सार्वजनिक शौचालयबाट चिया !


इसमता संवाददाता
विराटनगर, फागुन ५ । सार्वजनिक शौचालय भनेपछि आम मानिसको नाक खुम्चिन्छ । खानेबेलामा त यसको कुरै गर्न सकिँदैन । तर यहाँ भने आज अनौठो काम भयो । यहाँको एक सार्वजनिक शौचालयको फोहरबाट निस्केको ग्याँसमा पकाएर केही उत्साही परिवर्तनकारीहरुले चिया पिए ।

 

हाल यहाँको कोशी अञ्चल अस्पतालमा सार्वजनिक शौचालयमा संकलन हुने मलमुत्रलाई हालै निर्मित एक बायोग्यास प्लान्ट मार्फत खाना पकाउने ग्यासमा परिवर्तन गर्ने कामकामको आज यहाँ उद्घाटन गरियो । उक्त कार्यक्रममा यहाँ केही सामाजिक कार्यकर्ताहरुले त्यसबाट चिया पकाएर खाए ।

 

“यो एक रमाइलो अनुभव भयो । हामीले यहाँ चिया पकायौं र सँगै खायौं । यो यसकारण महत्वपूर्ण भयो कि यो यहीँ बनेको बायोग्याँसमा पकाइएको थियो । चिया भन्दा पनि यो कसरी मानव मलमुत्रको व्यवस्थापन गर्न सकिन्छ भन्ने एक नमुना बन्यो,” विराटनगर उपमहानगरपालिकाका समाजिक विकास अधिकृत पुनम कुमार दहालले भने ।
यो प्लान्ट अढाइ महिनामा चार लाख जति खर्चेर बनाइएको थियो । मलमुत्रलाई ग्यास बनाइसकेपछिको फोहरलाई हाल त ढलमा मिसाउने गरिएको छ तर पछि यस प्लान्टलाई अलिकति बढाएर कृषिकार्यमा प्रयोग गर्न सकिने जैविक मल बनाउने पनि योजना भएको पनि उनले बताए ।

 

साना शहर एकीकृत शहरी वातावरण प्रवर्धन परिवयोजना अन्तर्गत एशियाली विकास बैकको सहयोगमा विराटनगर उपमहानगरपालिकाले यहाँ ६ वटा सार्वजनिक शौचालयहरु बनाएको थियो । ती मध्ये एउटा यस अस्पतालको परिसरको शौचलयमा एरिसोन क्यानाडा नामक संस्थाको सहयोगमा बायोग्यास प्लान्ट स्थापना गरिएको थियो ।
साना शहर परियोजनाका प्रमुख उपेन्द्र कार्कीले यसप्रकारको सानो सानो कार्यले शहरको मुहार फेर्ने बताउँदै यस्ता प्लान्टहरु अन्य सार्वजनिक शौचालयमा पनि स्थापना गर्नुपर्ने बताए ।

 

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपक कोइरालाले उक्त प्लान्टको उद्घाटन गर्दै यस्तो फोहरबाट उत्पादन गरिने उर्जाले वातावरणका साथसाथै शहरको दीगो विकासमा समेत मद्दत पुर्याउने बताए र उनले तराइका शहरहरुमा खुल्ला क्षेत्र दिसा मुक्त बनाउन चुनौती रहकोका बताउँदै यसमा विकास निकायहरुको बलियो योगदनको अपेक्षा गरे ।
उनले २० घनमीटर क्षमता भएको उक्त प्लान्ट एकदम उपयोगी तथा कमखर्चिलो भएको बताउँदै यसको वातावरणमा पार्ने सकारात्मक प्रभावको पनि चर्चा गरे । “जम्मा एक धुर जग्गमा चारलाख रुपैंयामा यसले मलमुत्रको उपयोगी ढंगले व्यवस्थापन गर्न सकिँदोरहेछ,” उनले भने ।

 

यसको कार्यान्वयन पक्षको जिम्मा लिएको स्थानी गैसस ट्राफिक चेतना समुह नेपालका अध्यक्ष रेवत बहादुर कार्कीले यस परियोजनाले कसरी मानव मलमुत्रको व्यवस्थापन सहज ढंगले एवं राजस्व समेत संकलन गर्न सक्ने गरी गरेको बताउँदै यो सार्वजनिक शौचलयहरुलाई दीगो बनाउने उपाय हुनसक्ने बताए ।

 

एरोसानका अध्यक्ष डेविड केभिन गालागरले यो सजिलोसँग सार्वजनिक शौचलयमार्फत कसरी परिवर्तन देखाउन सकिन्छ भन्ने नमूना भएको बताए । साथै उनले नेपाल जस्तो विकासशील देशमा यसरी सानो तहमा नै सहयोग गर्न पाएकोमा खुशी पनि व्यक्त गरे ।

 क्याटेगोरीः विज्ञान-प्रविधि