सङ्घीय समाजवादी नेवाः सङ्घको प्रथम राष्ट्रिय सम्मेलन


काठमाडौं, भदौ १९। सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी नेवाः सङ्घको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा सम्पन्न भयो । मनरत्न शाक्यको अध्यक्षतामासम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ससफो नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख आतिथि श्रेष्ठले नेवारहरूको आदिभूमि देशको राजधानी समेत भएकाले यहाँका नेवारहरूले विकास र समृद्धिको आशा गरेको तर नेवारहरू गोर्खा राज्य विस्तारपछि आन्तरिक औपनिवेशीकरणका कारण आफ्नो आदिभूमिबाट विस्थापित भएको मात्र नभई रोजगारीको खोजीमा विदेशिनु परेको बताए । उनले नेवारहरूका लागि सिँहदरवारमा कुनै स्थान नरहेको बताउँदै रुसका साम्राज्यवादी जारहरूले आफूले कब्जा गरेको भूमिमा रुसीहरूलाई बसोवास गराउन आप्रवासन विभाग बनाई योजनावद्ध रूपमा बस्ती बसाए जस्तै नेपालका नश्लवादीहरूले सिँहदरवारलाई आप्रवासन विभागमा परिणत गरेको बताए ।

उनले स्थानीय तहको पुनर्सरचना आदिवासी समुदायलाई विस्थापित गर्ने षडयन्त्र भएको भन्दै प्रदेश रचना तथा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको टुङ्गो नलगाई स्थानीय तह पुनर्संरचना गर्न नहुने र देशका सबै तह पहिचानका आधारमा पुनर्सरचना हुनु पर्ने बताए ।

अन्य पार्टीका स्थानीय कार्यकर्ताहरू समेत उपस्थित उक्त सभामा उनले प्रमुख भनिने पुराना पार्टीहरू उत्पीडित समुदायका लागि मरिसकेकाले महादेवले प्राणप्यारी भन्दै मरिसकेको सत्यदेवीको लास बोके जस्तो गन्हाइ सकेको पुराना पार्टीहरू बोक्न नहुने बताए । उनले स्थानीय जनताले सयौँ बर्ष अगाडि तत्कालिन मापदण्डका आधारमा बनाईका घरहरू नयाँ मापदण्ड अनसार भएन भन्दै अतिक्रमणकारी भनेर आरोप लगाएकोमा आक्रोश ब्यक्त गर्दै त्यस्तो कार्य तुरुन्त रोक्न तथा बिना मुआब्जा कब्जा नगर्न नश्लवादी शासकहरूलाई चेतावनी दिए । उनले भने, “काठमाडौँमा भूकम्प जस्ता प्राकृतिक प्रकोपको बेला सुरक्षाका लागि आवश्यक बसपार्क जस्ता खुल्ला स्थानहरू मास्दै बिजनेश कम्प्लेक्स बनाएर व्यापार गर्न महानगरपालिका समेत लागेको भन्दै महानगरको काम ब्यापार गर्ने होइन, जनतालाई सेवा दिने हो ।”

सत्य नारायण डगोलले सञ्चालन तथा इन्द्र वहादुर श्रेष्ठले स्वागत गरेको उक्त सम्मेलनमा मानवअधिकारवादी नेता तथा नागरिक समाजका अगुवा मल्ल के सुन्दर, ससफो नेपाल सल्लाहकार समितिका प्रमुख तथा पोलिटब्यूरो सदस्य डा. महेशमान श्रेष्ठ, पोलिटब्यूरो सदस्य द्वय सुशिला श्रेष्ठ र धिरेन्द्र वहादुर श्रेष्ठ ससफो नेपाल केन्द्रीय सदस्यहरू कृष्णबहादुर घःजु, नरेश ताम्राकार, न्हूच्छेलाल महर्जन, शाक्य सुरेन, रमेशचन्द्र प्रधान सङ्घीय समाजवादी तामाङ सङ्घका अध्यक्ष जय गोले र नेवाः स्वायत्त राज्य मंका सङ्घर्ष समितिका सन्तमान महर्जन लगायतले शुभकामना मन्तव्य र सुदय राज शिलाकारले धन्यवाद ज्ञापन गरेका थिए ।

पार्टी सम्बद्ध भातृ सङ्गठनहरूमा सबैभन्दा पहिला राष्ट्रिय सम्मेलन गर्न सफल नेवाः सङ्घको उक्त सम्मेलनले सत्यनारायण डंगोलको अध्यक्षतामा ४१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ । समितिका उपाध्यक्षहरूमा खगेन्द्र बहादुर जोशी, इन्द्र बहादुर श्रेष्ठ, शेषनारायण महर्जन, विजयालक्ष्मी मानन्धर र नबिन श्रेष्ठ, महासचिवमा सुदयराज शिलाकार, सचिवहरूमा गंगाबहादुर नेमकुल, आशारत्न डंगोल र प्रफुल्ला श्रेष्ठ र कोषाध्यक्षमा बेखामान अवाले चयन भएका छन ।

त्यसरी नै निवर्तमान अध्यक्ष सङ्घको दोस्रो वरियतामा रहने व्यवस्था सहित विधान संशाोधन गरी मनरत्न शाक्यको अध्यक्षतामा नेवाः अगुवा मदन सेन बज्राचार्य र श्रीराम श्रेष्ठ रहेको केन्द्रिय सल्लाहकार समिति पनि गठन गरिएको छ । बन्द सत्रले प्रतिवेदनहरू तथा समसामयिक राजनीतिक प्रस्तावहरू पनि पारित गरेको छ । अध्यक्ष मण्डलका अध्यक्ष डा महेशमान श्रेष्ठको अध्यक्षता र सानुराजा शाक्यको सञ्चालनमा भएको बन्द सत्रको अन्यमा नव निर्वा्चित समितिलाई निर्वाचन समितिको तर्फबाट प्रमुख आयुक्त तथा पोलिटब्यूरो सदस्य धिरेन्द्र वहादुर श्रेष्ठ, अध्यक्ष मण्डलको तर्फबाट केन्द्रीय सदस्य डा पुस्पराज राजकर्णिकार, निर्वाचन समितिको तर्फबाट केन्द्रीय सदस्यहरू शान्त कुमार प्रधान र सुशिला शाक्यले बधाइ ज्ञापन तथा नव निर्वा्चित अध्यक्ष सत्य नारायण डंगोलले प्रतिवद्धता मन्तव्य ब्यक्त गरेका थिए ।

 क्याटेगोरीः समुदाय