नबोलेरै भयो उदाहरणीय प्रेम


हिमा रसाईली

झापा सूरुंगा,१ मंसिर । हामीले पे्रमको अनेक रुप सुनेका छौं । भनिन्छ साँचो पे्रम गर्नेलाई केहिले छेक्दैन । समाजले बनाएको न कथित जातले ,न धर्म न पेशा न शारिरीक क्षमता केहिले छेक्दैन । आज हामी यस्तै जोडीको कुरा गर्दैछौ जसमा वाक क्षमता छैन तर यो कुराले एक अर्का प्रति माया गर्न अनि साथ निभाउन छेकेन ।

दमक झापा निवासी जीवन विश्वकर्मा र रीता विश्वकर्मा बोल्न सक्नु हुन्न, अनि सुन्न पनि सक्नुहुन्न तर यो कुराले उनीहरुको सहयात्रामा केहि असर नपरेको बताउँछन् जीवन विश्वकर्मा । ‘माया त अदृश्य भाव हो, यसको लागि शव्द उच्चारण होइन, एक अर्काका लागि गरिने उच्चारण होइन, एक अर्काका लागि गरिने महसुुुुस भए पुग्ने बताउँछिन् रीता विश्वकर्मा । आज भन्दा ६ बर्ष अगाडि तीन वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए । झापा जिल्ला बहिरा संघको विभिन्न कार्यक्रममा भएको भेटले उनीहरुमा सुटुक्क मायाको मुना पलाएको हो । यद्यपि प्रेमको प्रस्ताव जीवन बाट आउँदा रीता लाई स्वीकार गर्न आँट आएन रे । कारण रहेछ , जीवनको भन्दा रीताको उमेर दश वर्ष बढि हुनु । तर यो कुराले पनि छेकेन । ूमैले तिम्रो उमेर होइन मनलाई प्रेम गरेको हँु भनेर रीतालाई मनाएको पल सम्झिन्छन् ू जीवन विश्वकर्मा ।

उनीहरुको विवाह २०६८ सालमा परिवार र बहिरा संघको साथीहरुको उपस्थितिमा भएको थियो । त्यसपछि उनीहरुले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । खुसीको साथ सहयात्रा गरिरहेका छन् । समाजमा सुरुमा यो जोडीलाई सवैले अनौठो मानेका थिए तर परिवार र साथीहरु अनि दुई जना बीचको प्रगाढ मायाले सवै कुरामा सहजता आएको छ । यो ६ वर्षको अवधिमा कहिल्यै कुनै दिन असमझदारी भएको छैन । उनीहरुको साथमा ५ वर्षीय छोरो छ । जीवन र रीतालाई आफु बोल्न नसकेकोमा कहिल्यै दुस्ख लागेको छैन । तर छोरा जब ६, सात महिनाको हुदाँ खाट बाट पल्टिएर लडेर रुदाँ आफुहरुले सुन्न नसकेकाले थाहा पाएनन् र अरुले आएर उद्घार गर्दाको पलमा पहिलो पटक दुख लागेको थियो । त्यसपछि उनीहरुले पालैपालो छोराको साथमा एक जना अनिवार्य बस्ने नियम बनाएको सम्झिछन् ।

यो जोडी माया गर्न मात्र सिपालु होइन, जीवन सुनका राम्रा राम्रा गरगहना बनाउन सिपालु छन् त रीता सिलाइकटाइमा । यो पेशाबाट अर्थोपार्जन पनि राम्रै भएकोले घर व्यवहार चलाउन सहज भएको हो । आफु आत्मनिर्भर भए जस्तो अवस्थामा पनि आत्मसम्मानका साथ जिउन सकिने मीठो अनुभव छ उनीहरुमा । समाजमा अहिले पछिल्लो समय विवाहको पवित्र बन्धनमा डढेलो लागेको देखिन्छ र वैवाहिक सम्बन्धमा अविश्वासले जरो गाडेको बेला जीवन विश्वकर्मा र रीताको जोडि साच्चै उदाहरणीय छ ।
साभार दलित अनलाइन डटकम

 क्याटेगोरीः समुदाय