स्थानीय तहको केन्द्रमै मतगणना गरिने

काठमाडौं, बैशाख २७ । स्थानीय तह निर्वाचनको मतगणना सम्बन्धित स्थानीय तहकै केन्द्रमा गरिने भएको छ । प्रमुख तीन दलबीच पहिलो चरणको निर्वाचन सकेलगत्तै मतगणना गर्ने सहमति भएपछि निर्वाचन आयोगले मतगणना पनि सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको हो ।

आयोगले मतपेटिका ओसारपसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भन्दै सदरमुकामसम्म नलगी स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने जनाएको छ । आयोगले पहिलो चरणमा हुने २ सय ८३ ओटै स्थानीय तहको मतगणना एक साथ हुने पनि जनाएको समाचार आजको राजधानीमा छापिएको छ  ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘२८३ वटै स्थानीय तहको मतगणना एक साथ हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ ।’ उनले हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेको र सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुने पनि स्पष्ट पारे ।

 क्याटेगोरीः