३३ किलो सुनको सुनका मालिक पत्ता लगाउनै गाह्रो

काठमाडौं, पुस २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद ३३ किलो सुनको ‘मालिक’ अझै पत्ता लाग्न सकेको छैन ।  सुन बरामद भएको दुई दिन बित्दा पनि प्रहरी सुन मालिकको खोजीमा छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सुराकका आधारमा सुन बरामद गरे पनि सुन मालिक पत्ता लागी नसकेको ब्युरोका प्रहरी उपरीक्षक मीरा चौधरीले स्वीकार्नुभएको छ ।  बरामद सुनसँगै पक्राउ परेका तीन व्यक्तिले आफूहरू ‘भरिया’ भनेपछि उन्मुक्ति पाएका छन् ।  त्यस्तै, केही दिनअघि कलङ्कीबाट सात किलो अवैध सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक व्यक्तिलाई निजी सवारी साधनसहित पक्राउ ग¥यो ।  सुन बोकेर रसुवाबाट काठमाडौँ आएका चालक कुसाङ लामाले आफू भरिया बताएपछि उन्मुक्ति पाए ।

त्यसअघि मङ्सिरमा बौद्धबाट बरामद १० किलो सुनको मालिकाको सम्बन्धमा पनि अझै पत्तो लाग्न सकेको छैन ।  महानगरीय प्रहरी वृत्त बौद्धले अवैध सुनका मालिकको खोजी भइरहेको जनाएको छ ।  महानगरीय प्रहरीका अनुसार, जेठदेखि पुससम्ममा राजधानीबाट ५५ किलो अवैध सुन बरामद भएको छ ।
तर, सुन मालिक भने पक्राउ पर्न सकेका छैनन् ।  प्रहरीले अवैध सुन विशेष सुराकीका आधारमा बरामद गर्ने गरेको छ ।  बौद्धमा पटक–पटक गरी तीन पटकमा १२ किलो, पेप्सीकोलाबाट तीन किलो, कलङ्कीबाट सात किलो र विमानस्थल बाहिरबाट ३३ किलो सुन बरामद भएको छ ।  यी सबै सुन प्रहरीले सुराकका आधारमा बरामद गरेको हो ।  सुन मालिक पत्ता नलाग्नु घटना आफैँमा रहस्यमय बनेको छ ।  अवैध सुन ओसारपसारमा संलग्न भरिया भने सहजै पक्राउ पर्छन् ।  ती अवैध सुन तस्करीका घटनामा सात जना भरिया पक्राउ परेका छन् ।  समाचार आजको गोरखापत्रमा छापिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भन्नुभयो, ‘अवैध सुनको सूचना आउँछ तर सुन मालिकको नाम नखोल्ने भएकाले पत्ता लगाउनै गाह्रो हुन्छ । ’ सुन बोक्ने व्यक्ति नै मालिक भए पनि भरिया भएको बयान दिने भएकाले अनुसन्धान गर्नसमेत समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।
सुन तस्करीका मालिक फरार र भरिया मात्र पक्राउपर्ने भएकाले सुनको अवैध ओसारपसार तथा कारोबारमा नियन्त्रण आउन नसकेको दाबी सुन व्यवसायीको छ तर, प्रहरीले भने सुराकीबाट प्राप्त हुने सूचनाका आधारमा सुन बरामद गर्दा भरिया मात्र पक्राउ पर्ने गरेको जनाएको छ ।

सुन तस्करीको रुट परिवर्तन
त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँच कडा पारेपछि सुन तस्करले रुट परिवर्तन गरी हङकङ चीनबाट सिन्धुपाल्चोक तातोपानी नाका हुँदै स्थलमार्ग प्रयोग गरी नेपाल र भारतसम्म सुन ओसारपसार गर्दै आएका थिए ।  खाडी मुलुकबाट समुद्री मार्ग हुँदै आयात गरिएको सुन पनि चीनको नाकाबाटै नेपाल भित्र्याउने गरेका थिए ।  नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत निर्यात हुन्छ ।

 क्याटेगोरीः