्था र व्यक्ति व्यक्तित्व शोकाकुल भएका छन् । तपाईंको सम्झनामा तपाईंको रंगीचंगी फोटा र तपाईंप्रति अभिव्यक्त गरिएका श्रद्धा सुमन र आदर सम्मानले दुई दिनसम्मको फेसबुक भरिएको छ । कसैले तपाईंलाई जनजातिका शिखर पुरूषको संज्ञा दिएका छन् भने कसैले जनजातिका धरोहर । यस्तो आदर, सम्मान प्रशस्ति पढन पाउँदा लाग्छ तपाईं सॉच्चै नै जनजातिका महान र प्यारा नेता हुनु हुँदो रहेछ । यसको लागि म सम्बन्धित सबैलाई धन्यबाद दिन चाहन्छु । तपाईंको अन्त्येष्टि पनि ससम्मान भयो र अन्त्येष्टिमा धेरै जना उपस्थित भए । कमसेकम मरेपछि भए पनि तपाईंलाई सबैले सम्झे।

बाचुन्जेल गाली, मरेपछि ताली भनेझैँ बाचिन्जेल तपाईंले सबैबाट साँच्चै यस्तै मानसम्मान पाइरहेको भए शायद तपाईं अझ धेरै बाँच्नु हुन्थ्यो कि ?

बाचुन्जेल गाली, मरेपछि ताली भनेझैँ बाचिन्जेल तपाईंले सबैबाट साँच्चै यस्तै मानसम्मान पाइरहेको भए शायद तपाईं अझ धेरै बाँच्नु हुन्थ्यो कि ? तर बाचुन्जेल तपाईंले यति धेरै सम्मान पाउनु भएजस्तो त लाग्दैन । बाचुन्जेल तपाईंले न कुनै जनजाति संघ/संस्थाबाट, न तपाईंको आफ्नो जातीय संस्थाबाट, न आफ्नै पार्टीबाट न त आफ्ना साथीहरूबाट नै यति धेरै मान सम्मान र माया प्रेम पाएजस्तो यसो हुनुको आंशिक कारण त अवश्य छ ।

तपाईंको दशै बहिष्कार अभियानले तपाईंलाई चर्चाको शिखरमा पुर्‍यायो तर २०५९ सालमा राजा ज्ञानेन्द्रले देशको शासनसत्ता प्रत्य़क्ष रुपमा आफ्नो हातमा लिएपछि त्यसलाई तपाईंले स्वागत गरेकाले र ज्ञानेन्द्रका मन्त्री भएर राजाको हातबाट दशैं बहिस्कारवादी व्यक्ति तपाईंले दशैं टीका लगाएपछि तपाईं जनजातिको नजरमा सबैभन्दा विवादित व्यक्तिको रूपमा चित्रित मात्र हुनुभएन, तपाईं जनजाति आन्दोलनबाट समेत ओझेलमा पर्नुभयो । त्यसपछि तपाईं जनजातिका बीचमा प्रिय पात्रको रूपमा नभएर धोखेबाज र आलोचित पात्रको रूपमा र कतिपय ठाउँ र सन्दर्भमा त जनजाति खलनायककै रूपमा समेत चित्रित हुन थाल्नुभयो ।Gore_Bahadur_Khapangi_Magar-1

त्यसपछिको समयमा तपाईंलाई हेर्ने दृष्टिकोण सबैको पूर्वाग्रही बनिसकेकोले तपाईंले जनजाति आन्दोलनमा पुर्‍याएको योगदानको कसैले सही मूल्यांकन गर्न सकेनन् । त्यसैले जनजाति आन्दोलनमा तपाईंले पुर्‍याएको योगदानको अवमूल्यन भएको छ भन्ने मलाई लागेको छ । तपाईं मोटरसाइकल दुर्घटनामा परेर ३ वर्षभन्दा बढी समय मृत्युशैय्यामा काठको मूढो सरह लडीरहँदा समेत तपाईंको जीवन रक्षाका लागि विदेशमा बस्ने आदिवासी जनजाति मगर दाजुभाइ र दिदीबहिनी र स्वदेशकै केही दाजुभाइ र शुभचिन्तकले बाहेक हामी जनजाति अगुवाहरू र जनजाति संघ/संस्थाहरूले तपाईंको लागि खासै केही गर्न सकेनौँ र हामी त्यतातिर त्यति संवेदनशील पनि भएनौँ जति अहिले हामी तपाईं मरेपछि भएका छौ भन्ने मलाई लाग्छ ।

तपाईंको आफ्नै पार्टीले पनि तपाईंको जीवनकालमा तपाईंप्रति चासो र चिन्ताका साथ खासै ध्यान पुर्‍याएजस्तो लागेन । तर अहिले तपाईं बितिसकेपछि अहिले तपाईंलाई सम्झेर आलापविलाप गर्ने हामी धेरै भएका छौँ । यो पनि हामी जनजातिको एउटा राम्रो गुण त अवश्य होला किनकी हामी कसैप्रति पनि नराम्रो देखिन चाहन्नौँ । तर यो त वास्तवमा बहुत स्वार्थी र अवसरवादी प्रवृत्ति हो । हामीले यस्तो प्रवृत्ति कहॉबाट सिक्यौँ हौला ? हाम्रा पुर्खाबाट ? यस्तो प्रवृत्तिलाई हामीले त्याग्नु पर्दछ र चिजलाई निरपेक्ष ढंगबाट होइन सापेक्ष ढंगबाट गुण र दोषको आधारमा बडो गंभीर, संवेदनशील र क्रिटिकल भएर मूल्यांकन गर्नु पर्दछ । तर त्यस्तो पद्धतिको विकास हाम्रो समाजमा भइसकेको छैन ।

त्यसपछि तपाईं जनजातिका बीचमा प्रिय पात्रको रूपमा नभएर धोखेबाज र आलोचित पात्रको रूपमा र कतिपय ठाउँ र सन्दर्भमा त जनजाति खलनायककै रूपमा समेत चित्रित हुन थाल्नुभयो ।

प्रिय गोरेजी,

तपाईं मेरो पुरानो साथी हुनुहुन्छ। सबैभन्दा पहिला तपाईं र मेरो भेटघाट र चिनजान २०३२ सालमा म त्रिवि कीर्तिपुरमा एमए इतिहासको विद्यार्थी र तपाईं सेवाकालीन शिक्षकको रूपमा बिएड पढ्न काठमाडौँ आउँदा भएको थियो । त्यतिबेला मजस्तै तपाईं पनि कम्युनिष्ट विचारधाराप्रति प्रतिबद्ध व्यक्ति भएकोले हाम्रो बीचमा छलफल हुँदा हामी दुवैले वर्गीय उत्पीडनबाट उन्मुक्ति पाउने कुरालाई नै प्रधान मान्थ्यौँ भने जातीय उत्पीडनको मुक्तिलाई गौण । पछि नेपाली समाजको अध्ययन गरेपछि नेपालको विशिष्ट सामाजिक परिवेशमा वर्गीय उन्मुक्तिले मात्र नेपाली समाजको उन्मुक्ति पूर्ण हुँदैन भन्ने विश्लेषण गरी म जातीय उन्मुक्तिलाई पनि वर्गीय आन्दोलनसँग सँगसँगै लैजानु पर्छ भन्ने अभियानमा लागेँ ।

तर जातीय कुरालाई अलिकति पनि पचाउन नसक्ने संकीर्ण बाहुनवादी एमालेबाट खानु हण्डर खाएपछि तपाईंले कम्युनिष्ट विचारधारालाई त्यागेर तपाईं विशुध्द जातीय राजनीतितिर लाग्नुभयो र २०४६ सालको पहिलो जनआन्दोलनपछि एमएस थापालगायतसंग मिलेर राष्ट्रिय जनमुक्ति पार्टी खोल्नुभयो । पार्टी खोल्ने बेलामा तपाईंले सल्लाह सुझावका लागि मलाई पनि निम्तो दिनुभएको थियो। त्यतिबेला मैले राजनीतिक पार्टी भावना र चाहनाको आधारमा चल्न सक्तैन, विशुध्द मुद्दाको आधारमा मात्र पनि चल्दैन । पार्टी त स्पष्ट र सही विचार, सिध्दान्त, दर्शन र राजनीतिको आधारमा मात्र चल्न सक्छ । त्यसैले तपाईंको पार्टीको पनि स्पष्ट विचार, सिध्दान्त, दर्शन र राजनीति हुनुपर्दछ भन्ने सल्लाह दिएको थिएँ । तर अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा पनि डराउँछ रे भनेझैँ एमालेबाट त्रसित तपाईंले मेरो कुरो त्यति ग्रहण गर्नुभएन । सही विचार, सिध्दान्त र राजनीतिको अभावमा तपाईं र तपाईंको पार्टी कहिले राजावादी र कहिले गणतन्त्रवादी, कहिले संसदवादी त कहिले संघीयतावादी बनेर पेण्डुलम हुन पुग्यो ।

जनजातिका लोप भइसकेका भाषा, धर्म, संस्कृतिको विकास, संरक्षण र संवर्धन गर्नका लागि सुरू सुरूमा गाउँगाउँसम्म अभियान चलाउने अभियन्ताको रूपमा पनि म तपाईंको स्मरण गर्न चाहन्छु ।

तपाईंको त्यस्तो राजापरस्त नीतिका कारण राजनीतिमा तपाईं र म कहिल्यै एक ठाउँमा हुन सकेनौँ । तर पनि हामी जनजाति सवालमा हामी सदा सर्बदा एकै ठाउँमा रह्यौँ । आन्दोलनको रणनीतिबारे हामीबीच फरक-फरक धारणा थिए तर हामीले उठाएका जातीय मुद्दा समान भएका कारण ती मुद्दाले हामीलगायत हामीजस्तै धेरैलाई एक ठाउँमा बस्न कर लाग्यो । हाम्रो राजनीतिक आस्था फरक भए पनि जनजातिका सवालमा तपाईंको योगदानलाई मैले जहॉपनि र जहिले पनि उच्च कदरका साथ मूल्यांकन गर्दै आएको छु ।

सदीयौँदेखि जातीय विभेद र उत्पीडनमा पारिएका नेपालका आदिवासी जनजातिहरूलाई जातीय अधिकारको कखरा सिकाउने गुरू तपाईं नै हो । जनजातिका लोप भइसकेका भाषा, धर्म, संस्कृतिको विकास, संरक्षण र संवर्धन गर्नका लागि सुरू सुरूमा गाउँगाउँसम्म अभियान चलाउने अभियन्ताको रूपमा पनि म तपाईंको स्मरण गर्न चाहन्छु । नेपालका आदिवासी जनजातिहरूमा अहिले जुन सामाजिक/सांस्कृतिक चेतनाको लहर आएको छ, त्यसको श्रेय पनि म तपाईंलाई दिन चाहन्छु । जनजाति सवालमा तपाईं साँच्चै एउटा शिखर पुरूष नै हो । त्यस्तो पुरूषलाई आज हामीले गुमाउनु पर्दा दु:ख लाग्नु स्वाभाविकै हो ।

तपाईं मोटरसाइकल दुर्घटनामा परी मृततुल्य हुँदा तपाईंलाई बचाउनका लागि केही न केही गर्नै पर्छ भनी म पनि लागिपरेँ, तर अपशोच हिँड्दा हिँड्दै म आफै मृगौला रोगले थलो परी साथीभाइ इष्टमित्र शुभचिन्तकहरूको अपार माया ममता र ठूलो सहयोगले मैले नयाँ जीवन प्राप्त गरेँ । र अहिले पनि यो नयाँ जीवनलाई पहिलेकै स्पिरिटमा जनजाति आन्दोलनमै समर्पण गर्ने अवसर पाएको छु ।

त्यतिबेला कम्युनिष्ट विचारधाराप्रति प्रतिबद्ध व्यक्ति भएकोले हाम्रो बीचमा छलफल हुँदा हामी वर्गीय उत्पीडनबाट उन्मुक्ति पाउने कुरालाई नै प्रधान मान्थ्यौँ भने जातीय उत्पीडनको मुक्तिलाई गौण ।

प्रिय मित्र खपांगीजी,

जीवनले मलाई पनि अलि गद्धारी नै गर्ने प्रयास गर्दै छ । र मैले त्यसलाई केही जस्तो मानेको छैन । मृगौला प्रत्यारोपण गरेको ३ वर्ष नपुग्दै पुन: मलाई एक्कासी दाहिने साप्रामा ठूलै टयूमर पलाएछ र हाल म १ महिनादेखि त्यसैको अपरेसन गरी दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत छु। त्यसैले तपाईंलाई अन्तिम विदाइ गर्न पनि म आउन सकिनँ त्यसको लागि क्षमा गर्नु होला । तपाईंलाई अन्तिम विदाइ गर्न आउन नपाएकोमा म आफै अत्यन्त दु:खित छु । हाल मेरो स्वास्थ्यस्थितिमा क्रमिक रूपले सुधार हुँदै गएको छ । यही क्रममा सुधार हुँदै गएमा म छिटै नेपाल फर्कन्छु र पुन: जनजातिकै लागि समर्पित हुन्छु ।

अहिले नेपालमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकारले जनजाति र मधेसीका सबै माग पूरा गरी दिन्छौँ भनी आश्वासन दिइरहेका छन् र हाम्रा जनजातिहरू त्यसैमा आशावान पनि देखिन्छन । तर उनीहरूको पटक पटकको आश्वासन झूठा साबित भइसकेका छन । त्यसैले यस पटकको आश्वासन पनि त्यस्तो नहोला भन्न सकिन्न । म भौतिक रूपमा यहॉ भए पनि मानसिक रूपमा म सधैँ नेपालमै हुन्छु । झूठको खेती गर्न सिपालु यो म्यादी सरकारले जनजातिका माग पूरा गर्छ भन्ने त मलाई पटक्कै विश्वास छैन । तापनि मैले शंकाको फाइदा हाललाई उनीहरूलाई नै दिएको छु । उनीहरूबाट भएन भने अन्तत: जनजातिका अधिकार खोसेरै लिनुपर्दछ भन्ने अठोटका साथ उच्च मनोबल र दृढ इच्छाशक्तिसहित अगाडी बढ्न म प्रतिबद्ध छु । तपाईंलाई मेरो यो प्रतिबद्धताले थोरै भए पनि शान्ति मिल्ने छ भन्ने आशासहित अलबिदा मित्र गोरेजी ।

फिचर तस्बिर : नन्दबहादुर घर्ती

 क्याटेगोरीः समुदाय