तीज मान्ने नेवार महिलालाई सार्वजनिक चुनौती


ज्वजलपा सकसित

यो लेख खसभाषी क्षेत्री बाहुन महिलाहरुले नपढ्नु होला । तपाईं खसभाषी क्षेत्री बाहुन महिलाहरु धुमधामले तीज मनाउनु हुन्छ, म तपाईंहरुको आस्था र विश्वासमाथि कुनै टिकाटिप्पणी गर्न चाहन्नँ। तपाईंहरुलाई उचित लागे निरन्तरता दिनुहोला, नलागे नदिनु होला । तीज पर्वको मान्यता, विकृति, विसंगति तथा उपलब्धिहरुबारे अघिल्लो वर्षहरुमा नै मनग्य टिप्पणी भइसकेको छ । यो लेख नेवार महिलामाथि मात्रै केन्द्रित हो । कुनै पनि तीज मनाउने नेवार महिलालाई बोलाई बोलाई यो लेख पढ्न लगाउनु होला ।

यो समाजमा भीडको पछाडि कुद्ने मानिसको कमी छैन । ‘भीडको पछाडि कुद्ने’ भन्नाले अरुले जे जे गर्‍यो त्यही देखासिकी गर्ने प्रवृत्ति हो । के सही हो, के सही हैन भनेर अलिकति पनि नसोची हाहाहुहुमा रम्दै दौडिँदा आफ्नो स्वाभिमान, शक्ति, वर्चस्व आधार र भविष्य गुमाउँदै जाने हुनाले त्यसो गर्नुको मतलब आफ्नै खुट्टामा बञ्चरो हान्नुझैँ हो । क्षणिक रमाइलो र रहरपछाडि लाग्दा आफ्ना भावी सन्ततिको निमित्त गलत शिक्षा र संस्कारको बिजारोपण गर्नु भनेको एक डरलाग्दो सामाजिक रोग हो ।

मैले त्यस्तो डरलाग्दो रोग नेवार महिलाहरु, त्यसमा पनि अत्यधिक श्रेष्ठ खलकका महिलाहरुमा देखें । केही वर्ष अगाडि तीजभेलामा साथीसंगीलाई साथ दिन छेउमा सुस्तरी ताली बजाउने नेवार महिलाहरु केही वर्षपछि हरीयो छड्के तिलहरीमा सज्जिएको देखियो । केही वर्षअगाडि फोटोमा उस्तै देखिन रातो साडी र तिलहरीमा सजिएका नेवार महिलाहरु केही वर्षपछाडि ‘दर पार्टी’का आयोजक हुँदै गरेको देखियो । केही वर्ष अगाडि खाने पिउने रमझमको रुपमा तीजमा भाग लिने नेवार महिलाहरु केही वर्ष पछाडि ब्रत‍ पुजामा अघि सरेको देखियो । यो प्रगति हो कि पतन ?

नेवार महिलाहरु इहि र बारा राखेर सौभाग्य र स्वतन्त्रताको जीवनदर्शनमा हिँडाइएका महिलाहरु हुन् । यस्तो उदार र उच्च जीवनदर्शन तीजको सामाजिक सांस्कारीक मान्यताको परिधिभित्र अटाउँछ कि अटाउँदैन भन्ने कुरा नेवार महिलाले विचार गर्नु पर्दैन ? संस्कार र चाडबाड मनाउँदा त्यसमा निहित मान्यता, शिक्षा र दर्शन नअपनाउने भए त्यस्तो संस्कार र संस्कृति नै किन पछ्याउने? तीजको रमझम मन पराउने नेवार महिलालाइ मेरो चुनौति छ, इहि गर्दा तपाइँको सौभाग्यको साक्षी बसेको बेललाई अब फुटाएर फाल्दिनोस्, लास झै खोलामा बगाइदिनोस्, चितामा जलाइदिनोस् । बारा समापन गर्दा तपाइलाई दिक्षित गरिएको शिक्षा ज्योतिपुञ्जको प्रतिक ज्वालन्हायकं खु्ट्टाले कुल्चेर फाल्दिनोस्, तपाइँलाई अर्पण गरिएको सिन्दूर पखालेर फाल्दिनोस्, वा धुलोले त्यो सिन्दुर पुर्दिनोस् । तीज मनाउने नेवार महिलावृन्दहरु हो, आँट छ यसो गर्न ?

इहि बारा राखिएको नेवार महिलाले तीजमा भाग लिन मिल्छ ? के त्यसो गर्न मिल्ने भए तपाइँहरुको आमा हजुरआमाहरुले अन्धो भएर तीज नमनाउने गरेका हुन् ? तपाइँहरुको आमा हजुरआमाहरु श्रीमान नभएका महिला हुन्? श्रीमानलाई माया र श्रद्धा नगर्ने महिलाहरु हुन्? हैनन् भने आमा हजुरआमाहरुले मान्न नपरेको तीज मान्दै हिँड्न तपाइँहरुलाई के ले बाध्य बनायो, के ले उत्ताउलो बनायो ? तपाइँहरुले मानेको तीजका कारण तपाइहरुको श्रीमान् सुखी भएका छैनन्, आयु बढेका छैनन्, रमाएका छैनन् ।

अनावश्यक खर्च र झंझटले गर्दा बरु चिन्ता बढेको छ, खर्च बढेको छ र अबयस घटेको छ । यो कुरामा होस पुर्याउनु भयो? देखासिकीमा उत्ताउलिएर तीज मान्दा तपाइँ नेवार महिलाहरुले तपाइँका श्रीमानहरुको टाउको चपाउनु भो, रगत पिउनु भो । मैले यसो भन्दा यो कुरो हैन भन्ने हिम्मत छ ? मेरो चुनौति छ । ‘मेरो नेवार श्रीमतिले तीज मान्दै पुजाब्रत बसेको हुनाले मेरो आयस बढेको छ’ भन्ने कोही नेवार श्रीमानलाई यहाँ उपस्थित गराउन सक्नु हुन्छ?

 क्याटेगोरीः संस्कृति