शतप्रतिशत क्षतिपूर्तीसहित मुआब्जा दिइने


इसमता संवाददाता
इलाम, बैशाख १६ । राष्ट्रिय गौरवको आयोजना काबेली कोरीडोरका आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले आयोजना प्रभावित इलाम जिल्लाको इलाम नगरपालिका ७ का साविक सिद्धिथुम्कावासीलाई सतप्रतिसत क्षतिपूर्ती सहित मुआब्जा दिने बताएका छन् । उनले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले शनिबार आयोजनामा गरेको प्रभावित स्थानीयबासी र कोरीडोर बीच गरेको छलफल कार्यक्रममा यस्तो बताएका हुन ।

 

आयोजना प्रमुखले प्रभावित स्थानीयवासीको जिज्ञासालाई समाधान गर्दैे माग अनुसार तत्कालै जग्गाको नापजाँच गर्ने, आयोजनाको समग्र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (आईइइ) हेर्न दिने, आधिग्रहण गरिएको भौतिक संरचनाको सतप्रतिशत क्षतिपूर्ती सहित मुआब्जा दिने प्रकृया तत्कालै थाल्ने स्थानीयवासीलाई जानकारी गराए ।.

 

कोरीडोरको गोदकदेखि अमरपुर काबेलीसम्मको एक सय ६३ वटा टावरको ११ नम्बर टावर देखि २५ नम्बर टावर भएको साविक सिद्धिथुम्का गाविसको वडा नं ४ र ५ का स्थानीयवासीले आयोजनाले जानकारी नै नगराई आफ्नो घर जग्गा जबरजस्र्ती अधिग्रहण गरी टावर गाडेको आरोप लगाए । प्रभावित स्थानीयवासीले नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा सर्घष समितिनै बनाएर प्रभावितको घर जग्गाको नापजाँच गर्नुपर्ने, समग्र वातावरणीय प्रभाव मूल्याङ्कन (आईइ) हेर्न पाउनु पर्ने, अधिग्रहण गरिएको भौतिक संरचनाको सतप्रतिशत क्षतिपूर्ती र मुआब्जा दिन माग गर्दै आएको सर्घष समितिका अध्यक्ष प्रकाश तामाङले जानकारी गराए ।

 

सर्घष समितिले स्थानीय वास्तविक प्रभावितको सहभागी बिना जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको जग्गाको मूल्याङ्कन प्रतिवेदन पुनरावलोकन हुनुपर्ने, समग्र वातावरणीय प्रभाव मूल्याङ्कन (आईइइ) हेर्न पाउनु पर्ने माग गर्दै केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा समेत माग पत्र पेश गर्दै सत प्रतिशत क्षतिपूतीसहित मुआब्जा दिलाई दिन आग्रह समेत गरेका थिए ।
क्षतिपूर्तीका लागि अधिग्रहण गरिएको जग्गाको मूल्याङ्कन चित्त नबुझेको बताउँदै छलफलमा स्थानीयलेवासीले यसलाई पुनरावलोकन गर्न समेत छलफलमा माग गरेका छन् । केहि दिन अघि सर्घष समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको माग पत्रका बारेमा जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने जग्गा मूल्याङ्कन उपसमितिले गरेको प्रतिवेदन पुनरावलोकन हुन नसक्ने जानकारी गराउँदै मूल्याङ्कन गरिएको क्षतिपूर्ती लिन आग्रह गर्दै स्थानीयवासीलाई राष्ट्रिय गौरवको आयोजनालाई सफल बनाउन आग्रह समेत गरेका छन् ।

 

स्थानीयवासीले भने आफूहरु विकासको विरोधी नभएको बताउँदै जीवनभरी कमाएको भौतिक सरंचनाको उचित मूल्याङ्क गरी चित्त बुझाए आयोजनालाई सफल बनाउन सहयोग गर्ने स्थानीय सर्घष समितिका सदस्य सुशन तामाङले बताए ।

सर्घष समितिले एक सय ३२ केभीको विद्युत प्रशारण लाइनले स्थानीय बजार क्षेत्रको एक सय चालिस घर परिवार प्रभावितको तथ्याङ्क सार्वजनिक गर्दै सबै प्रभावितको समस्या समाधान गर्न आग्रह समेत गरे । कोरीडोरको प्रतिवेदनमा भने ९२ घर मात्रै प्रभावित भएको आयोजना प्रमुअ द्विवेदीले जानकारी गराए ।

याम माबोहाङ लिम्बूबाट

 क्याटेगोरीः आदिवासी जनजाति