चुनावमा सेनाको प्रयोग गलत हो : यादव


गठबन्धनद्वारा विरोध कार्यक्रम सार्वजनिक

इसमता संवाददाता

काठमाडौं, बैशाख ३ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले सेना परिचालन गरेर भएपनि जनभावना विपरित स्थानीय निकायको चुनाव गराइ छाड्ने संकेत देखाएको भन्दै यसो भएमा अप्रिय परिणाम निस्कने बताएका छन् ।
“चुनावमा सेनाको प्रयोग गलत हो । सेना लगाएर गरिएको चुनाव स्वतन्त्र हुन सक्दैन । सेना लगाएर चुनाव गर्ने चलन निरंकुश व्यवस्थामा पनि भएको थिएन । यहाँ यस्तै हुन लागेको देखिन्छ,” उनले आज संघीय गठबन्धनको विरोध कार्यक्रम सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बाल्दै भने ।
उनले अहिलेको सरकारले जुन स्थानीय निकायको चुनाव गर्न लागेको छ त्यो संविधान र संघीय व्यवस्थाको भावनाको विपरित भएकार बताउँदै संघीय व्यवस्थामा केन्द्रीय सरकारले स्थानीय चुनाव गराउनु असंवैधानिक भएको बताए । “केन्द्रीय सरकारलाई स्थानीय चुनाव गराउने अधिकारै हुँदैन संघीय प्रणालीमा , यो यसको कार्यक्षेत्र भित्रै पर्दैन,” उनले भने ।

 

हालै सरकारले दोश्रोपटल ल्याएको संविधान संशोधनको प्रस्तावको बारेमा उनले प्रधान मन्त्री पुष्पकमल दहालले संघीय गठबन्धन लगायतका मोर्चाहरुसँग पटक पटक वार्ता र छलफल गरेको तर उनीहरुका कुनैपनि मागलाई ध्यान नदिएको आरोप लगाए । उनले भने, “हामीसँग धेरै पल्ट बार्ता भएको हो । तर एक त हाम्रा कुराहरु उहाँ सुन्नुहुन्न , अनि सुनेपनि त्यस अनुसकारको संविधान संशोधन गर्ने मानसिकता राख्नु हुन्न । त्यसैले एउटा कुरा गर्नुहुन्छ, अर्को डकुमेन्ट बनाएर देखाउनुहुन्छ फेरि अर्के डकुमेन्ट लगेर दर्ता गराउनुहुन्छ । यो त उहाँको द्वैध चरित्र भयो ।”
उनका अनुसार अहिलेको अवस्थामा सजिलो र सर्वमान्य हलका लागि सबैभन्दा पहिला संविधान संशोधन गरिनु पर्छ, अनि संसदहरुको चुनाव गरिनुपर्छ र स्थानीयको चुनावको काम प्रदेशहरुलाई छोडिदिनु पर्छ ।
हालै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले आगामी आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

गठबन्धनले सरकारले हालै दर्ता गरेको संविधान संशोधन प्रस्ताव अधूरो र त्रुटिपूर्ण मात्र होइन आन्दोलनकारी मोर्चा र गठबन्धनसँग भएको सहमति विपरीत समेत रहेको जनाउँदै यसले जनताको कठोर, त्याग, संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु खासगरी पहिचान र अधिकारसहितको संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यतालाई समाप्त गरिएको बताएको छ ।
आज कार्यक्रममा वितररित प्रेस विज्ञप्तिमा भनिएको छ — “यो संशोधन प्रस्तावमा सहमति विपरीत स्थानीय तहको संरचनालाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत नराख्नु, सङ्घीय तहमा बहुभाषिक नीति नअपनाउनु, प्रदेशको भाषा प्रयोगको अधिकारलाई समेत केन्द्रमा बन्ने भाषा आयोगको सिफारिस चाहिने गरी झन् प्रतिगामी संशोधन दर्ता गर्नु, राष्ट्रिय सभाको संरचना गलत एवं विभेदकारी हुनु, सङ्घीय आयोगलाई सङ्घीय संरचना पुनरावलोकन गर्न सक्ने गरी समानुपातिक समावेशी र अधिकार सम्पन्न नबनाउनु, धारा २७४ को संशोधन प्रस्तावले पनि नयाँ प्रदेशको सिर्जना तथा सीमाङ्कन हेरफेरलाई असम्भव बनाउनु, प्रदेश नं ४ र ५ को सीमाङ्कन हेरफेरको प्रस्ताव फिर्ता लिनु, संविधानमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरूलाई राज्यको विशेष संरचना÷तहको मान्यता नदिनु, तिनिहरूको क्षेत्राधिकारको अनुसुची संविधानमा नराख्नु, स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नै नगरी स्थानीय तहको चुनाव घोषणा गर्नु जस्ता गलतकार्यहरु गरिरहेका छन् ।”
गठबन्धनले यस्ता गलत कार्यहरु तत्काल बन्द गरी संघीय संरचना लगायतका मुद्दाहरु सम्बोधन गरी सर्वप्रथम संघीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन गराउनु पर्दछ, अनि मात्र प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गरिनु पर्ने माग राखेको छ ।
जनताको अधिकार प्राप्ति र लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि भनेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा÷संघीय गठबन्धनले राष्ट्रिय आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । यस अनुसार बैशाख ५ गते जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश, बैशाख ७ गते  जिल्लाका प्रमुख स्थानमा लाठी÷सिटी जुलूश, बैशाख ९ गते  जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा गरिने भएको छ ।
त्यसपछि बैशाख १० गते  विराटनगर, भैरहवा र पाल्पामा आमसभा, बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा र बैशाख १२ गते  धनगढी, धरान र पोखरामा आमसभा गरिनेछ ।

आन्दोलनको अर्को चरण अन्तर्गत बैशाख १३ गते  गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन, बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश, बैशाख १५ गते  मधेश÷थरुहट र लिम्बूवान बन्द र बैशाख १६ गते  नेपाल बन्द कार्यक्रम पनि राखेको छ ।
त्यसपछि बैशाख १९ गते  मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन, बैशाख २६ गते  जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन, बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द कार्यक्रम रहेको आज जानकारी दिइएको छ ।

 क्याटेगोरीः आदिवासी जनजाति