करोडौं बोनस बाँड्दै नागरिक उड्डयन प्राधिकरण

काठमाडौं, पुस २५ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने ‘विवादास्पद’ निर्णय गरेको छ। यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रुपैयाँ छुट्ट्याएको छ।

संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको हो। उक्त निर्णय सहमतिका लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरिसकेको छ। पर्यटनबाट सहमति आउनासाथ प्राधिकरणको उक्त निर्णय अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ।

प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा पर्यटनमन्त्री रहने व्यवस्था छ। बोनस बाँड्ने निर्णय गर्ने सञ्चालक समिति अध्यक्ष र पर्यटन मन्त्रालयमा बोनसका लागि सहमति दिने व्यक्ति एउटै हुँदा निर्णय विवादास्पद बन्न पुगेको छ।

आर्थिक वर्ष ०६२/६३ देखि निरन्तर नाफामा रहेको उड्डयन प्राधिकरणको सञ्चालक समितिले कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको हो। आर्थिक वर्ष ०६८/६९ देखि ०७१/७२ सम्मको हिसाब गरी उक्त परिमाणको बोनस बाँड्न लागिएको हो। ती वर्ष सरकारलाई कुल १ अर्ब ४७ करोड लाभांश बुझाइएको प्राधिकरणले जनाएको छ। सञ्चालन नाफा ५ अर्ब हाराहारी रहेको प्राधिकरणले दुई चरणमा बोनस बाँड्ने जनाएको छ। समाचार आजको नागरिकमा छापिएको छ ।

प्राधिकरणका अनुसार कुल बोनस रकमको ७० प्रतिशत कर्मचारी कल्याणकारी कोषमा जम्मा गरिने र बाँकी ३० प्रतिशत बोनसका लागि छुट्ट्याइएको छ। यस हिसाबले प्राधिकरणका ८ सय कर्मचारीले पहिलो चरणमा १५ करोड ९८ लाख १० हजार रुपैयाँ पाउनेछन्। यो भनेको प्रतिकर्मचारी औसत १ लाख ९९ हजार ७ सय ६२ रुपैयाँबराबर हो। कल्याणकारी कोषमा जाने रकम भने कर्मचारीले अवकासपछि पाउनेछन्।

प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय हो। यसको आम्दानीको मुख्य स्रोत त्रिभुवन विमानस्थल हो। यहाँ हाल दर्जन हाराहारी आन्तरिक वायुसेवा तथा २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। यहाँ जहाजलाई ‘ग्राउन्ड ह्यान्डलिङ’, ल्यान्डिङ, पार्किङ, नेभिगेसनल लगायतबाट शुल्क तथा विमानस्थल विकास शुल्क र यात्रु सेवाशुल्क पनि उठाउने गरिन्छ। त्यसबाहेक प्राधिकरणअन्तर्गत हाल ३२ वटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेका छन्।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७३/७४ का लागि २६ अर्ब ३८ करोड ५३ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ। यसमा ४ अर्ब ६३ करोड ५७ लाख आम्दानी, १ अर्ब ८४ करोड विमानस्थल विकास शुल्क तथा ऋण, सेयर र अनुदान १९ अर्ब ९० करोड ९६ लाख रुपैयाँ छन्।

 क्याटेगोरीः