नेपाः पार्टीमा डा. सैंजुको नेतृत्व


इसमता संवाददाता
काठमाडौं, साउन २८ । पार्टीका संस्थापक अध्यक्ष नै अरु पार्टीमा गएपछि नेतृत्व विहिन रहेको नेपाः राष्ट्रिय पार्टीको आजको अधिवेशनले पुर्व महासचिव रहेका डा.विजय सैंजुलाई नयाँ अध्यक्षको रुपमा निर्वाचित गरेको छ ।

अन्य पदका लागि आइतवार बस्ने केन्द्रीय सदस्यको बैठकले निर्णय गर्ने बताइएको छ । साथै अहिले ५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने र १७ सचीवालय सदस्य बनाउने निर्णय पनि नयाँ नेतृत्वले गरेको छ ।

यसका साथै अहिले पार्टीले पहिचानसहितको १० जोड १ प्रदेशको अवधारणालाई आफ्नो अवधारणा बनाएर लाने निर्णय गरेका पनि पार्टीले जनाएको छ ।

यस अघि आयोजित उद्घाटन सत्रमा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालका हरेज जाति जनजातिको अधिकारको लागि सबैले पहिचानको मुद्दामा सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

जनकवि दुर्गालाल श्रेष्ठले पार्टीका नेतृत्ववर्गलाई आत्मलोचना गरी अगाडि बढ्न सल्लाह दिए ।

अध्यक्ष सुवर्ण केशरी चित्रकारले पार्टीले आन्तरिक रुपमा केही समस्या झेल्नुपरेकोले संगठन विस्तार केही पछि परेको बताइन् ।

उक्त कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, ज्यापु महागुथिका अध्यक्ष राजभाइ जकःमि, नेवार अधिकारकर्मी डा महेशमान श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना सन्देश दिएका थिए ।

२०६४सालमा काठमाडौं उपत्यकालाई केन्द्रीय कार्यक्षेत्रको रुपमा स्थापित यस पार्टीले पहिलो संविधान सभामा समानुपातिक बाट बुद्ध साय्मिलाई सदस्य चुनेको थियो भने दोश्रो संविधान सभामा समानुपातिक बाट लक्ष्मण राजवंशीलाई चुनेको थियो । तर राजवंशीले एकलौटी ढंगले पार्टीको हित विपरित पहिचान विरोधीहरुसँग सहकार्य गरेको भनी पार्टीले निष्काशन गरी कारवाही गरेको थियो । राजवंशी अहिले आफुलाई संविधान सभामा पठाएको यस पार्टीसँग कुनै सम्पर्क नराखी आफ्नै नयाँ पार्टी खोली संविधान सभाद्वारा प्राप्त सुविधा भोग गरिरहेको पार्टी सुत्रले बताएको छ ।

 क्याटेगोरीः राजनीति