१५ दिन भित्र काठमाडौँको खाल्डा पुर्न प्रधानमन्त्रीको निर्देशन

 काठमाडौं, साउन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन्।

आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायतका सरोकारवाला निकायका मन्त्रीहरु, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर मृत्यु भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन गरेका हुन् । समाचार आजको नागरिकमा छापिएको छ ।

‘सरकार भनेको जनताका लागि बनेको हो ।  जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ’ प्रधानमन्त्रीले निर्देशन दिर्दै भने, ‘काठमाडौंमा सडक हो कि पोखरी हो चिन्न नसक्ने भएका छन् । स्कुलका विद्यार्थीहरु हिड्दा हिड्दै ढलमा पसेका छन् । खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईहरु के गरिरहनु भएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरु तत्काल पुर्नुहोस्, त्यसको लागि थप बजेट चाहिए म उपलव्ध गराउँछु ।’

प्रधानमन्त्रीले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न समेत निर्देशन दिएका छन्। ‘तपाईहरुले आजै फिल्डमा गएर निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुर्नहोस्, फुटेका ढलहरु बनाउनुहोस्। ढलेका विजुलीको पोल गाड्नुहोस्’ प्रधानमन्त्रीले भने, ‘मैले अबको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् ।’

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागले समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् । ‘एउटै खाल्डो खनेर बनाउन सकिने तपाईहरु किन तीन पटक खाल्डो खन्नु हुन्छ’ प्रधानमन्त्रीले भने, ‘अव समन्वय गरेर काम गर्नुहोस् ।’

 क्याटेगोरीः