पथरी-शनिश्चरे नगर कप २०७३ मा वडा नं. ९ विजयी


करन धिताल
पथरी, माघ १० ।     बुद्ध युथ क्लब पथरीको आयोजनामा पथरीशनिश्चरे नगर कप २०७३ को आइतबार भएको खेलमा वडा नं. ९ विजयी भएको छ ।
वडा नं. ९ ले वडा नं. ५ लाई शुन्यको विरुद्ध २ गोल अन्तरले पराजित गरेको छ । खेलको २९ औं मिनेटमा पाएको फ्रिकिकलाई सही सदुपयोग गर्दै वडा नं. ९ का सुजन लिम्बुले गोलको खाता खोलेका थिए । यसैगरी खेलमा निक्कै राम्रो अवसरहरु प्राप्त गरेपनि वडा नं. ५ ले गोल गर्नबाट चुके । खेलको ४७ औं मिनेटमा सुजन लिम्बुको क्रसलाई सहज तरिकाले प्रहार गर्दै वडा नं. ९ का प्रकाश धिमालले गोल गरे । खेलको म्यानआफ द म्याच विजेता वडा नं. ९ का पहिलो गोलकर्ता सुजन लिम्बु घोषित भए । आज (सोमबार)को खेल वडा नं. १ र वडा नं. १३ बीच हुने आयोजकका सोनु थापाले जानकारी दिए ।

 क्याटेगोरीः खेलकूद