स्वतन्त्र उम्मेदवारीको सन्देश

काठमाडौं, असार ५ । रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल नेकपाका जिल्लास्तरीय नेता अमित घर्तीले थबाङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिए। राजपा नेता रामदास गुप्ताले कपिलवस्तु नगरपालिकाको मेयरमा उम्मेदवारी दिए। स्थानीय निर्वाचनविरुद्ध तराई–मधेस र पहाडमा आन्दोलन गरिरहेका राजपा र नेकपाका नेता नै सशक्त उम्मेदवार बनेपछि स्वाभाविक रूपमा आन्दोलनको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ। दुवै उम्मेदवारले ‘जनताको भावनाअनुसार’ उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन्। त्यसकारण पनि यी दुई उम्मेदवारीभित्र विशेष अर्थ लुकेको छ ।

पहिलो सन्देश– आन्दोलन जनताको भावनाविपरीत छ भन्ने हो । स्थानीय राजनीतिक जानकारका अनुसार कपिलवस्तु नगरपालिकामा राजपा र थबाङ गाउँपालिकामा नेकपाको प्रभाव बढी छ । पार्टीको प्रभाव बढी हुनुको अर्थ त्यहाँका अधिक जनता ती पार्टीमा आबद्ध हुनु हो । त्यसो हो भने आन्दोलनरत दुई दलले आफ्नै कार्यकर्ता (जनता) को भावना बुभ्mन नसकेको देखिन्छ । जसको नाममा आन्दोलन भइरहेको छ, उनीहरू नै चुनावमा सहभागी हुन लालायित देखिनुले सम्बन्धित दलको जनाधार निर्वाचनको पक्षमा उभिएको प्रस्ट भएको छ । समाचार आजको नागरिकमा प्रकाशित छ ।

दोस्रो सन्देश– स्वयं आन्दोलनरत दल नै भित्री रूपमा निर्वाचन उपयोग गर्ने रणनीतिमा देखिएका संकेत हो। आफ्नो प्रभाव क्षेत्रमा आफ्नै नेताबाट परेका महŒवपूर्ण उम्मेदवारीप्रति सम्बन्धित दल मौन बस्नुले यस्तो संकेत गर्छ । कपिलवस्तु नगरपालिकामा उम्मेदवारी दिएका गुप्ता राजपा केन्द्रीय अध्यक्ष मण्डलका सदस्य हुन् । ५ नम्बर प्रदेश हेर्ने राजपा केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताको धारणा पनि स्वतन्त्र उम्मेदवारीप्रति ‘अपेक्षित’ आक्रामक देखिँदैन । ‘हामीले चुनावमा भाग लिन्न भनेका छैनौं, बरु मधेसको समस्या समाधान गरेरमात्र चुनावमा जाऔं भनेका हौं,’ उनी भन्छन्, ‘यही अवस्थाबीच चुनावमा भाग नलिने हाम्रो पार्टीको लाइन हो, कहाँ कसले स्वतन्त्र उम्मेदवारी दिए, हामीलाई जानकारी छैन।’

जनता ‘निःसर्त’ चुनाव चाहन्छन् । यो अहिलेको धरातलीय वास्तविकता हो । सहरमा आन्दोलनको चर्चा भइरहँदा गाउँमा आन्दोलनरत दलकै कार्यकर्ता चुनावमा सहभागी हुन लालायित देखिन्छन् । चारैतिर छाएको चुनावी उल्लासले उनीहरु पनि अछुतो छैनन् । यस्तो अवस्थामा चुनावमा सहभागी नहुँदाको असर स्वयं आन्दोलनरत राजनीतिक दललाई परेको छ । पार्टीको आधिकारिक नीतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेमात्र होइन, कतिपय नेताकार्यकर्ता अन्य दलमा समेत प्रवेश गरेका छन् । पार्टी केन्द्रले चुनाव बहिष्कारको नीति लिए पनि स्थानीय स्तरका अधिकांश कार्यकर्ता भने कुनै न कुनै उपाय झिकेर भोट हाल्न आतुर छन् । यसका लागि नेपालगन्ज उपमहानगरपालिका–१४, बालेगाउँका राजपा कार्यकर्ता कमलेशकुमार पाठकको मनस्थिति पढ्दा पर्याप्त हुन्छ । ‘तोकिएको मितिमा चुनाव त हुनैपर्छ तर हाम्रो आन्दोलनलाई पनि सम्बोधन गरिदिएको भए हुन्थ्यो भन्नेमात्र हो,’ उनी भन्छन् ।

सम्बन्धित लेखहरु

 क्याटेगोरीः