प्रकृति पूजक तिब्बतका वोन्पो र किरातहरूमा के सम्बन्ध छ ?


किरातलगायत जनजातिबारे अनुसन्धाताहरूको ध्यानाकर्षणका लागि 


१। वोन धर्म

यो तिब्बत प्रदेशका जनजातिहरूको परम्परागत रैथाने धर्म हो । यसलाई सन् ७ औँ शताब्दीमा बुद्ध धर्मले आफूमा मिसाएर ‘टिबेटन बुद्धिज्म’भन्ने नयाँ शाखा-धर्मको जन्मायो भनिन्छ । ‘वोन धर्मले बुद्ध धर्मलाई प्रभावित गर्योा’ भन्ने र ‘बुद्ध धर्मले वोन धर्मलाई आफूमा समाहित गर्योो’ भन्ने दुबै मत सुनिन्छ । वोन धर्मलाई तिब्बती भाषामा ‘व्योन'( ‘O’ Rounded vowel) भनी उच्चारण गरिन्छ र यसलाई ‘वोनवाद’पनि भन्छन् । यो धर्म पालना गर्नेलाई ‘वोन्पो’ या ‘वोन-पो’ भनिन्छ ।

केही तथ्यः (१) स्थापना मिति : वोनपोहरूको किंवदन्तीअनुसार यो १६००० वर्ष इसापूर्व (BC) ‘युङद्रुङ वोन’ले सुरु स्थापित गरेका हुन् जसलाई १४ औँ शताब्दी (AD) मा नयाँ रुप दिइयो । (२) मुलुकः यो तिब्बतमै उत्पति र स्थापित धर्म हो । (३) संस्थापकः भनिन्छ क) यो कसैले स्थापना गरेको होइन । जनताले नै विकास गरेको रैथाने धर्म हो; ख) ‘युङद्रुङ वोन’ अर्थात ‘तोन्पा शेनरब मिवोचे’ नामक गुरुले स्थापना गरेको हो’ भन्ने दुईमत सुनिन्छ । (४) वोन मार्गीः तिब्बतमा १ लाख जति यस धर्मका अनुयायी होलान् भनेर अन्दाज गरिन्छ ।

२। इतिहास

वोन धर्मका ‘अनुसन्धाता’ र वोन ‘धर्मावलम्बी’ दुबै पक्षले ‘मौलिक’र ‘आधुनिक वोन धर्म’ भनेर स्वीकार गरेका छन् । ‘मौलिक वोन धर्म’ भन्नाले तिब्बतका आदिवासी जनजाति समाजमा आदिकालदेखि प्रचलनमा रहेको परम्परागत वोन धर्मलाई बुझिन्छ । जुन ‘प्रकृति पूजक (Animistic) आत्मवादी’ रहेको छ । अर्थात, प्राकृतिक (Natural forces and ancestors) शक्ति (घाम, पानी, माटो, हावा, आगो, घरको मूल थाम, भूतप्रेत र पितृ) सबैमा आत्मा छ भनी विश्वास गर्ने र ढोग-आदर-पूजा गर्ने, धामी-झाँक्री-जोखना हेर्नेहरूको (Shamanistic) विशेष कार्य संपादन र अगुवाइमा आध्यात्मिक (Spiritual) व्यवस्थापन विधि अपनाउने तर कुनै आकारयुक्त देवी-देउताको पूजा गर्ने चलन नभएको समाज नै वोन्पो समाज हो ।

‘वोन’ भन्ने शव्द संभवतया पूजा-कर्मकाण्ड गर्दा ‘धामी-झाँक्री’ले ‘फलाक्ने’ वा ‘फतुर्ने’ वा ‘प्रार्थना’ भन्ने अर्थबाट सृजना भएर रहेको हुन सक्छ भनिन्छ । मौलिक वोन धर्मको रुप कस्तो थियो भनेर ठोकेरै भन्न सकिन्न । किनभने अहिले उपलब्ध लिखित रुपमा पाइने जति पनि पुराना कागजात-अभिलेखमा बुद्ध धर्मका आधारमा व्याख्या गरेको कुरा जताततै मिसाइएको र अन्तरघुलित भएर छुट्याउनै मुस्किल देखिन्छ । यसको राजनीतिक कारण छ । ७औँ शताब्दीमा बुद्ध धर्मावलम्बीहरूले तिब्बतमा शासन गर्न सुरु गरेपछि वोन धर्मलाई पेलेर, दबाएर नष्ट पार्न राज्यस्तरबाटै सक्दो प्रयास गरियो । जतिसुकै दमन गरे पनि वोन धर्म तिब्बतबाट मासिएन बरू झन संगठित भएर आयो । दुःखको कुरा, सारा प्राणीको निम्ति शान्तिको कुरा गर्ने ‘बुद्ध’मार्गी तिब्बती शासकहरूले ११औँ शताब्दीमा फेरि वोन धर्मलाई चरम दमन गरे । यसैबेला वोन धर्मलाई सखाप पार्ने उद्देश्यले ‘वोन धर्म’का धेरै तत्व बुद्ध धर्ममा मिसाइयो र नयाँ रुप दिइयो जसलाई अचेल ‘टिबेटन बुद्धिज्म’ भनिन्छ । bon-1

वोन धर्मावलम्बी गुरुहरू अध्यापि वोन धर्मको दोस्रो चरणको कुरा गर्दा ‘युङद्रुङ वोन’को प्रसंग ल्याएर उनैले स्थापित गरेको धर्म नै ‘वोन धर्म’ भन्छन् तर बुद्धिष्टहरू यो कुरो ‘होइन’ भनेर सिधै नकार्दछन् । वोन धर्मका गुरुहरुका अनुसार १८००० वर्षअघि दोस्रो चरणमा बुद्धजस्तै ‘शेनराव मिवोचे’ नामक एक अचम्मका गुरु तिब्बत नजिकै झाङझुङ भन्ने ठाउँमा थिए जसले वोन धर्मको स्थापना गरेका हुन् । किम्बदन्तीअनुसार मिवोचे पनि लुम्बिनीका सिद्धार्थजस्तै राजकुमार थिए जसले राजदरबार त्यागे र भिक्षु बने । अध्ययन-ध्यान-तपस्या गरे र निर्वाण प्राप्त गरे । त्यसपछि निर्वाण प्राप्त गर्न सकिने उपायबारे अरुलाई प्रवचन दिन थाले । उनैले मौलिक वोन धर्मलाई ‘युङद्रुङ (आत्मिक) वोन’मा विकसित गरिदिए । यसअनुसार बुद्ध धर्मभन्दा अघि पनि वोन धर्मलाई नयाँ रुपमा सुधार गरिएको रहेछ भन्ने बुझिन्छ । कतिपय अनुसन्धाताले टिबेटन बुद्ध धर्मको स्वरुपको विकासमा ‘वोन धर्ममा लाओ-त्ज्यु’ र शेनरावको समेत योगदानको कुरा जोडेर ‘वोन धर्म ताओवादबाट आएको’ पनि भन्छन् । आधुनिक अनुसन्धाताहरूले त शैव (सनातनी) धर्म कास्मीरतिरबाट तिब्बत छिरेर वोन धर्मको विकासमा योगदान गरेको भनेर दाबी गरेको समेत पाइन्छ ।

कालान्तरमा अहिले आएर ‘नयाँ वोन धर्म’ र टिबेटन बुद्ध धर्म (वोन र बुद्ध धर्म मिस्सिएको) एउटै भइसकेको देखिन्छ । यसको कारण १४औँ शताब्दीमा आएर वोन धर्मगुरुहरूले टिबेटन बुद्ध धर्मको पद्मसंभवलाई अंगीकार गर्नुले नै हो भनिन्छ । त्यसो त नयाँ वोन धर्म पनि युङद्रुङ वोन धर्मभन्दा धेरै भिन्न देखिन्छ । नयाँ वोन धर्म मान्नेहरू वोन धर्मकै विभिन्न चरणगत स्वरुपको निरन्तरता चलिरहेको मान्छन् । अक्सफोर्डको ‘डिक्शनेरी अफ वर्ल्ड रिलिजन्स’अनुसार ‘प्राचीन वोन धर्म र आधुनिक वोन धर्मबीच नगण्य समानता र संबन्ध रहेको’ छ ।

धेरैले टिबेटन बुद्ध धर्मले वोन धर्म मिसाएपछि नयाँ आकार ग्रहण गरेको हो भन्ने गर्छन् । तर ‘डिक्शनेरी अफ वर्ल्ड रिलिजन्स’का अनुसार त्यो सही होइन । बरू वोन धर्मलाई भारतबाट टिबेट पुगेको महायान बुद्ध धर्मले ठूलो प्रभाव पारेको देखिन्छ भन्ने अर्को मत पनि छ । वोन धर्म मान्ने हालका दलाई लामा पनि यो कुरालाई स्वीकार्छन् । अहिले वोन धर्म पश्चिम तिब्बतको सानो ठाउँमा र दलाई लामासँगै भारतमा बसिरहेकाले मात्र मानेको देखिन्छ । यस धर्मका हालका गुरु लुङतोक तेनपि ङीमा हुन् ।

चिनियाँ जनगणनाअनुसार तिब्बतमा १०% (करीब १ लाख) ले वोन धर्म अहिले पनि मानिरहेका छन् । कम्युनिष्ट पार्टीले तिब्बतलाई लिँदासम्म तिब्बत र पश्चिम चीनमा गरेर करिब ३०० वोन धर्मावलम्बी गुम्बाहरू क्रियाशील थिए भने अहिले २६४ गुम्बा, आनीहरू बस्ने स्थल र आश्रम मात्र क्रियाशील रहेका छन् ।

३। वोन धर्मका आस्था-विश्वासहरू  bon-3

मौलिक वोन धर्मअनुसार – प्रकृतिका ‘आकाश, घाम, जून, विजुली चम्केको, चट्याङ, पशु-पक्षी, विरुवा-बनस्पती आदि सबैमा आत्मा हुन्छ र तिनको पूजा गर्नु पर्छ’ भनी विश्वास गरिन्छ । सुरुसुरुमा र परम्परागत रुपमा वोन धर्मले विरामी हुँदा वा केही नराम्रो घटना हुँदा वा केही शुभकार्य थाल्दा जोखाना हेर्ने, लयात्मक किसिमले मन्त्र फतुरेर कुनै प्रताडित (Victim) व्यक्तिको रक्षाको निम्ति देउतालाई फकाउने-मनाउने; लयात्मक मन्त्रोच्चारण गर्दै वा कुनै बेला हकार्दै र रिसाएको हावभाव गर्दै झारफुक समेत गरेर खराब आत्मा वा भूत-प्रेतलाई प्रताडित व्यक्तिको शरीरबाट या छायाँबाट भगाएर विरामी निको पार्ने उद्देश्यले मन्साउने-धपाउने, देवी-देउता वा भूतप्रेतलाई अंश दिएर फकाउन बलि (रगत) समेत चढाएर दुःख नदिन अनुरोध गर्ने-मन्साउने, अलौकिक शक्ति शरीरमा चढाएर जादु-टुना गरी (मानसिक ?) उपचार गर्ने आदि गरेको पाइन्छ र पछि आएर धेरै कुरा बुद्ध धर्मका संहितालाई नै अपनाएको देखिन्छ ।

अहिले आएर वोन धर्म ३ फरक फरक ‘मत’मा विभक्त रहेको छ – १) ब्रिडोल मतीय वोन जसले जादु-टुना गर्ने काम गर्छन्; २) भिख्यर मतीय वोन जसमा तीन तान्त्रिकले नयाँ सिद्धान्त निकाल्न खोजे तर यिनले पनि जादु-टुनालाई नै अन्तमा अपनाए; र, ३) बिस्ग्युर मतीय वोन जुन वोन र बुद्ध धर्मबीच वैचारिक संघर्ष चल्दा जन्मेको ‘मत’ हो यसको सोझो अर्थ (वोन धर्मलाई बचाउन) ‘अनुवाद’ वा ‘व्याख्याता’को काम गर्दै आयो ।

अहिले आएर पनि धेरै तिब्बती आफूलाई ‘वोन धर्मावलम्बी नै हुँ’ भनेर आफ्नो पहिचान दिन्छन् । अझै पनि आत्मालाई नियन्त्रण गर्ने भनेर तिब्बतका पर्वतमा विशेष झण्डा फहराइन्छन् । ती वोन धर्मका निशानी चिन्ह नै हुन् जुन बुद्ध धर्मसँग भिन्न छन् । अचेल धेरै मन्त्र बुद्ध धर्मबाट लिएर वाचन गरिन्छ । यसरी एक किसिमले वोन र बुद्ध धर्म सह-अस्तित्वमा बाँचेका छन् भन्ने एकथरीको मत छ ।

मौलिक वोन धर्ममा निहित विश्वासका तत्व केलाउँदा ‘कुनै दैवी शक्तिमा विश्वास गर्ने गरिन्छ । ब्रह्माण्ड-संसार र जीवजन्तुको रचना ‘असल’ र ‘खराब’ दुई शक्तिबाट भएको भनी विश्वास गरिन्छ । तर, आधुनिक वोन धर्ममा धेरै बुद्ध धर्मका कुरा पसिसकेका छन् जुन ‘निश्वरवादी (Non-theistic)’ मतमा आधारित छन् ।

वोन कर्मकाण्डमा अहिले पनि पूजा गर्दा दैवी शक्तिको प्रतीक (मूर्ति ?) थपना गरिन्छ । शान्त तथा रिसाहा देवी-देउतालाई ध्यानमा बसेर टिबेटन बुद्ध धर्मअनुसार सम्झना गरिन्छ । वोन धर्मले शान्त र रिसाहा देवी-देउताबाहेक ‘ज्ञानी वा दीक्षित (enlightened)’ र ‘सांसारिक (of this world)’ वा ‘पूर्ण दीक्षित नभईसकेका’ देवि-देउता समेत छुट्याएर हेर्दछ । शान्तिपूर्ण देवी-देउताको हकमा ४ अलौकिक परमेश्वर छन् । ती हुन्– १) ‘युम’ अर्थात ‘आमा’; २) ‘ल्हा’ अर्थात देवता; ३) ‘सिपा’ अर्थात सृष्टिकर्ता वा पिता; ४) ‘त्योन्पा’ अर्थात शिक्षक वा गुरु ।

वोन धर्मका कर्मकाण्ड मुख्यतया ‘रिसाहा-संहारक’या ‘पालक-पोषक’ देवी-देउता (यीदाम)मा केन्द्रित रहेर कार्य सम्पादन गरिन्छ । यी देवी-देउतालाई बडो भयानक रुपवाला भनेर वर्णन गरिएका छन् जसका सहस्र हात-खुट्टा जडित भएका, डरलाग्दा अनेक हातहतियार हातमा लिएका हुन्छन् र आफ्ना दुश्मनलाई खुट्टाले टेकेर निसहाय अवस्थामा राखेको देखाइन्छ । टिबेटन बुद्ध धर्म अनुसार ‘ध्यान’ गर्नु भनेको १) रिसाहा देवी-देउतामध्ये कसको नियत कस्तो छ सो बुझ्न; २) सत्य कुरा पत्ता लगाउन; र ३) निर्वाण प्राप्त गर्ने बाटोमा लाग्नका लागि हो ।

वोन धर्मले बुद्ध धर्मको निङमापामा ९ ‘यान’ (Ways of vehicles) हुन्छन् जसले ध्यानमा निपूणता हासिल गर्न सघाउँछन् । ती हुन् – १) भविष्यवाणी गर्नु अर्थात ज्योतिषको बाटो; २) देखिने संसार अर्थात मनोभौतिक ब्रह्माण्डको बाटो; ३) भ्रम निवारण अर्थात नकारात्मक शक्तिलाई धपाउने-मन्साउने बाटो; ४) अस्तित्व अर्थात मृत्यु र अन्त्येष्टिको बाटो; ५) समर्थक (चेला) बनाउनु अर्थात दश सिद्धान्तका गतिविधि गर्नु; ६) भिक्षु हुनु अर्थात गुम्बाको संहिताअनुसार चल्नु; ७) आदि-अन्त्यको ध्वनि अर्थात निर्वाणको बाटोमा लाग्नु; ८) आदि-अन्त्यको शेन अर्थात सही तान्त्रिक गुरु तथा अध्यात्ममा लागेर तान्त्रिक गुरुको चेला हुने बाटो समाउनु; ९) सर्वोच्च सिद्धान्त अर्थात महान परिपूर्णताको बाटोमा जानु ।

४। दैनिक कर्मकाण्ड

वोन धर्मावलम्बीले पनि अचेल टिबेटन बुद्ध धर्मका दैनिक कार्मकाण्ड सन्चालन गरेको पाइन्छ । जस्तैः थाङ्का र मण्डलाको प्रयोग गर्ने, अनेक देवी-देउतालाई सम्झेर ध्यान गरेर निर्वाण प्राप्तिको काममा नित्य लाग्ने, गुम्बाकै कडा संहिता पालन गर्दै गुम्बाकै जीवन यापन गर्ने र मौलिक वोन धर्मबाट आएका ज्योतिषशास्त्र र जडिबुटीले उपचार गर्ने कामलाई निरन्तर कायम राख्ने ।

bon-3 bon-dolpo

डोल्पोमा रहेको वोन गुम्बा : http://exploredolpotrekking.com/

नेपालमा वोन धर्म – भनिन्छ बुद्धिष्ट शासकहरूको दमन खप्न नसकेर वोनपोहरू हाल नेपालको माथिल्लो डोल्पातिर आफ्नो अस्तित्व जोगाउन भनी बसाइँ सरेर आएका हुन् । नेपालको डोल्पा क्षेत्रमा वोन धर्मका गुम्बा अहिले पनि आफ्नो परम्परा कायम राखेर सक्रिय रहेका छन् । जस्तैः मुस्ताङको क्लु ब्राग गुम्बा; डोल्पा जिल्लाका ग्युङ द्रुङ शुङ ट्शाल गुम्बा; डर रिग्यास टशोग्स ग्लीङ गुम्बा; याङ ड्गोङ गुम्बा; ब्साम ग्लीङ गुम्बा; म्था श्रुङ गुम्बा; स्पुङ मो र स्पु मेर्र मन्दिर; ग्युङ द्रुङ ट्रे स्टन ग्लीङ गुम्बा; श्रीड रग्याल गुम्बा आदि । रुकुमका वोन गुम्बामा ढोरपाटन गुम्बा; मोन री जुर गसुम मन्दिर आदि । काठमाण्डुमा ख्री ब्रतान नोर बु रट्चे गुम्बा; ट्रिटेन नोर्बुचे गुम्बा आदि । यीमध्ये ट्रिटेन नोर्बुचे गुम्बा बोन्पो प्रशिक्षण केन्द्रको रुपमै सन्चालित रहेको छ ।

सांकेतिक (Hypothetical) टिप्पणी

१। नेपालमा किरातलगायतका जनजातिहरू टिबेटो-बर्मन र सिनो-टिबेटन भाषा बोल्ने गरेकोबाट यी जनजातिहरूको सम्बन्ध तिब्बत र चीनका भाषासँग रहेको बुझ्न सकिन्छ । भाषा परिवार एउटै हुनु भनेको इतिहासमा एउटै जाति वा स्थानवासी भएको प्रमाण पनि हो । तसर्थ, नेपालका किराती संस्कृति (प्रकृति पूजक) र धर्म वोन धर्मबाटै विकसित भएको हुन सक्छ भन्ने हाईपोथेसिस राखेर विस्तृत खोजतलास गर्न सके किरात र वोन्पोहरूको जेनेटिक, सांस्कृतिक वा धार्मिक सम्बन्ध छ कि छैन भनेर छुट्टिने थियो ।

२। किरातलगायतका नेपाली जनजातिहरूको संस्कार-संस्कृतिमा निहित कर्मकाण्डीय सामाजिक संहितामा तिब्बतको वोन धर्मावलम्बीहरूका संस्कार-संस्कृतिसँग समानता देखिन्छ । जस्तैः झारफुक गरेर (Shamanistic) रोगीको उपचार गर्ने परम्परा; प्राकृतिक शक्तिलाई पूजा गर्ने (Animistic) परम्परा; कुनै पनि सामाजिक सवाल समाजकै गन्यमान्य व्यक्तिहरूले समाजमै छलफल गरेर फैसला गर्ने न्याय परम्परा; आकाररहित देवी-देउताको पूजा गर्ने परम्परा; भूत-प्रेत-आँखी-डाही (Evil spirits) लागे त्यसलाई मन्साएर (Psychological treatment) व्यवस्थापन गर्ने परम्परा आदि । यसले पनि वोन्पो र किरातीहरूमा कुनै न कुनै सम्बन्ध छ भन्ने कुरा इङगित गर्छ जसमा विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ । त्यसो त संसारभरि हरेक ८ जनामा १ जना मानिसले चंगेज खानको डीएनए बोकेको पनि भनिन्छ । यसले भारत, पाकिस्तानका ‘खान’हरू पनि पछि आएर मुस्लिम भएका हुन् खासमा चंगेज खानका डीएनए हुन भनेर संकेत गर्दछ । ‘भारतका धेरै मुसलमानको डीएनए भारतकै ‘ब्राह्मण’ हरूको डीएनएसँग मिल्छ । यिनीहरू धेरैपछि धर्म परिवर्तन गराइएका ‘ब्राह्मण’ र तिनैका सन्तान नै हुन्’ भनेर डा. स्वामी सुब्रमन्यनले भनिरहेका छन् ।

‘डेस्क स्टडी’को आधारमा यो छोटो लेख तैयार गर्नुको उद्देश्य हो, तिब्बतको मौलिक वोन धर्म, आधुनिक वोन धर्म, टिबेटन बुद्ध धर्म र नेपालका हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गर्ने ‘टिबेटोबर्मन’ जनजातिहरूको ‘जनेटिक्स’, ‘भाषागत’, ‘संस्कृतिगत’ तथा ‘धार्मिक’ सामिप्यताबारे थप रुचि बढोस् र अध्ययन अनुसन्धान हुँदै जावोस् र, वैज्ञानिक किसिमले आफ्नो जातिगत विकासक्रम सबैले थाहा पाउन सकियोस् जुन ‘पहिचान’को एउटा महत्वपूर्ण कडी हो ।
—-
Ref.
– Bön – Internet Encyclopedia of Religion
– About Bön – The Bön Foundation
– The Bönpo’s Tradition – The Government of Tibet in Exile
– The Bön Religion – tibetanbon.com
– http://www.religionfacts.com/bon
– http://blog.nepaladvisor.com/bon-a-unique-religion-and-culture-in-the-himalayas/

तस्बिर : http://www.pierreevald.dk/misc_files/naxi.htm

 क्याटेगोरीः इतिहास