तरकारीबाट आम्दानी बढाउँदै चेपाङ


रत्ननगर (चितवन), असोज २७ । गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर मकै कोदो लगाएर बस्ने विकट गाउँका चेपाङको दिनचर्या फेरिन थालेको छ ।

अहिले कतिपय चेपाङ बाख्रा पालनमा सक्रिय छन् भने कतिपय तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेको शक्तिखोरका दलबहादुर चेपाङको भनाइ छ ।
केही चेपाङ अझै छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजार्दै आए पनि धेरैजसो भने व्यावसायिक हुन थालेका छन् । चन्डिभञ्याङका कुमार चेपाङले अहिले तीन कट्टा जग्गामा तरकारी खेती गरेका छन् ।

उहाँको बारीमा धनिया, केराउ, टमाटो र साग खेती छ । अघिल्लो वर्ष १० धुरमै १४ क्विन्टल टमाटो बेच्नुभएका उहाँले अहिले सोही क्षेत्रमा गोलभेँडा लगाएका छन् ।

बनु चेपाङले पनि डेढ कट्ठा जमिनमा गोलभेडा र डेढ कट्ठामा केराउ छ । दसैँको मुखमा दुई क्विन्टल तरकारी बेचेर खर्चको जोहो भएको उहाँको भनाइ छ । अघिल्लो वर्ष १५ देखि २० रुपैयाँ प्रति किलो रहेको गोलभेडा अहिले प्रतिकिलो रु ४५ का दरले बेच्दा निकै फाइदा भएको बनु बताउँछन् ।

“दस–पन्ध्र हजार रुपौयाँ लगानी भएको थियो, अहिले झण्डै रु ६० हजार आम्दानी भएको छ । बनुले भने, यो पाली युवा लक्षित कार्यक्रमले र रु ४० हजार अनुदान पनि पाइयो ।”

चन्डिभञ्याङको आदमारा गाउँमा ४५ घर चेपाङ छन् तीमध्ये ३० घरले व्यवसायिक रुपमा तरकारी खेती गरेका हुन् ।

उहाँहरु जस्तै दीपा चेपाङले समेत घरमा तरकारी खेती गरेका छन् । उनको आठ कट्ठामा केराउ छ । दुई कट्ठामा धनियाँ, एक कट्ठामा सागलगागत गरेर १४ कट्ठामा तरकारी खेती गरेको दीपा बताउँछन् ।

अघिल्लो वर्ष तरकारी खेतीबाट रु एक लाख ७५ हजार कमाइ गर्नुभएकी दीपा यो वर्ष रु दुई लाख कमाउने योजनामा छन् । यसपालि दसैँमा रु दुई लाख बढीको त उहाँले खसी पनि बेचे ।

उहाँहरुजस्तै विकट गाविस दारेचोक, कोराक, लोथर, सिद्धि, काउलेलगायत क्षेत्रमा अहिले आदिवासी जनजाति र अतिसीमान्तकृत चेपाङ विभिन्न पेसामा व्यावसायिक रुपमा लागेका छन् ।

युवा लक्षित कार्यक्रममा समेत चेपाङको सहभागिता बढ्न थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरे बताउँछन् ।

उहाँका अनुसार कृषि कार्यालयले अघिल्लो वर्षदेखि गाउँमा व्यावसायिक तरकारी खेतीका लागि सहयोग गर्दै आएको छ । रासस

 क्याटेगोरीः अल्पसंख्यक