स्थानीय निकायको कारण काष्ठमण्डप संरक्षण अलपत्र


इसमता संवाददाता
काठमाडौं, साउन १९ । काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले भूकम्पमा भत्केको काठमाडाैंंकै पहिचानको श्रोत भएको १४ सय वर्ष पुरानो काष्ठमण्डपको पुनःनिर्माणमा सरकार उदासीन भएकोले सबै नेपाली जनतालाई एक जुट भएर यसकार्यमा अघि बढ्न आग्रह गरको छन् ।
उनले काठमाडौं महानगरपालिका लगायतका निकायले स्थनीय जनतालाई काम गर्न समेत अवरोध खडा गरेको बताए ।
उनले भने, “हामीले असार १० गतेभन्दा पहिले नै समाप्त गर्ने गरी काम गरेका थियौँ । महानगरपालिकाले हस्तक्षेप गरेपछि अहिलेसम्म त्यो टहरा बन्न सकेको छैन । यस वर्षको पानी जगमा पसेर १४ सय वर्ष पुरानो जग बिगार्यो भने त्यो अपूरणीय क्षति हुनेछ । यसको जिम्मेवारी महानगरपालिका, पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिनुपर्नेछ ।”

 

काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग तथा काठमाडौं महानगरपालिकाबीच गत २०७४ वैशाख २९ गते काष्ठमण्डपको पुनर्निर्माणको दायित्व यस अभियानको हुने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

 

उनका अनुसार अभियानले काष्ठमण्डपको जग संरक्षणका लागि जस्ताको छाना भएको बाँसको टहरो बनाउने कार्य सुरु गर्दा काठमाडौं महानगरपालिकाले असार ५ गते हस्तक्षेप गरी हामीसँग भएको साँचो लैजाने र काम गर्न रोक्ने कार्य गरेको थियो ।
श्रेष्ठले बताए, “हामीले कुमारी द्यो सामु काष्ठमण्डपको पुनर्निर्माण गर्ने संकल्प गरेको स्मरण गर्दै हाम्रो पहिचान र सभ्यताको संरक्षण गरी भावि पुस्तालाई हस्तान्तरण गर्न एक जुट हुन पनि सबैसँग आग्रह गर्दर्छौ ।”

 

अभियानले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । त्यसका सम्बन्धमा हामीले पटकपटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकालाई चारै पक्षको बैठक गरी समस्या समाधान गर्न अनुरोध गरेका थियौँ । वर्षायाम सुरु भएकाले काष्ठमण्डपको जगमा पानी पसेर थप क्षति गर्न नपाओस् भनी हामीले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण पनि गराउँदै आएका थियौँ ।

 

महानगरपालिकाले नै भए पनि टहरा बनाएर जगमा पानी पस्नबाट जोगाउनु आवश्यक भएको महसुस गरी हामीले तयार गरेको डिजाइनसमेत दिएर सहयोग गरेका थियौँ । तर, महानगरपालिकाले त्यसलाई खासै महत्त्व दिएन । पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणले पनि जगमा पानी पसेर क्षति हुनसक्ने विषयलाई गम्भीरतापूर्वक लिएनन् ।
यस विषयमा हामीले सबै निकायलाई घचघच्याइरहेकै बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफलका लागि भन्दै बोलाएर निर्माणको जिम्मा महानगरपालिकाले लिने भन्ने मौखिक निर्णय सुनाइएको छ । हामी सरकारी निकायहरूको त्यस एकपक्षीय अनौपचारिक निर्णयमा सहमत छैनौ ।

महानगरपालिकाको कार्यशैलीको उदाहरण त महानगरभर नै देखिन्छ । काष्ठमण्डपकै हकमा पनि जग संरक्षणका लागि टहरा बनाउने कामसरकारी पक्षले काष्ठमण्डप पुनर्निर्माणमा देखाएको उपेक्षा र गरेको व्यवहार यथार्थमा नेपाल मण्डलको सभ्यताप्रति गरिएको षड्यन्त्रकै एउटा अंग हो । काष्ठमण्डप (मरु सतः) संसारकै अद्वितीय भवनमात्र हैन नेवा सभ्यताको अनुपम उदाहरण पनि हो । यससँग विभिन्न नेवा समुदायको जीवनचर्या अभिन्नरूपमा गाँसिएको छ । यसैकारण यो भौतिक संरचनाभन्दा पनि जीवन्त सम्पदा मानिन्छ ।

“तर, सरकारी निकायका पदाधिकारीहरूको सोच र प्रवृत्ति भने यसलाई सामान्य भौतिक संरचना ठान्ने प्रकारको देखियो । यो षड्यन्त्रकै अंग हैन भने चरम अज्ञान हो र यस्ता सोच भएकाहरूको जिम्मामा हामी काष्ठमण्डपलाई लगाउन सक्तैनौ भन्ने स्पष्ट पार्न चाहन्छौँ, ” विज्ञप्तिमा भनिएको छ ।

 क्याटेगोरीः संस्कृति