सबै बाहुनहरु कहाँ बाहुनवादी हुन्छन् र !


बाहुनवाद र बाहुन जातमा भिन्नता 

जसले एउटा जातलाई बोक्छ र अन्य जातलाई हेप्छ,

र कुनै जात विशेषको सर्वाेच्चता र एकाधिकार स्थापित गर्न खोज्छ, त्यो बाहुनवादी हो


 

जातीय भेदभाव र छुवाछूतको प्रसंग उठ्नेबित्तिकै दलित–जनजाति मित्रहरु मच्ची–मच्ची बाहुनवादको विरोध गर्न थाल्छन् । अनि बाहुनवादको विरोध सुन्नेबित्तिकै बाहुन–बन्धुहरुका चाहिँ त्यसै–त्यसै कन्सिरी तातेर आउँछन् । तर बाहुनवादको विरोधका नाममा सिङ्गो बाहुन समुदायप्रति नै धारेहात लगाउनु र बाहुनवादको विरोध हुनेबित्तिकै बाहुनको विरोध भयो भनेर रिसाउनु यी दुवै अस्पष्टताका अभिव्यक्ति हुन् । जातीय विभेदको अन्त्य गरी समाजमा न्याय र समानता स्थापित गर्न यस्तो अस्पष्टता र अनावश्यक अभिव्यक्तिको उपचार आवश्यक छ ।

कतिपय दलित–जनजाति ‘बाहुनवाद’ भनेकै ‘बाहुन’ हुन् भन्ने बुझ्छन् र बाहुन जात देख्नेबित्तिकै नकारात्मक नजरले हेर्छन् जुन गलत हो । यस्तै कतिपय बाहुन–बन्धुहरुचाहिँ बाहुनवादको विरोध भनेकै हाम्रो विरोध हो भन्ने सम्झन्छन् र बाहुनवादको विरोध गर्ने सबैलाई आफ्नो विरोधी ठान्छन् । यो पनि गलत हो । यस्तो गलत बुझाइले आपसमा अनावश्यक मनमुटाव बढाएको मात्र छै्रन, समाजमा क्यान्सर बनेर बसेको जातप्रथाविरुद्ध बाहुनलगायत सबै जातका परिवर्तनकारीहरुबीच जुन एकता र सहकार्य हुनपथ्र्याे, त्यो हुन सकिरहेको छैन ।

कतिपय दलित–जनजाति ‘बाहुनवाद’ भनेकै ‘बाहुन’ हुन् भन्ने बुझ्छन् र बाहुन जात देख्नेबित्तिकै नकारात्मक नजरले हेर्छन् जुन गलत हो ।

तसर्थ बाहुनवादको वास्तविक अर्थ र परिभाषाबारे दुवै पक्ष स्पष्ट हुन आवश्यक छ । ‘बाहुन’ शब्दमा ‘वाद’ जोडिएर ‘बाहुनवाद’ शब्दावली बनेको हुनाले यो शब्द उच्चारण गर्नेबित्तिकै बाहुन ‘जात’प्रति नै जो कसैको ध्यानाकृष्ट हुनु स्वाभाविकै हो । तर ‘बाहुनवाद’ र ‘बाहुन’ जातबीचको भिन्नतालाई छुट्याउन नसक्नुचाहिँ अस्वाभाविक हो । जबकि वादको अर्थ ‘सिद्धान्त’ हो भने जातको अर्थ हिन्दु समुदायको एक वर्ण । अर्काे शब्दमा ‘वाद’ भनेको ‘विचार’ हो भने ‘जात’ भनेको ‘वर्ण’ । विचार (सोच) भन्नु र वर्ण (जात) भन्नु एउटै कुरा हो त ? तसर्थ हामीले बुझ्नुपर्छ, बाहुनवाद (सिद्धान्त) र बाहुन जात (समुदाय) एउटै कुरा होइन । यी दुई भिन्न कुरा हुन् ।

हामी सबैलाई थाहा छ, हाम्रो समाजमा जन्म र जातका आधारमा एकै मानव जातिलाई पनि सानो–ठूलो, उच–नीचका अनेक तहमा बाँडिएको छ । हिन्दु धर्मको चार वर्णे व्यवस्थाले बाहुनलाई सबैभन्दा उच्च, क्षेत्रीलाई दोश्रो, वैश्यलाई तेश्रो तथा शुद्र (दलित) लाई सबैभन्दा तल्लो (अछूत) दर्जा दिएको छ । अर्थात् यसले मानिस कर्मले होइन, जन्मले उच्च हुन्छ, त्यसमा पनि सर्वाेच्च बाहुन हुन्छ भन्ने तह बनाएको छ । यस्तो भाग्यवादी सोच (अन्धविश्वास) लाई समाजमा स्थापित गरिएको छ । यसरी बाहुनलाई सबैभन्दा ठूलो ठान्नुपर्ने बाहुनप्रधान मान्यता भएकाले यसलाई बाहुनवाद भनिएको हो, एउटा कुरा ।

कतिपय बाहुन–बन्धुहरुचाहिँ बाहुनवादको विरोध भनेकै हाम्रो विरोध हो भन्ने सम्झन्छन् र बाहुनवादको विरोध गर्ने सबैलाई आफ्नो विरोधी ठान्छन् ।

अर्काे कुरा, मान्छेको जात भगवानले नै बनाएका हुन् भनेर धर्मशास्त्रमा लेख्दै यसलाई ईश्वरीय वरदानका रुपमा व्याख्या गरेर जनमानसमा भ्रम फैलाउने काम पनि आफूलाई बाहुन भन्नेहरुले नै गरेका हुनाले यस्तो धारणालाई ‘बाहुनवाद’ भनिएको हो । संक्षेपमा भन्दा, बाहुनलाई सर्वाेच्च ठान्नुपर्ने र अरुलाई नीच मान्नुपर्ने धार्मिक दर्शनको प्रतिपादन तथा विस्तार गर्ने काम विगतमा बाहुन भन्नेहरुले नै गरेका हुनाले जातीय विभेदलाई ‘बाहुनवाद’ भनिएको हो । जसरी माओ त्सेतुङले प्रतिपादन गरेको राजनीतिक सिद्धान्तलाई ‘माओवाद’ भनियो । यसमा चाहिँ बाहुन मित्रहरुले पनि आफ्ना पुर्खाले गरेका गल्तीलाई स्वीकार गर्र्नैपर्ने हुन्छ । प्रायश्चित गर्नैपर्ने हुन्छ ।

तर यसो भन्दैमा यसको दोष अहिलेका सबै बाहुनलाई दिनु चाहिँ फेरि पनि अन्याय हुन्छ । किनभने अहिलेका सबै बाहुन बाहुनवादको पक्षमा छैनन् । यद्यपि पुर्खादेखि चल्दै आएको परम्पराले गर्दा वंशाणुगत रुपमा बाहुनवादी प्रवृत्ति बढी मात्रामा बाहुनहरुमै पाइनु स्वाभािवकै हो । तर अहिले त्यस्ता बाहुन पनि समाजमा बाक्लै भइसकेका छन् जो आफै बाहुनवादको विरोधमा छन् । त्यसकारण बाहुन भएकै आधारमा कसैलाई ‘बाहुनवादी’ भन्नु वा देख्नु बेठीक हो । त्यो अर्काे विभेद हो । किनभने जसरी कथित अछूतको परिवारमा जन्म लिनु दलितको दोष होइन, ठीक त्यसैगरी कथित उच्च जातको परिवारमा जन्म लिनु पनि बाहुनको दोष होइन । किनकि कसैले पनि निवेदन हालेर जन्म लिएको हुँदैन ।

यसरी बाहुनलाई सबैभन्दा ठूलो ठान्नुपर्ने बाहुनप्रधान मान्यता भएकाले यसलाई बाहुनवाद भनिएको हो, एउटा कुरा ।

तसर्थ बाहुनवादी को हो र को होइन भनेर छुट्याउने आधार जन्म र जातलाई होइन, व्यक्तिको विचार र व्यवहारलाई बनाउनुपर्छ । किनभने समाजमा हामी विभिन्न खाले बाहुनहरुलाई देख्न सक्छौं । कोही दलितलाई दबाउने बाहुन त कोही दलित आन्दोलनलाई उठाउने बाहुन । त्यस्तै, बाहुनवादको विरोध गर्ने त्यस्ता आदिवासी जनजाति पनि छन्, जो दलितलाई भने अछूत ठान्दै अपहेलना गर्छन् । उनीहरु आफ्नो बौद्ध धर्ममा हिन्दु धर्ममा जस्तो जातपात र छुवाछूत नभएको बखान त गर्छन्, तर दलितलाई भने एउटा परम्परावादी बाहुनले जस्तै छुवाछूत गर्छन् । त्यति मात्रै होइन, दलितभित्रै पनि आफूलाई ठूलो ठान्दै दमाईलाई छुवाछूतको व्यवहार गर्ने कामीहरु पनि छन् ।

अतः यसबाट के प्रस्ट हुन्छ भने बाहुनको कोखमा जन्म लिएका सबै बाहुनवादी हुने र गैरबाहुन परिवारमा जन्मिएका सबै बाहुनवादी नहुने होइन । जसले जातप्रथामा विश्वास गर्छ र त्यस आधारमा मान्छेलाई भेदभाव र पक्षपात गर्छ, त्यो मात्र बाहुनवादी हो । जसले जातप्रथा र जातिवादलाई अस्वीकार गर्छ र सबैसँग समानताको व्यवहार गर्छ, बाहुन भएता पनि ऊ बाहुनवादी होइन । आदिवासी, जनजाति वा दलित नै किन नहोस्, जसले जातका आधारमा मान्छेलाई विभेद गर्छ, ऊ बाहुनवादको भरिया हो । अर्थात् जसले एउटा जातलाई बोक्छ र अन्य जातलाई हेप्छ, र कुनै जात विशेषको सर्वाेच्चता र एकाधिकार स्थापित गर्न खोज्छ, त्यो बाहुनवादी हो ।

अहिले त्यस्ता बाहुन पनि समाजमा बाक्लै भइसकेका छन् जो आफै बाहुनवादको विरोधमा छन् । त्यसकारण बाहुन भएकै आधारमा कसैलाई ‘बाहुनवादी’ भन्नु वा देख्नु बेठीक हो ।

त्यसकारण बाहुनवादको विरोध गर्ने नाममा सिंगो बाहुन समुदायलाई शत्रु देख्नु पूर्वाग्रह र साम्प्रदायिक सोच हो भने बाहुनवादको विरोध गर्नु भनेकै हाम्रो विरोध हो भनेर सबै खालका बाहुन–बन्धुहरुले रिसाउनु अर्काे अज्ञानता र मूर्खता हो । ‘बाहुनवाद’ पुस्तकमा अरुण बराल लेख्छन्–‘बाहुनवादको विरोध भनेको रुढिवाद, अवैज्ञानिक–अभौतिक, कर्मकाण्ड र अन्धविश्वासको विरोध हो । यसलाई गलत ढंगले बुझ्दा सबैभन्दा बाहुन नै आत्तिएका र डराएका छन् ।’ तसर्थ जसले आफूलाई मनुस्मृतिको दर्शनअनुसार होइन, मानवीय मूल्य र मान्यताअनुसार हिँडाएका छन्, त्यस्ता बाहुन–बन्धुहरुले बाहुनवादको विरोध हुँदा चित्त दुखाउनु जरुरी छैन ।

बरु बाहुनवादविरुद्धको आन्दोलनलाई बाहुनविरोधी हुनबाट रोक्न सचेत बाहुन वर्णले नै बढी सजग हुनु जरुरी छ । कसरी भने जातपात र छुवाछूतविरुद्धको आन्दोलनको अगुवाइ गरेर । जातीय विभेद विरुद्धको आन्दोलन बाहुन वर्णले नै गर्ने हो भने यसको अन्त्य पनि चाँडै हुने निश्चित छ । किनभने एउटा ब्राह्मण पण्डितले छुवाछूत गर्नु धर्म होइन, पाप हो भन्दिदा समाजमा जति ठूलो प्रभाव पर्छ, त्यो कुरा कुनै दलितले भन्दा पर्दैन । जतिसुकै संविधान–कानुन बनाए पनि समाजबाट जातीय भेदभाव र छुवाछूतको अझै अन्त्य हुन नसक्नुको कारण मान्छेले यसलाई ईश्वरको लीला ठान्नु नै हो ।

तसर्थ आफ्ना पुर्खाले गरेका गल्तीको प्रायश्चित गर्दै अब बाहुनहरुले जातीय विभेदविरुद्धको आन्दोलन थाल्नु आवश्यक छ, आफूलाई नै मानवीय र न्यायपूर्ण बनाउन पनि यस्तो अभियान जरुरी छ । त्यो आन्दोलनमा देशका तमाम दलित–आदिवासी जनजातिहरुको पनि सहभागिता रहनेछ । जब जातीय भेदभाव र छुवाछूतको अन्त्य हुनेछ, तब यो देशका सबै नागरिकको स्थान र जात समान हुनेछ । र, समाजबाट ‘बाहुनवाद’ शब्दको पनि स्वतः अन्त्य हुनेछ ।

सम्बन्धित लेखहरु

 क्याटेगोरीः