घाइते सन्जीतको जिन्दगी नरक बन्यो


कारी महतो
२०६५ सालको फागुन महिनामा देशैभरी थरुहट आन्दोलन उर्लियो । तत्कालीन सरकारले थारु समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा थारु समुदायले “हामी थारुहरु मधेसी होइन, हाम्रो छुुट्टै पहिचान छ” भन्दै सडक तताए । थारु समुदायको हक, अधिकार र पहिचानको लागि भएको आन्दोलनमा चितवन टाँडीको सौराहा चोकमा कमल चौधरी, विपिन खड्का लगायत दाङका प्रकाश चौधरी र राम प्रसाद चौधरीको मृत्यु भयो ।

 

कमल र विपिनसँगै गोली लागी सख्त घाइते भएका सन्जीत महतोलाई भने मर्नु न बाँच्नु भएको छ । विपिन खड्कालाई गोली लागेको अवस्थामा पानी पिलाउन जाँदा उनलाई पनि गोली लागेको थियो । गोली लागेको नौ वर्ष बितीसक्दा पनि उनको घाउ निको हुन सकेको छैन । डाक्टरले समय समयमा अस्पताल आएर जाँच गराई औषधी उपचार गर्न भनेका थिए । तर आर्थिक अभावका कारण सन्जीत अस्पताल पनि जान सकेका छैनन् ।

 

गोली लागेको दायाँ खुट्टा न खुम्च्याउन सक्छ न सीधा राख्न सक्छ । घाउबाट पीप बगीरहन्छ । कहिलेकाँही पहेंलो रङको पीप निस्कन्छ । सन्जीत आफैंले मनतातो पानीले घाउ सफा गर्नुको विकल्प अरु केहि छैन । बैशाखीको सहारामा घर भित्रबाहिर गर्ने भए पनि दिशापिशाब र सरसफाईका लागि भने अरुकै सहारा लिनु पर्ने सन्जीतको बाध्यता छ ।

 

३० वर्षीय सन्जीतको श्रीमती र एक छोरा सहित ८ जनाको संयुक्त परिवार छ । श्रीमती, बुबा, आमा, भाई, बुहारी सबैले ज्याला मजदुरी गरी आर्जन गरेको पैसाले दुई छाक टार्छन् । उनीहरुको सम्पत्तीको नाममा पाँच धुर घडेरी बाहेक कुनै ठाउँमा पनि जग्गाजमिन छैन । सन्जीतका भाईले वैदेसिक रोजगारबाट कमाएको केहि पैसाले आफ्नो लागि घर बनाउन सुरु गरेको भएता पनि सन्जीतको जीवन भने उहि पुरानो छाप्रोमै बितिरहेको छ । २८ वर्षीय धर्मपत्नी लक्ष्मी महतोले लेबर गरेर बचाएको पैसाले कहिलेकाहि अस्पताल लैजाने गरेका छन् । लाउँलाउँ र खाउँखाउँ उमेरमा श्रीमानको त्यस्तो हालत हुँदा पनि कति बिचलित भइनन् । श्रीमान र छोराको स्याहारसुसारमा लागीरहेकी सन्जीतकी धर्मपत्नी लक्ष्मी महतो आफ्नै घरमा भेटघाट गर्न आएका पत्रकारहरुसामु कुनै कुरा बोल्न सक्ने अवस्थामा थिइनन् । उनी घरको एक कुनामा गई सुक्क सुक्क गर्दै आँसु मात्र झारेर बसीरहिन् ।

 

सन्जीतका ११ वर्षीय छोरा जेम्स चौधरी हाल सौराहा स्थित मालपुर माविमा कक्षा ६ मा पढ्दैछन् । तर उनका पढाईलेखाईका लागि खर्च अभाव हुँदा भविष्यमा कसरी पढाउने कुरामा सन्जीत दम्पत्तीका साथै सन्जीतका आमाबुबा निकै चिन्तित देखिन्छन् । २०६५ सालमा काठमाडौंको बी एण्ड बी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको भएता पनि घरबाट ल्याउने लैजाने खर्च आफैले जुटाउनु पर्दा धेरै पटक काठमाडौंमा बेखर्ची भई अलपत्र परेको कुरा सम्झेर सन्जीतका ४४ वर्षीय आमा भक्कानिएर रुदैं भन्नुहुन्छ “छोराको जिन्दगी त बर्बाद भयो भयो तर नातिको पनि भविष्य बिग्रिने भयो, यसको लागि कसैले सहयोग पाए हुन्थ्यो ।”

 

जवान छोराको कमाई खाने बेलामा उल्टै छोरालाई पाल्नुपर्ने बाध्यता आइलाग्दा सन्जीतका ५८ वर्षीय बुबा झेंगट महतो आफू निकै अभागी भएको ठान्छन् । काठमाडौंमा उपचार गराउन लैजादाँ बसमा बस्नै नसक्ने तर एम्बुलेन्समा लैजान एकतर्फी भाडा आफैले पाँच पाँच हजार तिर्नु पर्दा छोराको उपचार गर्न नसकेको बुुबा झेंगट महतो बताउनु हुन्छ । सुरुमा स्थानीय समाजसेवीहरुले आवतजावतका लागि सहयोग गरेको भएता पनि अहिले कतैबाट सहयोग नपाउँदा छोरा सन्जीतलाई अस्पतालसम्म पु¥याउन नसकेको कुरा वहाँले बताउनुहुन्छ ।

 

सामूहिक न्याय र पहिचानका लागि ज्यानको बाजी थापेर आन्दोलनमा होमिएका योद्धा तथा जिउँदो शहिद सन्जीत महतोको जीवन नै नरक बन्यो । तैपनि उनले हिम्मत हारेका छैनन् । सहयोग पाए राम्रो अस्पतालको राम्रै डाक्टरसँग उपचार गराएर आफू ठीक हुने कुरामा आशावादी रहेका सन्जीतले गोली लागेको घटना बारे यसरी बताए –

 

“म सधैं ट्रेक्टरमा लेबर काम गर्न जान्थें । ०६५ साल फागुन २२ गतेको दिन हामीले अलि छिट्टै ट्रेक्टर थन्क्याएर सबैजना आन्दोलनमा गयौं । सौराहा चोक पुगेर आन्दोलनकर्ताहरुको भिडमा म पनि मिसिएँ । हामी पुग्दा बेलुकातिर प्रहरीहरुले अश्रुग्याँस फाइरिङ्ग गर्दै थिए । यता आन्दोलनकारीहरु झन उत्तेजित हुँदै ढुंगामुढा गर्दै थिए । यसरी नै भिडन्त भैरहँदा रात प¥यो । साथीहरुलाई छाडेर घर आउन मनले मानेन । राती एघार बजेतिर विपिन खड्कालाई गोली लागेर अस्पताल लैजाने भनेर सौराहा चोकमै खाटमा सुताएर एम्बुलेन्स कुरेर बसीरहेका थिए । घरीघरी प्रहरीको फाइरिङ्ग भएपछि विपिनलाई एक्लै सडकको छेउमै छाडेर सबै भाग्थे । फाइरिङ्ग रोकिएपछि फेरि विपिनकै छेऊमा पुग्थे । मैले विपिनलाई चिनेकै थिइनँ तर पनि मेरो मनले मानेन । म विपिनको नजिकै गएँ । उसले पानी माग्यो । मैले पानी ल्याएर पिलाइदिएँ । उसले कपडा खोली देऊ भने, मैले उसको कपडा पनि फुकाली दिएँ ।

 

उसको दायाँ कोखामा गोली लागेको प्वाल प्रष्टै देखिन्थ्यो । रगत भलभली बगीरहेको थियो । मैले के गरौं, के नगरौं सोच्नै सकिरहेको थिइनँ । त्यसैबेला प्रहरीहरुले अध्यारो साइडबाट एक्कासी अन्धाधुन्द भटटट गोली फाइरिङ्ग गरे । साथीहरु सबै भाग्न थाले । म पनि विपिनलाई छोडेर भाग्न थाले । त्यतिखेर नै मेरो दायाँ खुट्टाको तिघ्रामा गोली लाग्यो र म त्यहि ढलें । मलाई साथीहरुले चोकबाट करीब एक सय मिटर भित्र बकुलहरको एक घरको बरण्डामा सुताए । सहनै नसक्ने दुखाईको बीचमा मेरै गाउँको कमल चौधरीलाई पनि गोली लागेको मैले अर्धचेत अवस्थामै सुनें । एम्बुलेन्स नआएपछि कमल र मलाई दुवैलाई एउटै माइक्रोमा भरतपुर अस्पताल लगियो । कमलको उपचार सरकारी अस्पतालमा हुन नसकिने भएपछि उसलाई पुरानो मेडिकल कलेजमा लगियो । त्यसपछि के के भयो मलाई थाहा भएन ।”

 

थरुहट आन्दोलनकै जगमा कैयौं थारु नेताहरु सभासद र साँसद भए, कैयौं त बारम्बार सत्तामा पनि पुगेर मन्त्री पनि भए । तर थरुहट आन्दोलनका जिउँदो शहिद सन्जीतलाई एकपटक भेट्न समेत आएनन् । सन्जीतको अवस्था कस्तो छ भनेर फोन समेत गरेनन् । अनि देशका लागि सिन्को समेत भाँच्ने हाम्रो देशका मन्त्री र नेताहरु आफू रुघाखोकी लाग्दा समेत विदेश गएर करोडौं खर्च गर्छन् । तर आम जनताका छोराछोरीहरुको बर्षौसम्मको घाउमा मलम लगाउन दुई पैसा सहयोग समेत गरेका छैनन् ।

 

विभिन्न लोभलालच देखाएर, थारुका मुद्धा उठान गरेर जनताका छोराछोरीहरुलाई तातो गोली खान बाध्य पार्ने थारु नेताहरु राजधानीमै रमाइरहेका छन् । तर थारु जनताका छोराछोरी उपचार समेत नपाई दिनप्रतिदिन तड्पीरहँदा शान्त्वनाका दुई शब्द समेत बोल्न कन्चुस्याइँ गर्दछन् । त्यसैले रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवारका स्थायी बासिन्दा तथा सन्जीत महतोका छिमेकीहरु सजना चौधरी र शरद कुमार चौधरी भन्नुहुन्छ– “सन्जीतलाई गोली लाग्दा उसको उमेर २१ वर्षको थियो अहिले ३० वर्षको भयो । सन्जीतको बुबा आमा लगायत परिवारले बनिबुतो नगरे खानै पुग्दैन । पाँच धुर घडेरी बाहेक कहिकतै जग्गा पनि छैन । अब हामीले नेताहरुलाई गाली गर्न छोडेर सबै मिलेर घाइते सन्जीतलाई सहयोग गर्ने पहल गरेका छौं । कृपया, हाम्रो काँधमा काँध र हातमा हात मिलाई सहयोग गर्नुहोस् ।”

 क्याटेगोरीः समुदाय