समावेशी वृद्धि नगरमा निर्भर गर्छ


लामिया कमाल चाइ तथा एमी लियु

पेरिस, वासिङटन, डीसी, ८ मङ्सिर । हामी अशान्त समयमा बाँचिरहेका छौँ र यथास्थितिप्रति जनअसन्तोष बढिरहेको छ । जननिराशाका कारण मुलुक÷मुलुकबीच फरक छन् तर केही व्यक्तिको पक्षमा अर्थतन्त्रलाई उपयोग गरिएको छ भन्ने धारणा बढिरहेको छ र यो नै सबैतिरको पाइने कुरा हो ।

वास्तवमै अर्थतन्त्र वृद्धिको फाइदा निकै उच्च आय गर्ने व्यक्तिहरूमा बढ्दो रूपमा गइरहेको छ । आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसीडी) मलुकमा आर्थिक वितरणका माथिल्ला १० प्रतिशत व्यक्तिहरूले तल्ला १० प्रतिशत व्यक्तिहरूको तुलनामा दश गुणा धेरै कमाउँछन् र यो ३० वर्षअगाडि भन्दा सात गुणा बढी हो । सन् २०१२ मा ओईसीडीका तुलनात्मक तथ्याङ्क उपलब्ध भएका १८ मुलुकहरूमा माथिल्ला १० प्रतिशत व्यक्तिहरूले कूल गार्हस्थ सम्पत्तिको ५० प्रतिशत प्राप्त गरेको र तल्लो ४० प्रतिशत व्यक्तिसँग तीन प्रतिशत सम्पत्ति मात्र रहेको देखिएको थियो ।

असमानता नयाँ उचाइमा पुग्दा हामी सबैले मूल्य तिर्नुपर्छ । सन् १९९० देखि २०१० बीच ओईसीडीका मुलुकहरूमा असमानता कुल गार्हस्थ उत्पादनको ६ देखि १० प्रतिशतसम्म बढेको थियो । जब सबैभन्दा गरिब जनताले आफ्नो सम्भावना पूरा गर्न सक्दैनन् तब आर्थिक वृद्धिमा कठिनाइ आउँछ ।

जब नीतिनिर्माता तथा राजनीतिक नेता आर्थिक वृद्धिलाई बढी समावेशी गर्ने बाटो खोज्छन् तब कुनै पनि समाधानमा नगरले केन्द्रीय भूमिका खेल्छन् । ओईसीडीको एक सर्वेक्षणले आधाभन्दा बढी जनता पाँच लाख भन्दा बढी वासिन्दा भएको नगरमा बसोबास गर्ने र सन् २००१ पछि रोजागरीको कुल वृद्धि तथा कुल गाहस्र्थ उत्पादनमा नगरको योगदान ६० प्रतिशत भएको देखाएको छ ।

यसो भए पनि यो वृद्धि समावेशी भएको छैन र क्यानडा बाहेक ओईसीडीका सबै मुलुकमा नगरमा असमानता राष्ट्रिय औसत भन्दा पनि बढी छ । ठूलो मन्दीपछि गत पाँच वर्षमा अमेरिकाका १०० ठूला महानगरपालिकामध्ये ९५ मा रोजगारी वृद्धि भएको छ र उत्पादन बढेको छ तर केबल २० प्रतिशतले मात्र औसत वेतनमान वृद्धि भएको देखेका छन् ।

हालैका आर्थिक फाइदाले सामान्य कामदारलाई समृद्ध बनाएको छैन तर धनी व्यक्तिले वृद्धिको फाइदा लिएका छन् र गरिबी अझै केन्द्रीकृत भएको छ । ब्रुकिङ्स इन्स्टिच्युटले गरेको एक अनुसन्धानअनुसार सन् २००० पछि अमेरिकामा धनीको तुलनामा छिमेकी गरिबको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ ।

यसको मूल्य निकै परसम्म तिर्नुपर्छ । आय यथावत भए पनि धनीको तुलनामा छिमेकी गरिबको सङ्ख्या बढ्दा व्यक्तिको जीवन आयुको सम्भावना नाटकीय रूपमा घट्दै जाने देखिएको छ । लन्डन तथा बाल्टिमोर जस्ता महानगरपालिकामा धनी र उनीहरूको छिमेकी गरिबको जीवन आयुको भिन्नता निकै फरक वा २० वर्षभन्दा बढी हुनसक्ने देखिएको छ ।

आर्थिक अवसर तथा असमानता दुबैको स्थलको रूपमा नगरलाई हामीले असमानताका समस्या समाधान गर्ने स्थानको रूपमा हेर्नुपर्छ । मार्च महिनामा ओईसीडी, फोर्ड फाउन्डेसन, ब्रुकिङ्स तथा अन्य संस्थाहरूले न्यु योर्क नगरका मेयर बिल डे ब्लेजियो तथा विश्वका अन्य २० मेयरसँग साझेदारी गरी नगरमा समावेशी वृद्धिको प्रयास नामक कार्यक्रम आरम्भ गरेका छन् । साझेदारीयुक्त समावेशी वृद्धिको विषयलाई परिभाषित गर्न क्षमतावान मेयरहरूलाई भेला गराएर यस प्रयासले आर्थिक अवसर सिर्जना गर्न तथा व्यक्ति तथा संस्थाको उत्पादक क्षमता वृद्धि गर्न मेयरहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरालाई स्वीकार गरेको छ ।

हालै बुकिङ्ले आयोजना कार्यक्रममा ओईसीडीका महासचिव एन्जेल गुरियाले असमानता कम गर्न नगरले काम गर्नसक्ने चार प्रमुख क्षेत्रको विषयमा छलफल गर्नुभएको थियो । पेरिसका मेयर एन हिडाल्गोले नोभेम्बर २१ मा पेरियामा आयोजना गर्ने बैठकमा यी विषयलाई थप परिमार्जन गरिनेछ ।

पहिलो त नगरले सबै उमेर तथा पृष्ठभूमिका जनताले बजारमा बिक्री गर्न सकिने सीप सिक्नसक्ने व्यावसायिक विद्यालयमा लगानी गरी शैक्षिक प्रणालीलाई बढी समावेशी गर्नुपर्छ । उदाहरणका लागि एटलान्टामा मेयर कसिम रिडले युवालाई वित्तसम्बन्धमा जानकारी उपलब्ध गराउन, आलोचनात्मक तरिका सोच्ने सीप सिकाउन र कम्प्युटर कोड लेख्न सिकाउन नयाँ व्यवसाय स्थापना गर्न सघाउने स्थानीय संस्था, नगरको जनशक्ति विकास संस्था तथा एक कम्प्युटर प्रोग्रामिङ शिक्षण संस्थाबीच साझेदारी आरम्भ गर्नुभएको छ ।

दोस्रो त नगरले महिला, युवा, आप्रवासी तथा विपन्न जनतासहित सबै जनतालाई रोजगारी तथा उद्यमशीलताका अवसर सुनिश्चित गर्नुपर्छ । सन् २०१५ को वर्षा तथा सन् २०१६ को वसन्तसम्म आठ हजार शरणार्थी स्वीकार गर्ने स्टकहोममा मेयर कारिन वानगार्डले वयस्कका लागि नयाँ प्रकारको विद्यालयको विकास गरिरहनुभएको छ । एकीकृत एकीकरणको रणनीतिको एक भागको रूपमा नयाँ विद्यालयले भाषा, संस्कृति तथा स्टकहोमको रोजगारी बजारमा सहभागी हुन आवश्यक पर्ने प्राविधिक प्रविणता सिकाउनेछ । सोलमा मेयर पार्क वन–सुनले लक्षित वित्तीय सहयोग, निष्पक्ष कारोबार, उपकरारका नियम तथा अनौपचारिक कामको नियमितीकरणका साथमा साना तथा मध्यमस्तरीय उद्यमका लागि समान कार्यक्षेत्र निर्माण गरिरहनुभएको छ ।

तेस्रो, नगरले सुरक्षित तथा स्वस्थ छिमेकमा सबैका लागि उच्चस्तरको तिर्न सकिने आवास सुनिश्चित गर्नुपर्छ । पेरिसमा हिडाल्गोको ‘‘पहिलो अस्वीकार गर्ने अधिकार’’ ले महानगर प्रशासनलाई बिक्रीका लागि आएका निश्चित बसोबास क्षेत्रका आवासगृह प्राप्त गरी विस्थापित हुने जोखिममा परेका गरिब वासिन्दालाई उपलब्ध गराउनसक्ने अधिकार दिएको छ ।

अन्तमा नगरले सार्वजनिक यातायात, खानेपानी, उर्जा, फोहरमैला व्यवस्थापन तथा ब्रोडब्यान्ड जस्ता सार्वजनिक आधारभूत संरचना तथा सेवा सबैका लागि सुनिश्चित गर्नुपर्छ । न्यु योर्कमा डे ब्लेजियोको न्युयोर्क नगर परिचयपत्र नामक प्रयासले घरविहीन, कागजात नभएको आप्रवासी, पूर्वपीडितसहित सबै वासिन्दालाई सरकारले निःशुल्क उपलब्ध गराएको परिचयपत्र उपलब्ध गराइरहेको छ र यसको सहयोगका कारण सीमान्तीकृत समूहले पनि नगरको साधन उपयोग गर्नसक्छन् ।

नगरमा समावेशी वृद्धिको प्रयास तथा संयुक्त राष्ट्र सङ्घको ह्याबिट्याट तेस्रो सम्मेलन जस्ता प्रयासले नगरमा बढ्दो असमानता विरुद्धको छाललाई रोक्न सहयोग गरिरहेका छन् । सामुहिक विश्वव्यापी समस्याका लागि हामीले जति बढी स्थानीय समाधानलाई उपयोग गर्नसक्छौँ त्यत्ति नै धेरै प्रगति हामी गर्न सक्छौँ ।

(लामिया कमाल चाइ ओईसीडीको उद्यमशीलता केन्द्र, एसएमईज, स्थानीय विकासका निर्देशक तथा समावेशी विकास प्रयासका लागि क्षमतावान मेयर कार्यक्रमका प्रमुख हुनुहुन्छ । एमी लियु ब्रुकिङ्स इन्स्टिच्युटका उपाध्यक्ष तथा यसका महानगरपालिका नीति कार्यक्रमका निर्देशक हुनुहुन्छ ) । रासस

 क्याटेगोरीः विश्व