नाक काटेकै हो


नाक काटेको प्रमाण भएकालाई एक मोहर लिएर अनि जाँच गराउन नआएका अटेरीहरूलाई दुई मोहर लिएर जग्गा दर्ता गरिदिनू भन्ने अर्को आदेश भएको उक्त विन्तीपत्रबाट बुझिन्छ।


kirtipure-ko-nak२०१५ सालमा म पाँच वर्षको थिएँ। बसाइ थियो– मामाघर नुवाकोटको थानसिङमा। दी बगैंचा भन्ने ठाउँमा मतदान हुँदै गर्दा अचानक हुलदंगा भयो। हूलमा कसैले ‘ए… ए… नाक काट्या भान्जा’ भन्दै च्याप्प समातेर सुरक्षित ठाउँतिर पुर्यानइदिए, म जोगिएँ। नाक पनि यसो छामी हेरें, काटेको रहेनछ।

त्यसपछि पनि म चार/पाँच वर्ष मामाघरमै रहें। जो पनि मलाई ‘नाक काट्या भान्जा’ भन्थे। कतिले त मेरो नेप्टो नाक तान्दै ‘यसरी बिहान–बिहान तान भान्जा, तिम्रो नाक पनि हाम्रो जस्तै लामो र राम्रो हुन्छ’ भन्थे। कुराको छेउटुप्पो नबुझी ट्वाल्ल पर्थें म। २०२१ सालमा कीर्तिपुरकै पाँगाको सरकारी स्कूलमा कक्षा ६ को इतिहासको क्लासमा गोर्खालीले कीर्तिपुरमा नाक–कान काटेको घटनाको चर्चा भएपछि मात्र मैले थानसिङे मामाहरूको कुरा बुझें । नाक काटिने र डबल दस्तुर तिरेर जग्गा पाउने कीर्तिपुरेमध्ये कुन पुर्खाको शाखा–सन्तान हुँ भन्ने चाहिँ अझै थाहा पाएको छैन।

२०२१ सालमा कीर्तिपुरकै पाँगाको सरकारी स्कूलमा कक्षा ६ को इतिहासको क्लासमा गोर्खालीले कीर्तिपुरमा नाक–कान काटेको घटनाको चर्चा भएपछि मात्र मैले थानसिङे मामाहरूको कुरा बुझें ।

लुकाउन खोजिएको इतिहास

गोर्खाली राजा पृथ्वीनारायण शाहलाई काठमाडौं उपत्यका विजय गरेर शान्ति कायम गराइराख्न कीर्तिपुर नजिती नहुने भयो। पहिलो आक्रमणमा हुनसम्मको खति बेहोरेर फर्केका गोर्खाली फौज त्यसको सात वर्षमा फेरि सूरप्रताप शाहको नेतृत्वमा चढाइ गर्न आए। तर, कीर्तिपुरेको बाण सूरप्रतापको आँखामा लागेपछि त्यो प्रयास पनि असफल भयो।

गोर्खालीहरूले अब कीर्तिपुर दक्खल गर्न शेरको शैली छाडेर ब्वाँसोको युक्ति लगाए। उनीहरूले सबै किसिमको धोखाधडी र घेराबन्दीको नीतिबाट चारैतर्फका नगाउँ, पाँगा, चोभार, भाजंगललगायतका बस्तीहरू कब्जामा लिएपछि कीर्तिपुर रणनीतिक हिसाबले टापू बनी केही गर्न नसक्ने अवस्थामा पुग्यो। केन्द्र पाटनमा पनि अक्षम राजा थिए– तेजनरसिंह मल्ल। त्यसरी कीर्तिपुर पूर्णतः निरीह बन्यो।

नभन्दै, ६–७ महीनामै नाकाबन्दीले नतीजा देखाउन थाल्यो। शहरभित्र भकारीहरू रित्तिसकेका थिए, आङका कपडा पनि थोत्रिए। नगाउँ, पाँगा, चोभार, सतुंगललगायतका बस्ती र कीर्तिपुरका नातागोताबीच शंका उपशंका उब्जाई पूरै सामाजिक वातावरण भताभुंगै पारिएको थियो। आत्मसमर्पण गरे हुने फाइदा र आममाफीको प्रचार भइराखेकै थियो।

धनवन्तका छोरा वीरनरसिंह र अर्का एक सरदारलाई पाटन, कान्तिपुर र भादगाउँको बीचमा पर्ने वाभु कब्जा गर्दा अपहरण गरी नुवाकोट पुर्‍याएर तादी नदीमा चोपी चोपी यातना दिइँदैथियो।

केन्द्र पाटनका कीर्तिपुर हेर्ने धनवन्त सिंह पनि गोर्खालीकै हितैषी थिए। उनले एक वर्षअघि मात्रै दलमर्दन शाहलाई आफ्नो घरमा लुकाएर सकुशल गोर्खा पुर्‍याइदिएका थिए। दलमर्दनसँग मीत समेत लगाएर पृथ्वीनारायणका मीतभाइ बनेका थिए, धनवन्त। धनवन्तका छोरा वीरनरसिंह र अर्का एक सरदारलाई पाटन, कान्तिपुर र भादगाउँको बीचमा पर्ने वाभु कब्जा गर्दा अपहरण गरी नुवाकोट पुर्‍याएर तादी नदीमा चोपी चोपी यातना दिइँदैथियो।

वीरनरसिंहलाई आत्मसमर्पण गरे बाँच्ने मात्र नभई प्रशस्त जग्गा र पद पाउने पत्र लेखाई पाटन पठाइएको थियो। अर्का सरदार भने चरम यातनाले मरिसकेका थिए। पुलमा बाँधेर राखिएका धनवन्तका छोराले नदीमा हाम्फालेर आत्महत्या गर्ने प्रयास पनि गरे, तर मर्न दिइएन। यता धनवन्त पुत्रको समाचार र सुर्ताले आकुल–व्याकुल बनेका थिए। त्यही तोडमा उनले ९ चैत १७६६ का दिन कीर्तिपुरका क्वाथः नायक सिख्वांल प्रधानलाई शहरको ढोका खोल्न आदेश दिएपछि गोपुर (हाल सागल टोल) को ढोका खोलियो। त्यसरी भित्र पसेका गोर्खालीहरूले सिख्वांल प्रधानले आत्मसमर्पण गर्दागर्दै हत्या गरेर सबै पूर्व प्रतिज्ञा र आश्वासनहरू लत्याए। गोर्खालीहरूले मुख्य–मुख्य कीर्तिपुरेको तुरुन्तै हत्या गरे।

अघि बाबु मारिएका वंशराज पाण्डे र आँखा फोडिएका सूरप्रताप शाहको अगुवाइमा दुई दिनमा १२ वर्षभन्दा माथिका ८६५ जनाको नाक र ओठ काटियो। भाग्न सक्नेहरूको मात्र नाक जोगियो।

अघि बाबु मारिएका वंशराज पाण्डे र आँखा फोडिएका सूरप्रताप शाहको अगुवाइमा दुई दिनमा १२ वर्षभन्दा माथिका ८६५ जनाको नाक र ओठ काटियो। भाग्न सक्नेहरूको मात्र नाक जोगियो। पृथ्वीनारायणले ९ वर्षअघि आफ्ना काजी कालु पाण्डे मारेको र १७ महीनाअघि भाइ सूरप्रतापको आँखा फुटाएको रीस विजित जनतामाथि फेर्ने मौका पाण्डे पुत्र वंशराज र सूरप्रतापलाई नै दिएका थिए। त्यसबेला वंशराज १७/१८ वर्षका र सूरप्रताप २५ आसपासका थिए। नाक–कान काट्न भोटे रैतीलाई लगाइयो। पछि ती भोटेहरूको पनि प्राण हरण गरियो। त्यसो गर्नुको कारण भने थाहा छैन।

आजको बुझाइमा विजित जनतामाथि त्यस्तो पासविक दमन गर्नु मानवता विरुद्धको अत्याचार हो। कीर्तिपुरमा त आत्मसमर्पण गर्न आएकाहरूको हत्या र अंगभंग गरिएको थियो। आममाफीको घोषणा नगरिएको भए यसो भनिरहनुपर्ने थिएन। त्यसबेला दुई अक्षर पढ्न र लेख्न सक्ने सबैले त्यो पासविक घटनाको टिपोट गरेर राखे। त्यो बेलाको कुनै टिपोट छैन, जसमा यो घटना उल्लेख नभएको होस्।

एउटा विन्तीपत्रले गोर्खाली शासकले नाक काटिएका कीर्तिपुरेको जग्गा तुरुन्त दर्ता गर्ने र नाक काट्न बाँकी रहेकाको जाँच गर्नुपर्ने भएकोले जँचाउन आउन आदेश जारी गरेको देखाउँछ।

प्रतिशोधको तुष्टि

वाघभैरव मन्दिर जहाँ कालु पांडेका हतियार झुण्ड्याइएको विश्वास गरिन्छ

गोर्खालीहरूले कीर्तिपुरे जनतामाथि पछिसम्म पनि प्रतिशोधको आगो बालेरै बसे। हालसालै फेला परेको एउटा विन्तीपत्रले गोर्खाली शासकले नाक काटिएका कीर्तिपुरेको जग्गा तुरुन्त दर्ता गर्ने र नाक काट्न बाँकी रहेकाको जाँच गर्नुपर्ने भएकोले जँचाउन आउन आदेश जारी गरेको देखाउँछ। (हे. प्रतिलिपि)कीर्तिपुरेहरूलाई प्रति परिवार दुई रोपनी पानी नलाग्ने जग्गा दिएको पनि उक्त पत्रबाट थाहा हुन्छ।

नाक काटेको हो, होइन जाँच गर्न आउनु भन्दा कोही गएनन्, फेरि काटिदेलान् भन्ने डरले। पछि नाक काटेको प्रमाण भएकालाई एक मोहर लिएर अनि जाँच गराउन नआएका अटेरीहरूलाई दुई मोहर लिएर जग्गा दर्ता गरिदिनू भन्ने अर्को आदेश भएको उक्त विन्तीपत्रबाट बुझिन्छ। उनीहरूको जग्गा दर्ता पनि मूल पुरोहितको तिरोतिरानमा पारियो, जुन त्यस बेलाको सबभन्दा कठिन तिरान थियो। पुरोहितको तिरानमा सुक्खा या अति वर्षाले उब्जनी नभए पनि आधा बाली बुझाउनै पर्थ्यो, ऋण काढेर भए पनि। त्यस्तो तिरान राजाले पनि मिनाहा गर्न सक्दैनथे।

नाक काटिएका कीर्तिपुरेका १२/१३ औं पुस्ताको यो पंक्तिकारको बाल्यकालीन अनुभव, कीर्तिपुरमा सुन्दै आएको स्थानीय भनाइ र कतिपय इतिहासकारको किटानीलाई हेर्दा गोर्खालीले कीर्तिपुरेको नाक–कान काटेको होइन भनेर थप मसी सुकाउनुपर्ने देखिन्न। हिजो जो भयो, त्यो भइसक्यो। त्यसलाई स्वीकारेर वर्तमानलाई सच्याउँदै अगाडि बढ्ने हो।

साभार : http://nepalihimal.com/article/7265

 क्याटेगोरीः इतिहास