६ मधेसी दलबीच एकता

काठमाडौ‌ चैत ८ ।

  • नयाँ दलको नाम ‘राष्ट्रिय जनता पार्टी’, तर पहिलो दिनमै विवाद
  • दलको नामबाट झिकियो ‘मधेस’ शब्द, २५ सिटसहित पाँचौं दल
  • पार्टीको चिह्न र झन्डामा ‘छाता’
  • वैकल्पिक राष्ट्रिय शक्ति बनाउने अध्यक्ष मण्डलको संकल्प
  • एकीकृत पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित समावेशी नेपाल’

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता गृहकार्यबारे समाचार लेख्दा मधेसवादी दलहरू मिल्न सक्नेमा धेरैले संशय व्यक्त गरेका थिए । तर यो संशयलाई छायामा पार्दै बिहीबार बिहान पौने २ बजे मधेसवादी दलबीच एकताको अन्तिम टुंगो लाग्यो । एकतापछि गठित राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका एक अध्यक्ष राजेन्द्र महतोले राजधानीमा अपराह्न घोषणा सभामा बोले, ‘मधेसी फुट्न मात्रै जान्दछन्, जुट्न सक्दैनन् भनी सोच्नेका लागि यो ऐतिहासिक सन्देश हो । मधेसवादी दलहरूको मात्रै होइन, सिंगै आन्दोलनको एकीकरण भएको छ । अब हामी कुनै जाति वा क्षेत्रको नभई राष्ट्रिय पार्टी भएका छौं ।’

बिहीबार बिहान जावलाखेलको एक निजी घरमा एकता टुंगो लगाउने दलहरूमध्ये सुरुमा ५ घटकमात्रै थिए– तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक । आफ्नो दलको महासमिति बैठकमा व्यस्त नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झा भने एकता घोषणासभा सकिन लाग्दा टुप्लुक्क झुल्किए ।

महन्थ ठाकुर बोल्दाबोल्दै उनी हलमा छिर्दा चर्को तालीले स्वागत भएको थियो । मोर्चाभित्र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाहेक सबै घटक अब नयाँ दलमा सामेल भएका छन् । एकीकृत नयाँ पार्टीको नाममा ‘मधेस’ शब्द हटाइएको छ । यसअघि उपेन्द्र यादव र विजय गच्छदारले आ–आफ्ना दलका छुट्टाछुट्टै एकता अभियान चलाउँदै मधेस शब्द हटाइसकेका छन् । ‘राष्ट्रिय जनता पार्टी’ (राजपा) को चुनाव चिह्न र झन्डामा ‘छाता’ रहनेछ । अब जनता पार्टी संसद्मा २५ सिटसहित पाँचौं दल बन्न पुगेको छ । यसअघि एकीकृत पार्टीको अध्यक्ष महन्थ ठाकुरमा सबै नेताहरूको मोटामोटी सहमति बनिसके पनि केही नेताले वरीयता विवाद निकालेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भयो ।समचार आजको कान्तिपुरमा छापिएको छ ।

रातभर चलेको एकता बैठकको समापन गर्दै नेता ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरे । उनले झन्डै दुई वर्षयता अनिर्णीत आन्दोलनलाई अब एकीकृत शक्तिले राजनीतिक निष्कर्षमा पुर्‍याउने बताए । ‘हामी झन्डै दुई वर्षदेखि वार्ता र आन्दोलनमा सँगसँगै छौं, तर त्यसले ठोस परिणाम दिएन, अब यो एकीकृत पार्टीले निर्णायक आन्दोलन गरेर संविधानमा संशोधनको वातावरण बनाउनेछ,’ उनले भने, ‘संविधान संशोधनपछि मात्रै हामी चुनावमा जाने हो ।’ ठाकुरले बिहीबार दिउँसो कार्यक्रममा मधेसी दलहरूलाई कतिपयले जाति र क्षेत्रमा आधारित भएर मात्रै काम गर्ने गरेको आरोप लगाए पनि अब यसले राष्ट्रिय दलको स्वरूप ग्रहण गर्ने बताए ।

 

 

 क्याटेगोरीः