शंखधरया बाखंको पहिलो प्रदर्शन आज


इसमता संवाददाता

काठमाडौं, पुस २ । नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म “शंखधरया बाखं”को आज राजधानीमा पहिलो प्रदर्शन भयो ।

एक वर्षभन्दा बढी समय लगाएर बनाएको उक्त फिल्ममा शंखधर साख्वाःले काठमाडौंवासीको सबै ऋण तिरिदिएर यसै खुशियालीमा नेपाल देशको नामबाट नेपाल संवत् शुरु गराएको घटनाक्रमलाई समेटेको छ ।

गत वर्ष नेपालमा गएको भूकम्पमा सयौं अमूल्य सम्पदाको नाश भएको र कसैले पुनःनिर्माणमा चासो नदेखाएको प्रसंग र ११ सय वर्ष पहिले एक जना सज्जनले सम्पुर्ण गरिबीमा पल्सिएका नेपालीहरुको उद्धार गरेको प्रसंगलाई कलात्मक ढंगले जोडेको यस फिल्ममा विशेष नेपालीलाई आफ्नो देश र धरोहरको संरक्षण गर्न आफुले सक्दो सहयोग गर्नुपर्छ भन्ने सन्देश समेत दिएको छ ।

करिब ४५ मिनेट लामो यस फिल्म नेवार भाषामा बनेको छ र यसमा अंग्रेजी सबटाइटल्स राखिएको छ ।

हाल बेलायतमा बसोबास गरिरहेका संयुक्त श्रेष्ठले यसको निर्माण तथा निर्देशन गरेका छन्। एक दशक अगाडि उनले स्थापना गरेको संस्था यन्त्रकलाले विभिन्न अव्यवसायिक छोटा चलचित्रहरु बनाइरहेको जानकारी दिएका छन् । उनले स्वअध्ययन र विशेषज्ञहरुको परामर्श पश्चात् नेपालको संस्कृति र इतिहास झल्कने शंखधर साख्वाःको नेपाल संवत् स्थापनाको प्रसंग इतिहास वा किंवदन्ती जे भएपनि त्यही रुपमा प्रस्तुत गरेको उनले बताए । “शंखधर साख्वाको चरित्रबाट नेपालीले प्रेरणा लिनुपर्छ,” उनले पठाएको भिडिओ सन्देशमा उनले भनेका छन् ।

 क्याटेगोरीः कला साहित्य