ज‌ंगबहादुरको कालमा भएको ल्होगाउँको भोटे विद्रोह


स्थानीयवासीहरुले केन्द्रका राजालाई आफूहरुले नमान्ने, आफ्ना स्थानीय राजालाई मान्नु पर्ने भन्दै खानी उत्खननमा काम गर्नेहरुलाई कुटपिट गर्दै कतिपयलाई खानीको सुरुङभित्रै राखेर जिउँदै जलाउन खोजेका थिए ।


मोहनशमशेर प्रधानमन्त्री हुँदा स्वीस भूगर्भविद् टोनी हागन सन् १९५०को दशकमा नेपाल आए । उनलाई नेपालमा सुनखानी पत्ता लगाउने जिम्मेवारी दिइएको थियो । उनी नौ वर्षसम्म लगातार १४ हजार किलोमिटर नेपालको कुनाकाप्चा चाहारे । तर राणाहरुले चाहेजस्तो सुनखानी पत्ता लगाउन सकेनन् उनले । बरु भ्रमणको अनुभवको सँगालोस्वरुप नेपाल चिनाउने सचित्र पुस्तक “नेपालः द किङ्गडम इन द हिमालय” छापे । त्यसैको नेपाली अनुवाद ‘नेपालको चिनारी (सन् २००१) निक्कै प्रसिद्ध छ ।

भारतले नाकाबन्दी लगाएलगत्तै नेपाली भूमिभित्रै तेल र ग्यासको व्यापक खोजी गरियो । मोरङको बाहुनी, ललितपुरको इमाडोल र दैलेखमा तेल तथा ग्यास रहेको अनुमानका साथ अनुसन्धान पनि गरिएको छ । अनुसन्धान निक्कै आसलाग्दो देखापरेको छ ।

त्यस्तै खानी खोज्ने काम जंगबहादुर राणाको समयमा पनि गरिएको थियो । उनको समयमा भने विशेषज्ञ बोलाई अनुसन्धान गरेर भन्दा पनि अनुमानको आधारमा इजारा (ठेकेदारी) प्रणालीबाट खानी खन्ने काम गर्ने गरिएको पाइन्छ । त्यसमा पनि स्थानीय गाउँले प्रमुखसँगको संयोजनमा स्थानीय गाउँले कामदारलाई खानी खन्ने काममा परिचालन गर्ने गरिएको तथ्य भेटिन्छ ।

lho-bat-dekhine-manaslu-him

मनास्लु हिमालको फेदमा रहेको ल्हो गाउँ जहाँ भएको थियो विद्रोह / www.mountainmarttreks.com

जंगबहादुरकै समयमा गोरखाको अठारसयखोला क्षेत्रमा पनि खानी उत्खनन् गर्ने आदेश आजभन्दा एक सय ६६ वर्षअघि इजारामा दिइएको थियो । यसको सुरुआत भने अठारसयखोलाभन्दा उत्तरको उपल्लो गोरखाको लुगाउँ (ल्होगाउँ)बाट गर्न खोजिएको थियो । तर त्यहाँका स्थानीयवासीका रुपमा रहेका भोटेहरुले खानी उत्खनन् गर्ने कार्यमा ठूलो अवरोध खडा गरे । उनीहरुले केन्द्रका राजालाई आफूहरुले नमान्ने, आफ्ना स्थानीय राजालाई मान्नु पर्ने भन्दै खानी उत्खननमा काम गर्नेहरुलाई कुटपिट गर्दै कतिपयलाई खानीको सुरुङभित्रै राखेर जिउँदै जलाउन खोजेका थिए । कतिपयलाई पाता कसेर बुढीगण्डकी नदीमा खसाउन पनि खोजेका थिए ।

भोटेहरुले ल्होगाउँमा गरेको यस्तो विद्रोहबारे केन्द्रमा रहेका शासक जंगबहादुरसमक्ष खबर पुग्यो । यो विद्रोह दबाउन एक टुकडी सैनिक पनि त्यसतर्फ पठाइयो । अन्ततः त्यहाँका भोटेहरुसँग सहमति गर्न राज्य बाध्य हुन पर्‍यो ।

“यदि तिमीहरुले भनेजस्तो गरेनौ भने यो सबै नोक्सानीको सजाय तिमीहरुलाई हुनेछ”, बानबीरले बोकेर गएको आदेशमा भनिएको थियो ।

यो ऐतिहासिक तथ्य रेग्मी रिसर्च प्रा.लि.ले इतिहासकार महेशचन्द्र रेग्मीको सम्पादनमा सञ्चालित ‘रेग्मी रिसर्च सेरिज’को वर्ष १२, अंक ५ (डिसेम्बर १९८०ः ७०–७१)मा ‘रिभोल्ट अफ् भोटे माइनर्स इन् अठारसयखोला’ शिर्षकमा प्रकाश गरिएको छ ।

रेग्मी रिसर्च सेरिजअनुसार १९०७ आश्विन बदी १३ मा बानबीर अठारसयखोला क्षेत्रमा खानी उत्खनन गर्न इजारादारको रुपमा नियुक्त भएर पुगेका थिए । सेरिजको यस लेखमा “नुवाकोटको अठारसय खोला” भनी पहिलो अनुच्छेदमा लेखिएको छ, जुन अशुद्ध छ । अठारसयखोला क्षेत्र नुवाकोट जिल्लामा नभई गोरखा जिल्लामा पर्छ ।

राज्यको आदेशका साथ त्यहाँ खानी उत्खनन् गर्न बानबीर त्यहाँ पुगेका थिए । स्थानीय गाउँले प्रमुखलाई त्यहीँका खानीमा काम गर्ने दलितहरु (आग्री, महरहरु)लाई जहाँ जहाँ खाली जग्गा छ, त्यहाँ खानी उत्खनन् गर्न आदेश दिइएको थियो । “यदि तिमीहरुले भनेजस्तो गरेनौ भने यो सबै नोक्सानीको सजाय तिमीहरुलाई हुनेछ”, बानबीरले बोकेर गएको आदेशमा उनीहरुलाई चेतावनी दिँदै यस्तो पनि भनिएको थियो ।

lho-gaun-ko-gate

ल्हो गाउँ छिर्ने बाटो / dev1.thegreathimalayatrail.org

यस्तो आधिकारिक जिम्मेवारीका साथ पुगेका बानबीरले अठारसयखोला क्षेत्रभन्दा माथि उत्तरी क्षेत्रमा रहेको ल्होगाउँबाट काम सुरु गरेको देखिन्छ । यसैक्रममा उनी सबैभन्दा पहिले ल्होगाउँमा पुगे । उनलाई त्यहाँ खानी रहेको सूचना दिइएको थियो । उनी आवश्यक सहयोगका लागि स्थानीय गाउँले प्रमुखलाई आग्रह गर्न पुगे । तर स्थानीय गाउँले प्रमुखले भने तत्काल उनलाई सहयोग गरिहाल्ने आश्वासन भने दिएनन् । उनले आफूहरु अहिले विवाह समारोहमा व्यस्त रहेको बताए । उनले बानबीरलाई भने, “दुई दिनपछि आउनुहोस् । हामी त्यसपछि कि खानी खन्न सुरु गर्नेछौं कि नभए अर्को व्यवस्था गर्नेछौ ।”

भोटेहरुको चेतावनी

त्यसको दुई दिनपछि बानबीरले आफ्ना मानिसहरुलाई खबर बुझ्न त्यो गाउँमा पठाए । स्थानीय गाउँले प्रमुख र अन्य गाउँलेले खबर बुझ्न पुगेका बानबीरका मानिसलाई थुनामा राख्ने चेतावनी दिए । त्यसपछि तिनीहरु त्यहाँबाट भागे ।

आफूले खबर बुझ्न पठाएका मानिसहरु भागेर आएपछि बानबीर आफै त्यो गाउँमा पुगे । गाउँका जेठाबुढा भनी चिनिने एकै जनामात्र उनलाई भेट्न आए । ती जेठा बुढाले बानबीरलाई भने, “हाम्रो ज्यान र सम्पति सबै सरकारकै हो । हामीले त्यो मान्नैपर्छ । तर म न मेरा मान्छेलाई खानीमा काम गर्न जाऊ भन्न सक्छु, न त यसै गर भन्न सक्छु ।”

भोटेहरुले जेठाबुढातिर संकेत गर्दै भने, “उनी हाम्रा राजा हुन् । टोपी फुकाल । रकम चढाऊ र आफ्नो कुरा उनीसमक्ष भन ।”

जब बानबीरले जेठाबुढाको विवशता पोखिएको यस्तो अनपेक्षित जवाफ पाए अनि उनी गाउँको मुखियाकहाँ लगिए । उनले मुखियालाई आफ्नो आधिकारिताको पत्र देखाए । तर बानबीरलाई मुखियाले पनि भने, “हाम्रो जीवन र सम्पति भनेको राजाको हो । तर हामी हाम्रो सवालमा सिधै राजालाई भेट्न चाहन्छौं ।”

बानबीरले भने, “त्यसै गर । र खानीमा काम गर्ने आदेश ल्याऊ । म त्यसपछि फर्कन्छु । तिमीहरुले खन्न पर्ने छ ।”

यो सहमतिपछि १९०७ कात्तिक सुदि १२ देखि २१ दिनसम्म खानीमा खन्ने काम भयो ।

भोटेहरुको आक्रमण

खानी उत्खनन् गर्ने काम चलिरहेको थियो । अचानक १९०७ मार्ग सुदि २ मा पाँच सय जतिको समूहमा भोटेहरु खानी उत्खनन् गरिँदै गरिएको ठाउँमा आए । तीमध्ये एक सय ५० जना इजारादार बानबीरको छेउमा बसे, बाँकी अरु आग्री र महरहरु काम गरिरहेको ठाउँमा पुगे । त्यहाँँ पुगेर उनीहरुले खानीबाट निकालिएका चट्टानहरु सुरुङभित्रै हालिदिए, औजारहरु र अन्य बन्दोबस्तीका सामान लुटे । एक आग्रीलाई १०/१२ जना भोटेहरु धुरिएर पिटे । आग्रीहरुलाई पाता कसेर तीनपटकसम्म गण्डकी नदीमा लगेर नदीमा खसालिदिने धम्की दिए । एकपटक उनीहरुले सुरुङभित्र लगेर जिउँदै जलाइदिने धम्की पनि दिए ।

ती भोटेहरुले बानबीरलाई पनि चेतावनी दिँदै भने, “यदि आफ्नो ज्यानको माया छ भने हाम्रो राजाकहाँ आफ्नो कुरा भन्न जाऊ ।”

ती भोटेहरुले बानबीरलाई पनि चेतावनी दिँदै भने, “यदि आफ्नो ज्यानको माया छ भने हाम्रो राजाकहाँ आफ्नो कुरा भन्न जाऊ ।”

बानबीरले सोधे, “यहाँ राजा छन् ? म उनलाई चिन्दिनँ । मलाई उनीसमक्ष किन लगेनौ ?”

त्यसपछि भोटेहरुले जेठाबुढातिर संकेत गर्दै भने, “उनी हाम्रा राजा हुन् । टोपी फुकाल । रकम चढाऊ र आफ्नो कुरा उनीसमक्ष भन ।”

त्यसपछि भोटेहरुले बानबीरलाई जेठाबुढालाई सात मोहर सिक्का चढाउन र सलाम गर्न बाध्य बनाए । उनीहरुले बानबीरलाई भने, “हामीले गोरखाका राजालाई स्वीकारेका छौं, तर उनको ढालको सुरक्षाले तिमी सुरक्षित हुन सक्दैनौं ।”

केन्द्रबाट फौज पठाइएपछि सहमति

यस घटनाबारे प्रधानमन्त्री जंगबहादुरसमक्ष तुरुन्तै जाहेर भयो । ती भोटेहरुलाई पक्राउ गर्न, उनीहरुलाई नेल ठोकेर आवश्यक परे काठमाडौं ल्याउन १९०७ पुस सुदी ३ मा एक टुकडी फौज त्यसतर्फ पठाइयो । घटना कसरी हुन पुग्यो भनी आवश्यक छानबिन गर्न निर्देशन दिइयो । त्यो खानी वास्तवमा राज्य मातहतकै थियो ।

कथंकदाचित भोटेहरुले हतियारसहित भएको अवस्थामा फौजलाई गोली चलाउने समेत अधिकार दिइएको पनि “रेग्मी रिसर्च सेरिज”को वर्ष १२, अंक ५ मा उल्लेख छ ।

ल्होगाउँका भोटेहरुलाई पक्राउ गर्न जमदार किसेन बोगटीको कमाण्डमा फौज पठाइएको थियो । १९०७ फागुन बदी ९ मा जमदारका साथै गाउँले प्रमुख र अन्य भद्रभलाद्मीबीच विभिन्न बुँदामा सहमति भयो ।

रेग्मी रिसर्च सेरिजअनुसार सबै गाउँले भेला गरी घटनाको तथ्य पत्ता लगाउने, मुख्य समस्याको कारणका साथै उनीहरुसँग काममा नआउने व्यक्ति पत्ता लगाउने र उनीहरुबाट धर्मपत्र गराउने र अन्तिम निर्णयका लागि सरकारमा सिफारिस गर्ने सहमति भयो ।

lho-gaon-1

ल्हो गाउँकी पसले / तस्बिर : समिर थापा / www.flickr.com

सेनाको फौज पठाइएको र सहमति भएको मितिबीचको करिब ६ हप्तासम्म ल्होगाउँको अन्यौल कायमै रह्यो । वास्तवमा त्यस क्षेत्रका भोटेहरुले खानीमा जबर्जस्ती काम गर्न र बाहिरबाट पठाइएको इजारादारको मातहतमा काम गर्न मन पराउँदैनथे भन्ने पनि उक्त रिसर्च सेरिजले स्पष्ट पारेको छ ।

स्थानीय जेठाबुढा तथा गाउँले मुखिया नै राजा

भोटेहरुले विद्रोह गरेको ल्होगाउँ अठारसयखोला क्षेत्रदेखि पश्चिमोत्तर क्षेत्रमा पर्छ । मनास्लुबाट बग्दै आएको कुताङखोला र गणेश हिमालबाट बग्दै आएको स्यारखोला सिर्दिबासमा मिल्छ । त्यहाँबाट उत्तरी क्षेत्रमध्ये पूर्वतिरकोलाई स्यारभोट र पश्चितिरकोलाई कुताङभोट भनिन्छ । सिर्दिबासबाट पश्चिमोत्तरमा बिही, प्रोक र ल्होगाउँ आउँछ भने उत्तरी सीमान्तमा सामागाउँ आउँछ ।

ल्होगाउँका भोटेहरुलाई पक्राउ गर्न जमदार किसेन बोगटीको कमाण्डमा फौज पठाइएको थियो । १९०७ फागुन बदी ९ मा जमदारका साथै गाउँले प्रमुख र अन्य भद्रभलाद्मीबीच विभिन्न बुँदामा सहमति भयो ।

यस क्षेत्रमा सबैजसो बौद्धमार्गी भोटे लामाहरुको बसोबास छ । यस रिसर्च सेरिजमा “लुगाउँ” र त्यहाँका “भोटे” उल्लेख भएको हुनाले भोटेहरुको विद्रोह भएको यस ठाउँ अठारसयखोलाभन्दा माथिको ल्होगाउँमा भएको देखिन्छ । अठारसयखोला क्षेत्रमा भने भोटेहरु नभई घले, गुरुङ र केही कामीहरुको मुख्य बसोबास रहेको छ ।

ल्होगाउँनजिकैको सामागाउँका भोटे लामाहरुले साके १२४३ (वि.सं. १३७८) मा सिञ्जाका खस राजा आदित्य मल्लबाट स्थानीय गुम्बाको सुरक्षाका लागि ताम्रपत्र पाएका थिए । त्यो ताम्रपत्र अझै पनि उनीहरुसँग सुरक्षित छ । तत्कालीन राजाबाट पाएको यस्तो जिम्मा र मानमनितो तथा त्यस क्षेत्रमा केन्द्रका राजालाई भन्दा स्थानीय जेठाबुढा तथा गाउँले मुखियालाई उनीहरुले राजा मान्ने गरेको हुँदा केन्द्रका श्री ३ महाराज जंगबहादुर राणाबाट खानी उत्खनन गर्ने इजारा (एकाधिकार) लिएर त्यहाँ पुगेका इजारादार बानबीरविरुद्ध विद्रोह गरेको स्पष्ट हुन्छ ।

फिचर तस्बिर : ल्हो गाउँमा रहेको गुम्बाका मानेहरु / www.fotocommunity.com

 क्याटेगोरीः इतिहास