कुसुण्डा भाषा लोप हुने खतरामा


अमरराज नहर्की

कुसुण्डा जातीको कुसुण्डा भाषा लोप स्थितीमा पुगेको छ । भाषा लोप हुने खतरा भए पनि संरक्षण गर्न कसैको ध्यान पुगेको छैन् । तनहुँका एक मात्र ‘शुद्व’ कुसुण्डा राजामामाले आफ्नो मातृभाषा कुसुण्डा भाषा लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । ‘यस्तै हो भने म मरे पछि मेरो भाषा पनि मरेर जान्छ । ’ राजामामाले दुःख व्यक्त गर्नु भयो । राजामामाको बुबा काले कुसुण्डा र आमा बिष्णुमाया कुसुण्डाबाट कुसुण्डा भाषा सिक्नु भएको हो ।

राजामामाका अनुसार आमा र बुबा दुबैले कुसुण्डा भाषामा नै बातचित गर्नु हुन्थ्यो । बुबा र आमा दुबै जनाको निधन भएपछि आफ्नो भाषा बुझन्े साथी नपाउँदा बोल्न नपाएको उहाँ बताउनु हुन्छ । राजामामाका अनुसार कुसुण्डा भाषामा खानालाई कादी , पानीलाई ताङ , कुखुरालाई ताप भनिन्छ । यस्तै हसियालाई मखै र बाख्रालाई मेजा भनिन्छ । ‘भाषालाई कसैले बुझ्दैन र म एक्लै बोल्ने कुरा पनि आउँदैन’ राजामामाले थप्नु भयो । भाषा लोप भयो भने कुसुण्डाको पहिचान पनि घट्दै जाने हँदा सरकारले कुसुण्डा भाषाको लिपिबद्व तथा संरक्षण गर्नु पर्ने माग राजमामाको छ ।

जङ्गलमै बसी धनुष वाणले कालिज , गोेहोरो , वन कुखुरा , तित्रा लगायतको शिकार गर्ने र शिकार नपाएको बेला जङ्लकै वन तरुल ,गिट्ठा ,भ्याकुर , सिउलियान , निउरो , काउरो कोपिला आदिबाट जङ्गलमै गुजारा गर्ने र जङ्ली जनावरकै छालाको लुगा लगाउने जस्ता परम्परागत जङ्ली जीवन गुजारा गर्नु भएकाले राजामामालाई जङ्गलको राजा भनिन्छ । राजामामा जङ्गलमा बस्दा जाती नै लोप भएर जाने जाने डरले आदिवासी
जनजाति राष्ट्रिय प्रतिष्ठानले समाजमा ल्याउने र कसुण्डा जातिका सङ्ख्या बढाउन सोही जातिको महिला खोज्ने प्रयाश गरे पनि फेला पार्न नसके पछि ईन्द्रामाया तमाङसँग २०६१ साल पुस ७ गते बिवाह गराई दिएको थियो । राजामामा दम्पत्तीसँग हाल ७ वर्षकी छोरी सिमान्त छिन् । राजामामाले विहे गर्न मान्नु भएको थिएन ।

प्रतिष्ठानले विहे गरे घर बनाई दिने र अन्नपात, लत्ता कपडाको जोहो पनि गरिदिने विश्वास दिलाए पछि राजामामा विहे गर्न राजी हुनु भएको थियो । प्रतिष्ठाले कुसुण्डा दम्पत्तीको सयुक्त नाउँमा व्यास नगरपालिका–५ को डिही गाँउमा एक रोपनी जग्गा खरिद गरि तीन कोठे टिनले छाएको घर बनाई दिएको छ । प्रतिष्ठानका अनुसार कुसुण्डा भाषा तनहुँमा राजमामा कुसण्डा , प्युठानका लिलाबहादुर कुसुण्डा र दाङका प्रेमबहादुर शाही गरी तिन जना मात्रै वक्ता फेला पार्न सकिएको छ ।

होचो कद , बाटुलो अनुहार हँसिला मिजासिला राजामामा हाल ६५ वर्षको हुनु भयो । लोक गीत सुन्न , मादल बजाउन , धनुष वाण लिई जंगली जनावरको शिकार गर्न राजामामा मन पराउनुहुन्छ । सरकारको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत व्यास नगरपालिकाले कुसुण्डा दम्पत्ती र छोरी समेतलाई गरी मासिक एक÷एक हजार रुपैया गरि तीन हजार रुपैयाँ दिने गरेको छ । कुसुण्डा जाति अल्पसङ्ख्यक तथा लोपोन्मुख भएकाले अन्यलाई भन्दा धेरै भत्ता दिने गरेको हो । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठाले राजामामाको परिवारलाई वार्षिक २० हजार मूल्य बराबरको घरायसी आवश्यकता समान किनी दिने गरेको छ भने छोरी सिमान्तको पढाईको मासिक फि तिर्दै आएको छ । राजामामा दम्पत्ती हालअल्पसङ्ख्यक कुसुण्डा जातिका मानिसहरुको धेरै सन्तान नहुने , जङ्गलमा बस्ने भएकाले भएकाहरु पनि नबाच्ने र अन्य जातीसँग बिवाह गर्दै जाने हुनाले यो जातिको अस्तित्व सङ्कटमा परेसँगै भाषा पनि लोप हुने खतरा बढेको हो ।

साभार गाेरखापत्र दैनिक

फोटो साभार दि काठमाण्डु पोस्ट

 क्याटेगोरीः समुदाय