संविधान संशोधन नभएसम्म नयाँ शक्तिले निर्वाचनमा भाग नलिने

इसमता संवाददाता
काठमाडौं, ७ बैशाख । नयाँ शक्ति पार्टी नेपालका नेता देवेन्द्र पौडेलले संविधान संशोधन नभएसम्म र चुनाव चिन्ह नदिए आफ्नो पार्टीले चुनावमा भाग नलिने स्पष्ट पारे ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले चुनावमा आफूहरु भाग लिने भनेर नै विभिन्न ६ बुँदे शर्तहरु अघि सारेको उल्लेख गरे ।
उनले भने,‘हामीले ७४४ वटै युनिटमा भाग लिने तयारी गरेका थियौं, तर निर्वाचन ऐन–०७३ ले दलीय चुनाव चिन्ह संसदभित्रका दललाई मात्रै दिने निर्णय गर्यो, यो निर्णय नै पूर्वाग्रही हो भनेर हामीले खारेजीको पनि माँग गरेका थियौं, अहिलेसम्म निर्णय सच्चिएको छैन्।’
उनले एउटा देशमा दुई पटक चुनाव भयो भने ईतिहाँसमा ठूलो भुल हुने समेत जिकिर गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् ।
सचिव ज्ञवालीले अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको जिकिर गर्दै भने,‘हामी अहिले सरकारमा सहभागी हुँदैनौं, तर प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर हामी उहाँलाई सहयोग गर्छौं ।’ उनले आफ्नो पार्टीको ध्यान पूर्ण रुपमा चुनावमा केन्द्रित रहेको स्पष्ट पारे ।
त्यस्तै उनले सुरक्षा निकायले निर्वाचनको लागि पूर्ण सुरक्षाको प्रत्याभुति गरिसकेको, निर्वाचन आयोग अघि बढिसकेकोले अब पनि निर्वाचन नहुने हो भने त्यो सरकारको अक्षमताको कारण हुने टिप्पणी गरे ।
राप्रपाका प्रवक्ता भुवन पाठकले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र हटाउने निर्णयबारे निर्वाचन आयोगको पूर्नविचार गरेर स्थानीय तहको निर्वाचन नभएसम्म थाँती राखेको कुरा सकारात्मक रहेको बताउँदै आफ्नो पार्टीले निर्वाचनमा भाग लिने बताए । उनले भने,‘आयोगको निर्णय ठिक छ, तर यो निर्णय पूर्ण रुपमा सच्याउनुपर्छ, अहिले त आयोगले स्थगन् गरेको हो ।’

सम्बन्धित लेखहरु

 क्याटेगोरीः