समानताको भाषा एस्पेरान्तो


राजेन मानन्धर

संसारमा कति भाषा होलान् ? हाम्रो जस्तो सानो देश नेपालमा नै सयभन्दा बढी भाषा छ भने यत्रो संसारको सात अरब वासिन्दाले बोल्ने भाषाहरू यति नै छन् भनेर गन्नु असम्भव नै नभए पनि त्यत्ति सामान्य कुरा पनि होइन ।

 

अब एकातिर संसारका सबै मानिस एक हुन्– को गोरा को काला, को धनी को गरीब, को सभ्य को असभ्य, सबै मानिस भाइभाइ भएर बाँच्नु पर्दछ भनेर विश्व भातृत्ववादको नारा घन्काइन्छ, बसुधैव कुटुम्बकम् जपिन्छ भने अर्कोतिर यो अंग्रेजी बोल्ने, यो जापानी बोल्ने, यो नेपाली बोल्ने भनेर मानिस मानिसको वर्गीकरण गर्ने मात्र हैन, बोलिने भाषाको आधारमा जातीय दुश्मनी र ऐतिहासिक शत्रुतालाई बीचमा पर्खाल बनाएर बैमनुश्यताको भावना समेत श्रृजना गर्ने हाम्रो परिपाटी रहिआएको छ । यस्तो वातावरणमा हामी यो कल्पना मात्र गर्न सक्छौँ कि संसारको अर्को कुनामा जाँदा भाषिक समस्या आइनपरोस् अनि आफ्नो घरका सदस्यसँग झैँ कुराकानी गर्न सकियोस् तर यथार्थमा यो सम्भव देखिँदैन किनभने एउटै भाषामा पनि भौगोलिक र अन्य कारणहरूले गर्दा साधारण असमानता आएर विभिन्न भाषिकाहरूको निर्माण हुन जान्छ भने यत्रो ठूलो संसारमा सबैको मुखमा एउटै मात्र बोली हुनसक्ला भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन ।

 

आजको युगमा मानिसहरूको विभिन्न देशहरूसँग विभिन्न सम्बन्ध रहिरहन्छ, संसारभरका देशहरूमा जानु भनेको टोल छिमेकीको घर जानु जत्तिकै भइरहन्छ । यस्तो अवस्थामा सबै देशको सबै भाषा सिकिराख्ने कुरा पनि आएन । त्यसैले आज भोलि यस्तो एउटा भाषा, जसले दुई विभिन्न भाषभाषी देश बीच विचारको आदानप्रदान गराउँछ, त्यसको आवश्यकता महसुस गरिनु स्वभाविक हो ।

 

यसका लागि अन्तर्राष्ट्रिय सञ्चारको निमित्त एउटा देशको भाषा विश्वका अन्य देशवासीहरूले सिकेर आफ्नो देश बाहिर उक्त भाषाको माध्यमबाट सञ्चार गर्न सक्दछ । यहाँ कुन चाहीँ भाषालाई यस्तो अन्तर्राष्ट्रिय भाषाा बनाउने भन्ने प्रश्न हाम्रो सामू आउँछ र कुनै एक सम्पन्न देशको भाषा नै विश्व प्रयोजनको लागि उपयुक्त वा स्तरीय मानिन्छ । यो उपाय पनि राम्रै हो तर यो त्यसबेला मात्र मान्य हुनेछ, जुनबेला संसारका सबै मानिसले त्यस देशप्रति समर्पणको भावना राख्न मञ्जुर गर्दछ । अन्यथा कुनै पनि स्वाभिमान व्यक्ति अन्तर्राष्ट्रिय प्रयोगको लागि भनेर कुनै देश विशेषको भाषा सिक्न मन पराउँदैन । उसले आफ्नो मातृभाषाको पनि उत्तिकै अस्तित्व देख्छ, जत्ति विदेशी भाषाको हुन्छ । अर्को, यस्तो विदेशी भाषा सिकेर बोलेमा उसले कहिल्यै पनि त्यत्ति राम्रो र स्पष्ट बोल्न सक्दैन , जत्ति त्यो देशको एक अनपढ व्यक्तिले बोल्न सक्छ अनि त्यस्तो परिस्थितिमा असमानताको वातावरण श्रृजना हुनु स्वभाविक पनि हो ।

 

यस बाहेक यस किसिमको प्रक्रियाले गर्दा विश्व समक्ष उक्त भाषाका धनी देशको प्रतिष्ठा स्वतः बढ्छ र अप्रत्यक्ष रूपमा उपनिवेशले झैँ अरु देशले त्यो देशलाई सम्मानको दृष्टिले हेर्नुपर्ने हुन्छ र त्यहाँको संस्कृति र रहनसहरन अँगाल्नु पर्ने हुन्छ ।

 
यस प्रकारको विश्वभाषाको कुरा गर्दा हामी नेपालीहरू साधारणतया अंग्रेजीलाई अगाडि राख्छौँ । बाह्र वर्ष स्कुल क्याम्पसमा पढेर पनि जाँचमा पास हुन धौधौ पार्ने यो भाषा के विश्वभाषा बन्न सक्ला ? प्रश्न हाम्रै लागि पनि सोचनीय छ । त्यसमाथि पनि संसारको जुनसुकै कुनामा पनि अंग्रेजी बोलिन्छ भन्ने धारणा राख्नु गलत हुनेछ । युरोपकै कुरा गर्ने हो भने पनि ब्रिटिश द्वीपहरू बाहेक अन्य देशहरूमा विरलै मात्र अंग्रेजी बोलिन्छ ।

 

कुनै एक भाषाका प्रभुत्वबाट बच्न एउटा तटस्थ, सजिलो, चाँडै सिकिने र कुनै देशको राजनीति एवम् संस्कृतिमा आँच नआउने भाषाको “निर्माण” गर्ने विचार मानिसहरूले धेरै पहिलेदेखि गरिआएका थिए । विश्वको पहिलो कृत्रिम अन्तर्राष्ट्रिय भाषाको रूपमा भोलापुक (Volapuk) लाई लिन सकिन्छ । मार्टिन स्लेयरले ई. १८८० सम्ममा बनाइसकेको यो भाषा एकताका सफल नै भयो तर पछि केही वर्षमै सिक्न गाह्रो, नमिल्ने गरी बनाइएका शब्द इत्यादि कारणले लोप हुन गयो ।

 

ई. १८८७ को जुलाई २६ तारिखका दिन यस्तै अर्को भाषा एस्पेरान्तो (Esperanto) को जन्म भयो । यस दिन डा. एस्पेरान्तो (आशावादी) भन्ने उपनामले रुसी भाषाबाट पहिलो पुस्तक नामक एउटा सानो पुस्तक प्रकाशित भएको थियो । जसमा सिक्न अत्यन्तै सजिलो एउटा भाषा सम्बन्धी साधारण जानकारी दिइएको थियो । यसका लेखक डा. लाजारो लुदोभिक जामेनहोफ थिए । जसको जन्म ई. १८५९ को डिसेम्बर १५ का दिन तत्कालीन रुसी प्रान्त व्यालिस्तोक (हाल पोल्याण्ड) मा भएको थियो । त्यो प्रान्तमा राजनैतिक अस्थिरताको कारणले गर्दा विभिन्न देशका वासिन्दाहरू आएर बसेका थिए । तिनीहरूमा भाषिक असमानता रहेकोले एक आपसमा शत्रुता रहिरहन्न्थ्यो । यो परिस्थितिले बालक जामेनहोफलाई निकै प्रभावित गर्यो । यसैको फलस्वरुप उनले अन्तर्राष्ट्रिय भाषाको प्रारुप ई. १८७८ भित्र तयार पारे तर ऊ विदेशमा पढ्न जाँदा उनका बुबाले यसलाई वाहियात भनेर जलाइदिए । जामेनहोफ मस्को र वार्सामा चिकित्साशास्त्र अध्ययन गर्न गए र ई. १८७९ देखि १८८५ भित्र डाक्टरको उपाधि हासिल गरे । आँखाको चिकित्सक भएपछि आफ्नो लक्ष्यमा उसले पुनः कलम बढाए र ६ वर्षको अविरल खोज कार्य र अथक परिश्रमको फलस्वरुप उसले कल्पना गरेजस्तो अन्तर्राष्ट्रिय भाषाको पूर्ण रुप तयार भयो । उनले आफ्नो पुस्तक छपाउनका लागि कैयन ठाउँमा प्रयास गरे तर कसैले छापिदिन मानेन । यसैताका उनले क्लारा जिल्वेर्निकसँग विवाह गरे । तिनैका बुबाको आर्थिक सहयोग पाएर उनी पहिलो पुस्तक प्रकाशित गर्न सफल भए । दोश्रो पुस्तक १८८७ ई. मा निस्कियो जुन एस्पेरान्तो भाषाबाटै लेखिएको थियो । त्यसपछि विभिन्न देशबाट निस्किने गरेका एस्पेरान्तो पत्रिकाहरूले यस भाषालाई सुदृढ पार्नमा मद्दत पु¥यायो । यहाँ उनले आफ्ना हितैसी एन्थोनी ग्रोबोस्कीका सल्लाह र नर्वेका जोन्सनको चिन्हको पनि प्रयोग गरेका थिए । पाँचकुने हरियो तारालाई यस भाषाको प्रतीक चिन्हको रूपमा लिइन्छ । यसको हरियो रङ्ग आशाको प्रतीक हो र ताराको पाँचकुनाले पाँच महाद्वीपको प्रतिनिधित्व गर्दछ र यो आशा लिइन्छ कि यस नयाँ भाषाले सबैलाई एकीकरण गर्नेछ ।

जामेनहोफले पत्राचारको माध्यमबाट संसारको कुनाकुनामा यस भाषाको प्रचार गर्दै गए र यस आदर्शलाई अनुशरण गरेर थुप्रै देशका मानिसहरूले यस भाषा सिक्न र सिकाउनमा अभिरुचि देखाए । यसैको परिणाम स्वरुप आफ्नो ठूलो परिवार र कमजोर आर्थिक अवस्थाका बावजुृद पनि यिनी ई. १९०५ मा पहिलो एस्पेरान्तो महाधिवेशन (कंग्रेस) फ्रान्सको बुल्योन–सुर्–मेर शहरमा गराउन सफल भए । यसमा ३३ देशका करीब ७०० एस्पेरान्तोविद्हरू भाग लिन आएका थिए र तिनीहरूले भाषिक समस्याविना यसै भाषाको भरमा महाधिवेशन सञ्चालन गरे । यसपछि ई. १९०८ मा विश्व एस्पेरान्तो संघको स्थापना भएपछि यसको प्रचार विश्वव्यापी रूपमा नै भयो । उता आफ्नो सानो डाक्टरी पेशाले परिवारलाई आर्थिक सन्तुष्टि दिन भने जामेनहोफ सकेनन् र थुप्रै उतारचढावहरू पार गर्दै अन्ठाउन्न वर्षको उमेर (ई. १९०७) मा यिनले जीवन त्यागे ।

 

आजभोलि यस भाषालाई सं.रा. संघ तथा युनेस्कोले स्थान दिएको छ । त्यस्तै विश्वका सयभन्दा बढी देशमा यस भाषा बोल्नेहरू छन् र तिनीहरू आ–आफ्नो देशको एस्पेरान्तो संघ मार्फत विश्व एस्पेरान्तो संघसँग सम्बद्ध छन् । यो भाषा पर्यटनको क्षेत्रमा बढी प्रयोग भएको पाइन्छ । आफ्नो देश विश्व सामू चिनाउन यस भाषाको प्रयोग गर्न मन पराउँछन् । विभिन्न देशबाट एस्पेरान्तो सम्बन्धी हुलाक टिकट र खाम प्रकाशनमा ल्याइन्छ । विश्वका एक सय पच्चिसभन्दा बढी विश्वविद्यालयहरूमा यस भाषाबाट अध्ययन गर्ने सुविधा छ । यस भाषाको साहित्यिक भण्डार पनि ठूलो छ – यसै भाषामा लेखिएका हजारौं पुस्तकहरुका साथै सबै देशहरुले आफ्ना देशमा साहित्य यस भाषामा अनुवाद गरेर प्रकाशन गरेका छन् । यस भाषाको साहित्य बाहेक दुई सयभन्दा बढी पत्रपत्रिका विभिन्न देशबाट निस्कन्छन् रेडियो र टिभी कार्यक्रमहरु छन्, अहिले युट्युब च्यानलहरु बनेका छन् । यस भाषामा सयौं वेभसाइट र ब्लगहरु खोलिएका छन्, फेसबुकमा ग्रुप र पेजहरु बनेका छन् । हाल आएर मोबाइलमा पनि थुपैं यस भाषा सिक्ने एप्सहरु बनेका छन् । यसरी इन्टरनेटको माध्यमबाट सित्तै यो भाषा सिक्न सकिने अवस्था छ ।

 

यस बाहेक आज यो विश्वको सामू विभिन्न देशबासीहरू बीच व्यक्तिगत सम्पर्क कायम गर्ने अद्वितीय माध्यम भएको छ । विभिन्न देशमा पत्रमित्रता गर्ने सजिलो माध्यम हुनुका साथै कुनै पनि देशमा बस्ने किन नहोस्, एक एस्पेरान्तोविद् अर्कोसँग भेट्नासाथ राजनैतिक सीमाना नाघी आत्मीय मित्र बन्दछन् । अझ युरोपेलीहरू त आफ्ना पत्रमित्रहरूलाई खाने बस्ने व्यवस्था गरिदिएर बोलाउँछन् । फेसबुककाे प्रचलन अाएपछि यस्ताे सम्बन्ध झन् ब्यापक हुन थालेकाे छ ।

 

विश्वयुद्धका केही वर्ष विराएर वर्षेनी यसका वार्षिक महाधिवेशनहरू भइरहेका छन् । जस्तै दशौँ महाधिवेशन ई. १९१५ मा पेरिसमा भएको थियो । त्यस्तै ब्रिटेन, जर्मनी, पोल्याण्ड, जापान, सं.रा. अमेरिका, चीन इत्यादि देशमा हुँदै अहिले १०२औं एस्पेरान्तो महाधिवेशन दक्षिण कोरियाको सोलमा भइरहेको छ ।

 

सन् १९९६मा युनेस्कोका अधिकारीहरुले प्रागमा भएको एस्पेरान्तो महाधिवेशनमा प्राग घोषणा पत्र जारी गरे, जसले एस्पेरान्तोका आधारभूत उद्देश्यहरु झल्काउँछ । यसअनुसार एस्पेरान्तोका मार्गनिर्देशक सिद्धान्तहरु यी हुन् १. लोकतन्त्र २. अन्तर्राष्ट्रिय शिक्षा ३. शिक्षणशास्त्रकोे प्रभाविकारिता ४. बहुभाषिकता ५. भाषिक अधिकार ६. भाषिक विविधता र ७. मानव मुक्ति ।

 

नेपालमा एस्पेरान्तो भाषाको प्रचलन ई. १९५६ मा श्री टिबोर सिकेलले गरेका थिए र यसैताका काठमाण्डौ एस्पेरान्तो समाजको गठन भयो । त्यसपछि श्री सिमो मिलोयेभिच आएर ई. १९६९ सम्म यो भाषा सिकाएर गए । त्यसबेला सिकेका करीब ३०० जना विद्यार्थीमध्ये महाकवि देवकोटा र समको पनि नाम आउँछ । त्यसबेला श्रीप्रसाद श्रेष्ठ, बैकुण्ठ मान मास्के, तीर्थराज वन्त र पं केशवराम जोशी तथा गंभीरमान श्रेष्ठ अादि सक्रिय थिए । पछि यो विभिन्न कारणले यो अभियान सिथिल हुनगयो ।

 

फेरि ई. १९९० मा पोल्याण्डका योआकिम वेर्डिन आएर करीब ६० जनालाई सिकाए यसैबेला नेपाल एस्पेरान्तो संघको गठन भयो । त्यसपछि बेलाबेलामा एस्पेरान्तो सिकाउने काम लगायत अन्य गतिविधि पनि सो संघले गरिरहेको छ । नेपाली—एस्पेरान्तो शव्दशकोष लगायतका केही पुस्तक र पत्रपत्रिकाहरु प्रकाशन भएका छन् । बेलाबेलामा एस्पेरान्तोका कक्षाहरु पनि सञ्चालन हुन्छन् । हरेक वर्ष जस्तै नेपाल एस्पेरान्तो संघका प्रतिनिधिहरु विभिन्न देशमा एस्पेरान्तो महाधिवेशनमा भागलिन जान्छन् । विदेशीहरु नेपालमा आउने र नेपालीहरु विदेशमा जाने क्रम चलिरहेको छ । यसरी हेर्दा नेपालमा एस्पेरान्तो भाषाको विकास भइरहेको देखिन्छ ।

 

जहाँ जहाँ भाषिक साम्राज्यवादहरूको बोलाबाला हुन्छ त्यहाँ त्यहाँ सिक्न सजिलो, बहुभाषावाद, भाषिक अधिकार र भाषिक विविधतामा विश्वास गर्नेहरूको भाषाः एस्पेरान्तो एक तटस्थ उपचार भएर उभिन्छ । त्यसमा पनि यसले अहिले भाषिक न्यायलाई आफ्नो नारा बनाएको छ । यस भाषालाई विभिन्न देशमा विभिन्न परिवेशमा विभिन्न प्रकारका मानिसले आफ्नो आफ्नो रुचि र उद्देश्यअनुसार प्रयोग गर्छन् । यहाँ कसैले कुनै भाषा प्रयोग र संरक्षण गर्नलाई कसैले दिएको हकको आवश्यकता पर्दैन । यही भएर जुलाई २६ (एस्पेरान्तो भाषाको पहिलो पुस्तक निस्केको दिन)लाई संसारभरका एस्पेरान्तोभाषीहरूले आफ्नो दिवसको रुपमा मान्छन् र “भाषिक न्याय”लाई आफ्नो उद्देश्यको रुपमा संसारभरिका एकभाषा नीति लगाएर आफ्नो भाषा लाद्न खोज्नेहरूका अगाडि तिखो जवाफ भएर तेर्सिन्छन् ।

 क्याटेगोरीः समाज