सिन्धुलीगढीमा २५० साइकल यात्री सहभागी हुने
इसमता संवाददाता
काठमाडौं—समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा आगामी कात्तिक २४ गते मनाउने विजयोत्सवमा सहभागि गराउन काठमाडौंबाट २ सय ५० जना ब्यवसायिक साइकल यात्रीलाई लैजाने घोषणा गरेको छ । अभियानले सोमबार पत्रकार सम्मेलन गरी ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला गरेको छ । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्षको कात्तिक २४ गते विजयोत्सव मनाउने गरिएको छ । 
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ ।  साइकल यात्रा २०७४ कात्तिक २३, २४ र २५ गते तीन दिन हुनेछ । ‘साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, साइकल यात्राका संयोजक ढकालले भने, ‘यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने हाम्रो योजना छ ।’ यात्रामा जान अभियानले गत कात्तिकमा भएको विजयोत्सवका बेला काठमाडौंबाट ८० जना ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढी लगेको थियो । 
‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने समृद्ध सिन्धुली नागरिक अभियानले प्रयत्न गर्ने समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । ‘रमणीय वीपी राजमार्गहुँदै हुने साइकल यात्राको मनोरंजन लिन हामीले देशविदेशका साइकल यात्रीलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘हरेक बर्ष कात्तिक २४ मा हुने साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थलको प्रबर्धन गर्ने हाम्रो योजना छ । उनले नागवेली सडक, सुनकोशी तिरैतिरको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने बताए । 

 क्याटेगोरीः खेलकूद