संविधान संशोधन असफल हुने संकेत
पत्रपत्रिकाबाट
काठमाडौं, साउन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधयेक व्यवस्थापिका संसद्मा निर्णयार्थ प्रस्तुत भए विपक्षमा मतदान गर्ने भएको छ । अहिलेको अवस्थामा संविधान संशोधन विधेयक पारित हुनै नसक्ने राप्रपाको भनाइ छ ।
 
 
राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधन गरी मधेस समस्या समाधानका लागि गम्भीर नभएकाले संशोधन प्रस्ताव पास हुन नसक्ने बताएछन् । ‘सरकारले संविधान संशोधन नै गर्न चाहेको छैन,’ थापाले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘संशोधन प्रस्ताव पेस हुने विषय हावादारी हो । कथंकदाचित् पेस भए राप्रपाले विपक्षमा मतदान गर्छ । मधेस समस्या समाधानका लागि सरकार गम्भीर छैन । मधेसी दललाई सरकारले झुक्याइरहेको छ ।’ समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । 
 
शेरबहादुर देउवा नेतृत्वको सरकार देशको समस्या समाधान गर्न नभई संविधान संशोधनका नाममा ध्रुवीकरण बढाउन उद्दत रहेको अध्यक्ष थापाको भनाइ थियो । ‘देशको राजनीति राष्ट्रवादी र आत्मसमर्पणवादी गरी दुई ध्रुवमा विभाजित भइरहेको छ । हामी राष्ट्रवादी हौँ र वर्तमान सरकारमा भएकाहरू आत्मसमर्पणवादी हुन्,’ थापाले भने ।
 
 
थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुटाएर पशुपतिशमशेर राणाले गम्भीर गल्ती गरेको बताए । राणाले ४० प्रतिशत केन्द्रीय सदस्य पु¥याउनै नसक्ने दाबी उनको छ । ‘पशुपतिशमशेर राणासँग केन्द्रीय समिति र संसद् दुवैमा ४० प्रतिशत पुग्दै पुग्दैन । गएकाहरू फर्केर आइरहेका छन्,’ थापाले भने । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएदेखि नै सरकारमा जान खुट्टा उचालेर बस्नेहरूले सत्ता स्वार्थका लागि पार्टीलाई ध्वस्त पारेको थापाको आरोप थियो ।

 क्याटेगोरीः