अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि


मिङमा सिं तामाङ

जन्मजात वा विभिन्न कारणले अपाङ्गता भई अत्यन्त कष्टकर जीवन बिताई रहेका अपाङ्गता भएका बालबालिकाहरुको पुर्नवास गराउने उद्देश्य राखेर “अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाल” स्थापना भएको हो । यो संस्था काठमाडौं गोकर्णमा रहेको छ ।२०५९ मा स्थापना भएको यस केन्द्र अपाङ्गता भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा, स्वास्थ्यको अवसर दिलाउन क्रियाशिल रहेको छ । स्थापना काल देखि नै अशक्त, गरीव अपांगता भएका व्यक्तिहरुललाई पुर्नस्थापना गर्नमा अहंम भूमिका निर्वाह गदैं आएको छ । यसका अतिरिक्त परिवार, समाजबाट अपहेलित अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाई परनिर्भरता हटाउन विभिन्न सिपमुलक तालिमहरु पनि संस्थाले प्रदान गर्दै आईरहेको छ ।

स्थापनाको वर्ष, ५ जना बालबालिकालाई आवास, शिक्षा, स्वास्थ्य र आयमुलक तालिमको व्यवस्था गरि उनीहरुको सक्षम, साक्षर र आत्मनिर्भर बनाउने कार्यमा प्रशंसनीय सफलता हासिल गरेको यस संस्थामा अहिले झण्डै ५५ जना अपा्रता भएका व्यक्ति तथा बालबालिकाहरुले आश्रय लिँदै आएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमुलक तालिम दिई आफ्नो जीवीकोपार्जन गर्न सक्षम तथा सक्षम व्यक्तित्व विकासको अवसर प्रदान गर्दै आइरहेको यस केन्द्रको संस्थापक अध्यक्ष टंक तिवारी हुनुहुन्छ । हाल संस्थालाई राम्रोसँग संचालन व्यवस्थापन गरी आफ्नै विद्यालय भवन समेत बनाउन उल्लेख्य योगदान पुर्याएकोमा फेरी अध्यक्षमा र्सव सम्मत निर्वाचित हुनु भएका किपा शेर्पा वर्तमान अध्यक्ष हुन् ।

संस्थाको स्थापनाको सम्वन्धमा संस्थापक अध्यक्ष टंक तिवारी भन्छन्, “ यो अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालको स्थापना २०५९ साल वैशाख २३ गते हामी अपाङ्गता भएका साथीहरु मिलेर नै स्थापना गरिएको हो । यो नेपालको विकट जिल्ला वा गाउँमा कष्टकर अवस्थामा रहेका भाईबहिनीहरुलाई स्वास्थ्य, शिक्षा, गाँस, वास, कपासको लक्ष्य लिएर स्थापना गरिएको हो । ५ जनाबाट शुरु गरेर यसलाई क्रमश थप गर्दै लगेर अहिलेको अवस्थामा १३ वर्षको अन्तरालमा हामीले ७२२ जना भाईबहिनीहरुलाई आत्मनिर्भर शिक्षित र पुर्नस्थापित गरी सकेका छौं । हालको अवस्थामा ५५ जना बालबालिकाहरुको हामीसँग आवासीय रुपमा गोकर्ण स्थित संस्थाको आवास गृहमा छन् । उनीहरुलाई हामीले दैनिक गाँस, वास, कपास, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाई रहेका छौं । ”

 क्याटेगोरीः स्वास्थ्य