खादाको विरोध गर्ने पालो बन्दीपुर नगरपालिकाको


काठमाडौं, भदौ ७ । पूर्वप्रधानमन्त्री केपी ओलीको खादासम्बन्धी नकारात्मक टिप्पणी र न्यूज २४ का पत्रकार प्रेम बानियाको कार्यक्रमको व्यापक विरोध भएपछि अब यसैको क्रममा जोडिएर बौद्धहरुको पवित्र खादामाथि आक्रामक टिप्पणी गर्ने काम बन्दीपुर नगरपालिकाका कार्यकारी प्रमुख लेखनाथ न्यौपानेले गरेका छन् ।

भन्ज्याङन्युजले प्रकाशित गरेको समाचारअनुसार उनले नगरपालिकाको राजनीतिक परामर्श समितिले सहमतिपश्चात नगरपालिकाद्वारा आयोजित कुनै पनि कार्यक्रममा खादाको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

उक्त परामर्श समितिको बैठकमा राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका कर्णात्री, एमालेका सदन कुमार श्रेष्ठ, माओवादी केन्द्रका जीवन कायस्थ, राप्रपाका गोवर्धन भट्टराई, राष्ट्रिय जनमुक्तिका दिलबहादुर थापा, नेकपा माओवादी क्रान्तिकारीका सुन्दरलाल श्रेष्ठ लगायत नगरपालिकाका सुचना अधिकृत गिरबहादुर रानाले यस्तो निर्णय गरेको बुझिन्छ । उनीहरुले अब नगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा खादाको ठाउँमा अन्य वातावरणमैत्री स्वागतका सामग्री प्रयोगमा ल्याउने भएको छ ।

समाचारमा भनिएको छ “नागरपालिका सेवा क्षेत्रभित्र वातावरण मैत्री स्थानीय शासन कार्यान्वयन गर्ने सम्बन्धमा नगरपालिकाको अगुवाइमा औपचारिक वा अनौपचारिक कार्यक्रममा खादाको प्रयोग पूर्ण रुपमा बन्द गराउने निर्णय गरिएको छ ।”

अझ नगरपालिकाले नै खादालाई अन्य वातावरण प्रदूषण गर्ने हानिकारक वस्तुको रुपमा चित्रण गरी नगरभरिमा मानिसलाई समेत खादा प्रयोग नगर्न भनेको छ । र सभा समारोह गर्दा “प्लाष्टिकजन्य खादा” तथा वातावरण प्रदूषण गर्ने वस्तुको प्रयोगमा नल्याउन नगरवासीसँग आग्रह गरेको छ ।

धर्म निरपेक्ष संघीय गणतन्त्र नेपालको सरकारी ओहोदामा बसेका हिन्दु प्रशासकहरुले नेपाललगायत भारत, चीन, भुटान आदि देशमा बस्ने बौद्धहरुले अति सम्मान गर्ने पवित्र सांस्कृतिक धार्मिक खादामाथि खुलेआम विरोध र अपहेलनालाई बौद्धहरुले गंभीरताका साथ सरोकार देखाइरहेका छन् ।

 क्याटेगोरीः संस्कृति