शनिबार नेवाः एकता दिवस मनाइने


इसमता संवाददाता
काठमाडौं, पुस १९ । नेवार समुदायभित्रका अनेकतामा एकता ल्याउने उद्देश्यका साथ आउँदो शनिबार ललितपुरमा नेवाः एकता दिवस मनाइने भएको छ ।

नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले एक पत्रकार सम्मेलन आयोजना गरेर सोको जानकारी दिएको थियो । उक्त अवसरमा समितिका अध्यक्ष माइलाबाबु द्यःलाले केही दिन अगाडि सरकाबरबाट संसदमा प्रस्तुत गरिएको संविधानमा नेवाः स्वायत्त राज्य सुनिश्चित नभएको र अन्तरिम संविधानमा व्यवस्था भएको आदिवासी जनजाति र उत्पीडित समुदायका अधिकार समेत कटौती भएकोले त्यस संविधानप्रति असहमति देखाउँदै नेवाः स्वायत्त राज्य ल्याउन संघर्ष समिति अघि बढिरहेको बताए ।

उनले हाल सरकारले बाटो चौडा बनाउने नाममा काठमाडौं उपत्यकाका घर भत्काउनुका साथै जग्गा अधिग्रहरण गरेकाले यसमा आपत्ति जनाउँदै उपत्यकाब्वापी सडकविस्तार पीडित संघर्ष समितिले गर्नलागेको बुधबारको उपत्यका बन्दमा सक्रिय समर्थन गर्ने पनि बताए ।

साथै समितिले भुकम्प पीडितहरुका लागि पुनस्थापना कार्यमा सरकारले ठोस काम गर्न नसकेको भनी आलोचना पनि गरेको छ । त्यससँगै हाल पुरानो बसपार्कमा त्यहाँ काठमाडौं भ्यू टावर भन्ने व्यापारिक भवन बनाउन लागेकोमा पनि आपत्ति व्यक्त गरे ।

एकता दिवसका दिन पुस २३ गते शनिबार ११ बजे ललितपुर पुलचोकबाट र्याली आयोजना गरी दिउँसो मंगलबजारमा एकता दिवस विशेष सभाको आयोजना गरिने आयोजकहरुले बताए ।

 क्याटेगोरीः समुदाय