भारतीय प्रहरीकाे कारवाहीमा मसालकाे अापत्ति
इसमता संवाददाता
काठमाडाैं जेठ २१ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले डोटीमा भारतीय प्रहरीहरू आएर एकजना नेपालीलाई अपहरण गर्न प्रयत्न गरेकोमा र त्यस प्रकारको गैर कानूनी कार्यमा संलग्न भारतीय प्रहरीहरूलाई नेपाल सरकारले स–सम्मान मुक्त गरिदिएकोमा  आपत्ति जनाएकाे छ ।
त्यो कार्यले वर्तमान सरकारको भारतपरस्त चरित्रलाई उदाङ्गो बनाइदिएको छ भन्दै सरकारको त्यस प्रकारको चरित्रले आउने दिनमा नेपालको राष्ट्रियतामाथि अरू गम्भीर खतराको सङ्केत दिएकाे पनि जनाएकाे छ ।
महामन्त्री मोहनविक्रम सिंहले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ  — भारतीय प्रहरीहरूले जुन नेपालीलाई अपहरण गर्ने प्रयत्न गरे, उसलाई गिरफ्तार गर्नु पर्ने आवश्यकता थियो वा थिएन ? भारतमा उ कुनै गैरकानूनी अपराधमा संलग्न थियो वा थिएन ? त्यो मुख्य विचारणीय विषय होइन । उ त्यस प्रकारको कुनै अपराधजन्य कारवाहीमा संलग्न भएको भए पनि दुई देशका बीचको सन्धि वा सम्झौतानुसार कानूनी प्रक्रियाद्वारा भारतले त्यो व्यक्तिको सुपुर्दगीको लागि कारवाही चलाउनु पर्ने थियो । त्यसो नगरिकन भारतीय प्रहरीहरूद्धारा नेपालको भूमिमा पसेर अपहरण गर्ने प्रयत्न गर्नु अन्तर्राष्ट्रिय कानून, दुई देशका बीचको सन्धि र समझौताका विरुद्धको तथा नेपालको सार्वभौमिकताको पनि विरुद्धको कुरा हो ।
भारतीय प्रहरीले बारम्बार त्यस प्रकारको हस्तक्षेपको कार्यवाही गर्ने साहस किन गर्दछ  भने  नेपालका विभिन्न राजनीतिक दल वा सरकारको भारतपरस्त चरित्र  छ र त्यसले गर्दा नै भारतीय प्रहरी वा शसस्त्र बलद्धारा बारम्बार नेपालका सीमाहरूको अतिक्रमण हुँदै आएको छ भन्दै विज्ञप्तिमा भनिएकाे छ —  “त्यसैले डोटीको काण्ड प्रकट रूपमा जति गम्भीर देखिन्छ त्योभन्दा कैयौँ गुणा गम्भीर छ र सम्पूर्ण देश, नेपाली जनता र राजनीतिक शक्तिहरूको पनि त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छ ।”
 

 क्याटेगोरीः राजनीति