गथांमुगः र घण्टाकर्ण एकै होइन


विनय राजोपाध्याय

गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । उ अन्तै कतैको देवता नमान्ने नास्तिक हो । सायद उ भारत, काशीको हुनुपर्छ किनकि त्यहाँ कर्णघण्टा भन्ने पोखरी छ र नजिकै घण्टाकर्णको मुर्ति पनि छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ ।

रुद्रायमल तन्त्रको कथामा रहेको घण्टाकर्णलाइ तानतुन पारेर काठमाडौं उपत्यकाको संस्कृतिमा मिलाएर हेरिँदा त्यस्तो देखिएको मात्र हो । कुनै बेला (खस समुदायको सञ्चार माध्यममा बर्चश्व रहेको बेला) नेवार शब्दलाई सञ्चार माध्यमले आफुखुशी उल्था गरी नेवार भाषामा गँ भनेको घण्टा र था भनेको वजाउने वा अड्केको र मुगः भनेको हृयामर यानेकि घन मानेर यो गथांमुगः भनेको घण्टा बजाउने हो र यो घण्टाकर्ण सँग नै सम्वन्धीत चाड हो भनी फुकि दियो । जस्ले गर्दा यो भ्रम श्रृजना भएको हो । आज पनि यही कुरालाई नजिर बनाई आफ्नो मौलिक परम्परालाई पाखालगाई त्यसैलाई नै अँगीकार गरी वस्न त भएन नि । जवकि यो चाडको नाम गथांमुगः हो गँथामुगः होईन ।बास्तबमा गथांमुगः भनेको दोवातो चौवातो चोक इत्यादी हो । किलागः, प्यंगःथां, नौमुगः, चिकंमुगः,प्यङ्गःथां आदि टोलको नामको अन्तिममा आएका यस्तै गः, थां, मुगःले पनि यो कुराको पुष्टि हुन्छ ।परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । यहाँ उब्जनी मनग्ये हुन्थ्यो । खेती किसानी सबै भूमिमा गर्न त्यो बेला जन संख्या कम भएको कारणले असम्भब प्रायः थियो । घाम, पानी, असीना, हावा, हुरी केही नभनी खेती किसानी सबै भूमिमा गर्नु मुश्कीलको काम थियो । केही गरी फसल बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न पुर्याउन सकिंदैन थियो र अन्न संकट हुन सक्थ्यो । त्यसैले यो काम मरी मरीकन जसरी भए पनि यहाँका किसानहरुले गर्नु नै पर्दथ्यो ।

भनिन्छ रोपाँइको बेला घरमा कोही ब्यक्ति मरे देखि त्यस लाशको शतगती समेत नगरी रोपाँइ नसके सम्म सुकुलमा बेरी एक कुनामा थन्क्याउँदै सबै परीवार रोपाँइमा नै ब्यस्त भई रहन्थ्यो र रोपाँइ सकी सके पछि मात्र त्यस लाशको शतगति काजक्रिया गरीन्थ्यो रे ! ऊ बेला । त्यसैले यस रोपाँइ गर्ने कार्यलाई नेपाल भाषामा सिन्हां ज्याः भनि भनिन्छ । सिन्हांको अर्थ मरेर र ज्याःको अर्थ काम भन्ने हुन आउँछ । अर्थात मरी मरीकन जसरी भए पनि गर्नु पर्ने काम । साँच्चै यो सिन्हां ज्याः गर्नु भनेको आफ्नो जिउ ज्यानै फालेर गर्नु पर्ने काम थियो । मरी मरीकन जसरी भए पनि जे गरेर भएपनि गर्नु नै पर्दथ्यो यो काम । नत्र त वर्षभरी राज्यमा अन्न संकट पर्न सक्थ्यो । अनि भोकमरी लाग्न सक्ने सम्भाबना एकदमै थियो । माटो सम्याउनु, डल्ला फोर्नु, सिंचाईको लागी कुलो खन्नु आदिर् इत्यादि किसानी काम गर्नु भनेको साधारण काम होईन । यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम थियो ।

तर राज्यमा सबै मान्छेहरु बलवान हुंदैनथ्यो त्यसैले यस्तो काम गर्न भूतको साधना नगरी सम्भव थिएन । यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चर्ढाई यो काम फत्ते गर्नु पर्दथ्यो । प्रत्येक सिन्हा ज्याः भन्दा पहिले अक्षय तृतिया भन्दा एक दिन अघि भूत दुकाय्गु भनि शहरमा भूतलाई भित्र्याउने काम हुन्थ्यो । अनि यो भूत चढाएको मान्छेको सहायताले सिन्हा ज्याः सजिलै गर्न सकीन्थ्यो । सिन्हा ज्याः सकि सके पछि यो भूतहरुको कुनै कामै थिएन । त्यसैले यिनीहरुलाई भगाउनु पनि जरुरी थियो किनकि साधारण मान्छेले भन्दा भूत चढेको मान्छेले एकदमै वढि त काम गर्दथ्यो तर एकदमै धेरै धेरै नै खाना पनि खाँदथ्यो । त्यसैले यी भूतहरुलाई बर्षभरी नै पाली राख्न त असम्भब प्रायः थियो । यसै कारणले गर्दा भूतहरुलाई भगाउनु अत्यन्तै जरुरी थियो । भूतहरुलाई सिन्हां ज्याः सकी सके पछि यानेकी भूतहरुवाट चाहिने जति काम लिई सके पछि यिनीहरुलाई श्रावण कृष्ण चतुदशी अर्थात दिल्लागा चह्रे गथांमुगः चह्रेको दिन तान्त्रोक्तबिधि पूर्वक भगाईथ्यो ।

गथांमुगः भनेको भूतहरु बस्ने सामुहीक ठाउँ हो । जुन छ्वासः(क्षेत्रपाल, चौबाटो) हो । त्यसैले यस दिन आ-आफ्नो टोलको छ्वासमा नर्कट बाँसको तिन मुठालाई उठाएर बिहानै देखि चौवाटोहरुमा ठड्याउँथ्यो । अनि घरघरवाट भूत भगाएको स्वरुप पुटलीहरुबनाई त्यसमा झुण्ड्याउन पर्ठाईन्थ्यो । त्यस नर्कटवाँसको मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टाँसी, एक जना तल्लो जातको बालकको शरीरमा मनपरी लेखि, एउटा दहिको भेगुतमा त्यस हेरचाह गर्नै वालकलाई पेट तन्न भईकन दहि चिउरा खुवाई, “ॐ शान्ति जय नेपाल आजु जय हा……” भन्न लगाउँदै, त्यही खाली दहि भेगुतमा पैसा माग्न लगाई, हेरचाह गर्न लगाईन्छ र साँझ साँझ परे पछि टोलवासीहरु सबै मिलि त्यसमा विभिन्न तान्त्रिक पुजा गरी दहि चिउरा खुवाई एक मुठा पराल बाली त्यस नर्कटको झ्याङ्गलाइ तिन पल्ट परीक्रमा गर्न लगाई धाली त्यसैमा त्यो वच्चालाई वस्न लगाई टोलवासीहरु सवै मीली तानी खोलामा लगी मिल्क्याई बहाउने काम गरीन्छ । खोलामा वहाई सके पछि ती तान्ने सवै मुख धोई घर र्फकने चलन छ ।

यस दिन भूतहरु संग यताउति जहिँ तहीँ भेट हुन सक्ने भएकोले सबैले अनिबार्य रुपका फलामको औंठी लगाउनु जरुरी थियो नत्र त त्यो ब्यक्तिलाई भूतले दुःख दिने सम्भाबना धेरै थियो । भनिन्छ फलाम धारण गरेको ब्यक्तिलाई भूतले दूःख दिंदैन । बेलुकि पख सबैको घरमा भूत फेरी भित्र आउँला भनी ढोका ढोकामा तिन खुट्टे किल्ला ठोकी बिशेष पूजा गरी तारण लगाउने काम हुन्छ । यस पछि घरको मुल ढोका बन्द गरी त्यो रात कोही पनि बाहीर जाँदैन’थ्यो । यस दिन यस् प्रकारले भूत भगाई घरमा शुद्ध गर्दा खेरी घरमा बास बसि रहेको भूत प्रेतहरु पनि भागेर जान्छ भन्ने जन बिश्वास छ । यस प्रकार गर्ने घर शुद्धिलाई गथांमुगः ब्यंकेगु भनेर भनिन्छ । यदि सिन्हा ज्या नसकेको भए सिन्हाज्या सकीसके पछि मात्र सो घरमा गथांमुगः ब्यंकेगु गर्ने चलन पनि छ ।

यस दिन यसरी भूत प्रेत पिशाचहरु सबैलाई नगर बाहिर धपाई पठाउने भएकोले कुबिद्या-बोक्सी बिद्या) सिक्न चाहनेहरु, तान्त्रिकहरु मशानमा गई भूतहरुलाई लोभ देखाई फकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथसाथै आफ्नो तन्त्र शक्तिलाई अझै शशक्त गर्दथे । भनिन्छ वोक्सि विद्यामा तव मात्र पूर्ण पारङ्गत भएको मानिन्छ रे जव कोहि वोक्शी सानो भई करुवाको माथीको मुखवाट छिरी टुटीवाट सकुशल वाहिर आउन सक्दछ त्यस्तै अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखि उल्ट्याउन सक्दछ । यस्तो अलौकिक क्षमता हाँसिल गर्न तान्त्रिक तथा बोक्सीहरु यस दिन आफ्नो बोक्सी बिद्यालाई अझै तिखार्न अबश्य पनि मशानमा रहेको शक्तिपीठमा पुग्दछ । त्यसैले यस गथांमुगः चह्रेको रात बोक्सीहरु आफ्नो बोक्सी बिद्यालाई बर्ढाई अझै शक्तिशाली हुन मशानको शक्तिपीठमा गई साधना गरी बस्दथ्यो ।

यस बेला उनीहरुले कुनै ब्यक्तिको बली भोग दिन सो ब्यक्तिको हंस-आत्मा) तानी कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसि बोकालाई जस्तै लघारी दोरीले बाँदी मशानको शक्तिपिठमा घिच्याउँदै लगी गोलको मासु, बालुवाको चिउरा बनाई खुवाई बली दिंदा रहेछ । भनिन्छ कि यस्तो बलि आफ्नै लोग्नेको दिन सके देखि त्यो बोक्सी जस्तो शक्तिशाली अरु कोही पनि हुन सक्दैन अरे । यसरी हंस तानेको ब्यक्ति छ महिना भन्दा बढि जीउँदो रहन पनि सकिंदैन अरे भन्ने हाम्रो समाजमा बिश्वास रहि आएको छ । यस् प्रकारको चित्रहरु हामीले देउपाटनको जयबागीश्वरको मन्दिरमा र पाटनको मुःचुकः स्थित म्वमदु द्यः (छिन्नमस्ता)को भित्तामा पनि देख्न सकीन्छ ।

यस दिन उनीहरु यस ठाउँमा मध्य रातमा आउँदा र जाँदा आफ्नो औंलालाई मैनबत्ति जस्तै बाली वाटो नै उज्यालो बनाउँदै खुट्टा जमीन भन्दा केहीमाथी हावामा टेकि आउँदछ जस्ले जति वटा औंला बाली आउँदछ उनीहरु त्यत्तिकै जान्ने रहेछ भन्ने पनि यस् बाटै जान्न सकिन्छ । कतिपय मानिसहरु त यस्ता बोक्सीहरुलाई ठीक् गर्नु पर्दछ भन्दै मशान जाने बाटोमा धुकी बसि यस्ता आउनेहरुलाई सास्ती गर्नेहरु पनि छन् ।

यसरी धुकी बस्नेहरुमा तान्त्रिकहरु पनि हुन्छन् जस्ले त यस्ताहरुलाई तारण राखि सास्ती गर्दछन् तर सास्ती गर्ने भन्दा सास्ती खाने बलिया अनि शक्तिशाली भए देखि त उल्टाले उनीहरुलाई नै सास्ती गरी भगाएर तन्त्रशक्तिले कहाँ कहाँ पुर्याई दिन्छन् जस्ले गर्दा ति व्यक्ति रात रात भर घर र्फकने बाटो खोज्दै ठिक्क हुन्छन् । यसरी अल्मलीने अनुभव पाएका बुढापाकाहरु आज पनि भेटीन सकीन्छ ।यस गथांमुगःको मध्यरात भूत प्रेतको साधना गरे चाँडैनै तन्त्र विद्या सिकीने जन बिश्वास पनि छ । हुनत भुत पे्रतको कुरा आजकालको युवा पिँढीलाई अपाच्य होला तर हाम्रो पूर्खाले यस्लाई स्वीकारेको छ । यो नेपाल मण्डलको आफ्नै परम्परा हो, संस्कृति हो । आफ्नो मौलिक संस्कृति माथी गर्व गर्न सिकौं । कृपया गथांमुगःलाई घण्टाकर्ण भनी बुझाउने काम नगरौं । अझ कसै कसैलेत गथांमुगःलाइ यो चाडको नाम नै बिगारी गठे मङ्गल पनि भन्ने गरीन्छ । यो त पुरा बिकृति हो । गथांमुगःलाई बाह्य सांस्कृतिक आक्रमणवाट जोगाऔं ।

 

फोटो : रेखा शाक्य

 क्याटेगोरीः संस्कृति