हैजाका बिरामी देखापरे

काठमाडौं, असार २० । उपत्यकामा वर्षायामसँगै देखापर्ने हैजा (भिब्रिओ कोलेरा) यस वर्ष पनि देखापरेको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरका तीन जनामा हैजाको जीवाणु देखिएको हो ।
महाशाखाका निर्देशक डा. भीम आचार्यले चापागाउँदोबाटो, सातदोबाटो र खुमलटारका बिरामीमा हैजाको जीवाणु भेटिएको जानकारी दिँदै सर्वसाधरणलाई हैजाबारे सचेत रहन आग्रह गर्नुभयो ।
गत वर्ष उपत्यकामा १६५ जनामा यस किसिमको हैजाको जीवाणु भेटिएको थियो भने तीमध्ये १२० जना ललितपुरका थिए ।
हैजालाई नियन्त्रण गर्न महाशाखाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र उपत्यकाका पानी ट्याङ्कर व्यवसायीसँग पनि छलफल गरिरहेको छ ।  वर्षायाम सुरु भएदेखि नै उपत्यकाका विभिन्न अस्पतालमा झाडापखालाका बिरामीको समेत भीड लाग्ने गरेको छ ।
डा. आचार्यले गत वर्ष उपत्यकामा सबैभन्दा धेरै ललितपुरमा १२०, काठमाडौँमा ४७, भक्तपुरमा एक र ठेगाना नखुलेका चारजना बिरामीमा हैजाका जीवाणु भेटिएको जानकारी दिनुभयो ।    समाचार आजको गोरखापत्रमा छापिएको छ ।
घरमा नियमित आउने खानेपानी, जारको पानी, ट्याङ्करबाट किनिएको पानीमा समेत हैजाको जीवाणु भेटिने भन्दै जारको पानी राम्रो होला भन्दैमा त्यतिकै नखान आग्रह गर्नुभयो ।  जुनसुकै पानीलाई पनि उमालेर पिउन उहाँले सुझाव दिनुभयो ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दूषित पानी, राम्रोसँग नपाकेको खाना र तरकारी, माछामासु, राम्रोसँग सफा नगरिएको फलफूलबाट समेत हैजाका जीवाणु सर्ने जानकारी दिनुभयो ।
मुख्यतया पानीबाटै सर्ने हो डा. पुनले भन्नुभयो, “पानी राम्रोसँग उमालेर पिएको अवस्थामा हैजाबाट बच्न सकिन्छ । ”
महाशाखा प्रमुख आचार्यले उपत्यकामा १९९० सालको भूकम्पपछि प्रत्येक वर्ष हैजाका बिरामी देखिने गरेको जानकारी दिँदै समयमै उपचार भए हैजाबाट कोही व्यक्तिको पनि मृत्यु नहुने बताउनुभयो ।  समाचार आजको गोरखापत्रमा छापिएको छ ।
उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी ट्याङ्कर व्यवसायी सङ्घ, जार व्यवसायी, रेस्टुराँ व्यवसायीहरूसँग खानेपानीमा पर्याप्त मात्रामा क्लोरिन मिसाएर मात्र सर्वसाधारणलाई वितरण गर्न आग्रह गर्नुभयो ।
सरुवा रोेग विशेषज्ञ डा. पुनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १५ जनासम्म झाडापखाला लागेका बिरामी आउने गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रायः असोज महिनासम्म हैजाका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

 क्याटेगोरीः स्वास्थ्य